२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्यावसायिक उडान सुरु: इलाम-काठमाडौं सातामा दुई उडान

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल।

निर्माणप्रक्रिया सुरु गरेको दुई दशकपछि इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटनमा व्यावसायिक उडान सुरु गरिएको छ।

साताको २ पटक इलाम–काठमाडौं आउ–जाउ उडान सञ्चालन हुन थालेको हो। फागुन ११ देखि प्रत्येक आइतबार र बिहीबार इलाम–काठमाडौँ उडान हुँदैछ। विमान सञ्चालनका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच सम्झौता भएको छ। १६ सिटे जहाजमा आउने वा जाने यात्रु ११ भन्दा कम भए ११ जना पुर्‍याउन जति जना चाहिने हो, त्यतिको भाडा नगरले नै बेहोर्नेगरी सम्झौता भएको हो। सम्भौताअनुसार १२ उडानसम्मको खर्च नगरले बेहोर्ने छ।  

आइतबार भने काठमाडौंबाट इलाममा जहाज आएन। यात्रु नभएका कारण जहाज नआएको बताइएपनि अब सेवा नियमित गर्नेबारे तारा एयरसँग छलफल भइसकेको नगरले जनाएको छ। ‘आउँदो बिहीबारदेखि नियमित उडान हुनेगरी छलफल भएको छ,’ नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले भने।

इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ। यो भाडादर तोकिएपनि इलाम नगरले १२ उडानभित्र कोही विमानमा इलाम–काठमाडौँ आउ–जाउ गर्ने भए उसका लागि एकतर्फी भाडा तिरिदिनेछ। तर, यसरी सहुलियत पाउने व्यक्तिको प्राथमिकताक्रम भने नगरले तोकिसकेको नगरपालिकका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए। ‘निर्माण भइसकेको विमानस्थलमा उडान व्यावसायिक बनाउन नगरले विमान सञ्चालक कम्पनीसँग सम्झौता गरेको हो,’ उनले भने, ‘विमानस्थल सञ्चालनकै लागि नगरले पहिलो चरणमा आफैं खर्च गरेर जिल्लाको आर्थिक र पर्यटकीय विकासको प्रयास गरेको हो।’

नगरले बेहोर्ने खर्चबाट प्राथमिकतामा परेका यात्रु समूहलाई सहुलियत दिइने छ। नगरका अनुसार प्राथमिकतासूचीको पहिलो नम्बरमा ज्येष्ठ नागरिक छन्। कडा रोग भइ सिफारिस भएका व्यक्ति, खेलाडी, संघ–संस्था तथा गैरसरकारी संस्थाकर्मी, इलाम उद्योग वाणिज्य संघले सिफारिस गरेका व्यवसायी, पर्यटक र नेपाल पत्रकार महासंघले सिफारिस गरेका सञ्चारकर्मी सहुलियतको प्राथमिकतामा छन्। इलाम कृषि क्याम्पसका पदाधिकारी, सदस्य, प्राध्यापक र विद्यार्थी, इलाम आँखा अस्पतालका पदाधिकारी, सदस्य तथा कर्मचारी र इलाम नगरपालिकाका जनप्रतिनिधि सहुलियत पाउने प्राथमिकतामा रहेको नगरले जनाएको छ। 

इ–सेवामार्फत् टिकट खरिद गर्न सकिने र दुईतर्फी टिकट नगरपालिकामा पेस गरेपछि प्राथमिकताका आधारमा यो सुविधा प्राप्त हुने नगरले जनाएको छ। इलाममा विमानस्थल निर्माण सम्पन्न भएपछि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा गरिएको छ। इलामसहित झापा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्मका बासिन्दाले यहाँको विमानस्थलको सुविधा पाउने इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए। ‘स्थानीयसमेतको सहभागितामा करोडौं रुपैयाँ खर्चेर बनाइएको विमानस्थल सदुपयोग गर्न नगरले सुरुमा आफैं लगानी गरिदिएर व्यावसायिक उडानको पहल गरेको हो,’ उनले भने, ‘विमान चल्न थालेपछि बिस्तारै यात्रुको बानी पर्छ, यहाँको पर्यटन र अन्य व्यवसायले फस्टाउने मौका पाउँछ।’  

३ सय २८ रोपनीमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो। विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको छ। स्थानीयस्तरबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँजति खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिरकणले जनाएको छ। विमानस्थलमा स्थायी टर्मिनल भवन बनाउन बाँकी छ। योसमेत सिध्याउँदा चाहिँ विमानस्थलको जम्मा लागत करिब ४५ करोड रुपैयाँ पुग्ने अनुमान रहेको प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले बताए। विमानस्थल वरपर सुरक्षा तारबार लगाउन पनि बाँकी नै छ। विमानस्थलका लागि स्थानीयले जमिन हस्तान्तरण गरेका थिए। 

स्थानीयले विमानस्थलका लागि १ देखि ४२ रोपनीसम्म जग्गा दिएका थिए। २०६७ चैत १३ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विमानस्थल शिलान्यास गरेका थिए। उनैले गत १ गते यो विमानस्थलको धावनमार्ग उद्घाटन गरेका छन्। 

बजेट ज्यादै कम आएकाले यो विमानस्थल निर्माण गर्न २० वर्षजति लागेको थियो। अझै निर्माण पूर्ण भइसकेको छैन। विमानस्थल निर्माणका लागि स्थानीय ३१ घर–परिवारलाई जग्गाको मुआब्जा दिन २ करोड २६ लाख रुपैया“ खर्च भएको थियो। २०७५ जेठ २१ मा यो विमानस्थलमा पहिलो परीक्षण उडान गरिएको थियो। धावनमार्ग कालोपत्रे गरिएपछि गत माघ २६ पनि यसको प्राविधिक उडान परीक्षण गरिएको थियो। 

प्रकाशित: १५ फाल्गुन २०७८ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App