१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

जुम्लाका अधिकांश सवारीचालक लाईसेन्सविहीन

यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले ४ वर्षदेखि लाईसेन्स वितरण गर्न नसक्दा यहाँका अधिकांश सवारीचालकहरु सवारीसाधन अनुमति पत्र (लाईसेन्स) विहीन छन्। जसले निरन्तर ट्राफिक प्रहरीबाट जरिवाना काट्नु पर्ने बाध्यता छ।  मोटरसाईकल चालक धनबिर बुढा जुम्लामा लाईसेन्स नखुल्दा मर्कामा परेको बताउँछन। उनले भने,‘यातायात कार्यालयले लाईसेन्स खुलाउँदैन। यहाँ निरन्तर जरिवाना तिर्नु परिराखेको छ। 

छिटो लाईसेन्स खुलेको भए जरिवाना तिर्न छुट्थ्यो की?

पछिल्लो समयमा सवारीसाधन नियमनमा ट्राफिक प्रहरी कार्यालय जुम्लाले कडाई गरेको छ। उनले भने,’सवारीसाधन चेकजाँचमा कडाई गर्नु निकै राम्रो पक्ष हो। तर यातायात कार्यालय जुम्लाले लाईसेन्स खुलाउन नसक्दा निकै मर्कामा परियो। यो ठिक भएन। ’ उनी लाईसेन्स नहुँदा दर्जन बढि पटक ट्राफिक कारबाहीमा परिसकेका छन्।

संघीय व्यवस्था कार्यन्वयन भएसंगै जुम्लामा लाईसेन्स खुल्न छाडेको हो। स्थानीय जीवनबहादुर कार्कीले भने,‘संघीयताले गाउँगाउँमा सिंहदरबार आइपुगे। तर गाउँमा आइपुगेको लाईसेन्स बितरण प्रक्रिया रोकियो। जसले यहाँका सयौँ सवारीचालक मर्कामा छन्। ’उनले तत्काल लाईसेन्स खुलाएर सवारीचालकलाई निर्धक्कपुर्वक सवारीसाधन चलाउन पाउने वातावरण बनाउनको लागि माग गरे।  

यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले पनि यही फागुन महिना भित्र लाईसेन्स वितरण खोल्ने तयारी भइरहेको जनाएको छ। कार्यालय प्रमुख निरक्रिम शाहीले सबैको दबाव र सवारीचालकको गुनासोको संवोधन गर्न लाईसेन्स वितरण खोल्ने बताए। उनले भने,‘सबैको साथ र सहयोगले ४ बर्षपछि लाईसेन्स वितरण गर्ने तयारी भइरहेको छ। केही प्राविधिक पक्ष बाँकी रहेका छन्। चाँडै लाईसेन्स वितरण हुनेमा ढुक्क हुँदा हुन्छ।’

यहि फागुन महिनाभित्र लाइसेन्स वितरण खोल्ने भएपनि मिति तय हुन सकेको छैन। प्रमुख शाहीले थपे,‘संघ तथा प्रदेश सरकारले चासो राखेको छ। यातायात व्यवस्था कार्यालयका कर्मचारीले पनि निकै सक्रियता देखाएका छन। यो पटक खुल्ने फिक्स नै भइसक्यो।’

जुम्लामा सवारीसाधनको व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन पनि लाईसेन्स वितरण अनिवार्य गर्नु पर्ने देखिएको छ। जुम्लामा अटोरिक्सा,मोटरसाईकल खरिदले सवारीको चाप बढ्दो छ। संघीयता कार्यान्वयन संगै लाईन्सेस वितरण बन्द भएपछि समस्या थपिएको छ। 

यी सबै समस्याको संवोधन गर्न यातायात व्यवस्था कार्यालय जुम्ला लागि परेको सुचना अधिकारी लोकबहादुर महत बताउँछन्।   प्रक्रियागत कुराले लाइसेन्स वितरण रोकिएपनि कार्यालयका नियमित कामलाई सिमित जनशक्तिका बीच पनि निरन्तरता दिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख निर विक्रम शाहीले बताए।

पाँच महिनामा ५६ लाख रुपैयाँ राजश्व संकलन

यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक बर्षको पाँच महिनामा झण्डै ५६ लाख रुपैयाँ बढी राजश्व असुली गरेको जनाएको छ। कार्यालयको नियमित कार्यक्रम अनुसार सवारी दर्ता,सवारी चालक अनुमती पत्र (लाइसेन्स) नविकरण,सवारी साधन कर जस्ता शिर्षकबाट ५६ लाख ६४ हजार ५ सय ७० रुपैयाँ राजश्व संकलन भएको कार्यालयका सूचना अधिकारी लोक बहादुर महतले बताए।

चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार जुम्लामा २ सय ९० वटा सवारी दर्ता भएका छन्। जसअन्र्तगत साउन महिनामा ६२, भदौमा ४८,असोजमा ५९,कार्तिकमा ६८ र मंसिरमा ५३ जना सवारी दर्ता भएका हुन। सबैभन्दा बढि नीजि मोटरसाइकल झण्डै ३ सय दर्ता भएको सुचना अधिकारी महतले जानकारी दिए। उनका अनुसार ३ सय ३६ लाइसेन्स नविकरण र १४ वटा प्रतिलिपि दिइएको छ।

कार्यालय प्रमुख शाहीले यातायात क्षेत्रको आम्दानी तर्फ २ लाख २५ हजार ५ सय रुपैयाँ,चालक अनुमती पत्र, सवारी दर्ता सम्बन्धि दस्तुर बापत १३ लाख २७ हजार ५ सय ३० रुपैयाँ र सवारी साधन कर बापत ४१ लाख ११ हजार ५ सय ४० रुपैयाँ संकलन भएको हो।

प्रकाशित: ३ फाल्गुन २०७८ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App