निर्माणप्रक्रिया सुरु गरेको दुई दशकपछि फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटन गरिएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम नगरपालिका–९ मा बनेको विमानस्थल उद्घाटन गरे।
नेपाल एयरलाइन्सको ट्विनअटर जहाज काठमाडौंबाट बिहान ९ बजेर ५ मिनेटमा उडेर करिब १० बजे इलाम विमानस्थल आएको थियो। विमानस्थल उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले पर्यटकीय जिल्ला भएकाले इलाम–काठमाडौं हवाई सेवा आवश्यक रहेको पनि बताए।
उनले यो विमानस्थलका कारण इलामसहित पाँचथर, ताप्लेजुङलगायत जिल्लाको आर्थिक उन्नतिमा समेत सहयोग पुग्ने बताए। उद्घाटन अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन् त्री प्रेमुकुमार आले, नेपाल वायुसेवा निगम अध्यक्ष युवराज अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए।
प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले यो विमानस्थल उडान–अवतरणका लागि तयार रहेको र सामान्य काममात्र बाँकी रहेको बताए। आउँदो ८ गतेदेखि यो विमानस्थलबाट इलाम–काठमाडौं नियमित उडान–अवतरण गरिँदै छ। प्रत्येक आइतबार उडान–अवतरण हुनेगरी इलाम नगरपालिका र तारा एयर प्रालिबीच सम्झौता भइसकेको छ। यात्रु नभएको अवस्थामा समेत नगरपालिकाले १२ उडानका लागि आर्थिक दायित्व बहन गर्नेगरी विमानस्थल सञ्चालन गर्न लागिएको छ।
अब ३ महिना प्रत्येक आइतबार इलाम–काठमाडौं उडान–अवतरण हुनेछ। तारा एयरको १६ यात्रुु क्षमताको जहाज यहाँबाट चल्नेछ। इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ। सम्झौताअनुसार यात्रु भएकामा बाहेक ११/११ जनाको आते–जाते भाडा इलाम नगरले नै तिर्नेछ।
३ सय २८ रोपनीमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो। विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको छ। विमानस्थलको उडान र अवतरण हुने विन्दुलाई प्राविधिक भाषामा ‘०८/२६’ नामाकरण गरिएको छ। पूर्वतर्फ विमानस्थलको होचो भाग (२६) बाट पश्चिमतिरको अग्लो भाग (०८) तिर गइ विमान मैदानमा बस्ने र विपरीत दिशाबाट उडान गर्ने व्यवस्था मिलाइएको छ।
स्थानीयस्तरबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँजति खर्च भएको प्राधिरकणले जनाएको छ। विमानस्थलमा स्थायी टर्मिनल भवन बनाउन बाँकी छ। योसमेत सिध्याउँदा चाहिँ विमानस्थलको जम्मा लागत करिब ४५ करोड रुपैयाँ पुग्ने अनुमान छ। विमानस्थल वरपर सुरक्षा तारबार लगाउन पनि बाँकी नै छ।
विमानस्थलका लागि स्थानीयले जमिन हस्तान्तरण गरेका थिए। स्थानीयले विमानस्थलका लागि १ देखि ४२ रोपनीसम्म जग्गा दिएका थिए। २०६७ चैत १३ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले नै विमानस्थल शिलान्यास गरेका थिए। तर, बजेट नै कम आएकाले निर्माणमा निकै ढिलाइ भएको थियो। तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो। जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो।
गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले निमानस्थलका लागि चन्दा संकलनमा समेत सहयोग गरेका थिए। कांग्रेस नेता, कुलबहादुर गुरुङ, पूर्वसांसद केशव थापालगायतले विमानस्थल निर्माणमा सहयोग गरेका थिए। ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैयाँ खर्च भएको थियो। २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो।
इलामकै महत्वपूर्ण आयोजना मानिने फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कालोपत्रे भइ उडान–अवतरणका लागि तयार भएपछि इलामबासी खुसी छन्। पर्यटकीय जिल्लामा विमानस्थलसमेत थपिएपछि पर्यटक आउ–जाउन बढ्ने र यहाँको आर्थिकस्तर अझ सुध्रिने आशा व्यवसायीलाई छ। यहाँ विमानस्थल सञ्चालनमा आएपछि ताप्लेजुङ र भद्रपुर विमानस्थल आउने कतिपय जहाजसमेत इलाम नै आउनसक्ने व्यवसायी बताउँछन्।
यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त मानिएको छ। ट्वीनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुनसक्ने प्राविधिकले जनाएका छन्। ट्वीनअटरभन्दा यी जहाज काठमाडौं–इलामको दूरीमा १० मिनेट छिटो आउ–जाउ गर्न सक्ने इन्जिनियर भट्टराई बताउँछन्।
प्रकाशित: १ फाल्गुन २०७८ १२:४१ आइतबार