८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल टेलिकम चाँडै फाइभजी ल्याउने योजनामा

नेपाल टेलिकमले फाइभजी सेवा परीक्षणको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिकमको १८औं वार्षिकोत्सवका अवसरमा फाइभजी सेवा अघि बढाउन निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनसँगै टेलिकमले फाइभजी सेवा विस्तारको लागि आपूर्तिकर्ता (सप्लायर्स) सँग छलफल अघि बढाइरहेको छ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले फाइभजी प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ बमोजिम आपूर्तिकर्तासँग छलफल भइरहेको बताए। ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी सञ्चालनको लागि फ्रिक्वेन्सी प्राप्त भइसकेको छ,’ उनले भने, ‘फोरजीको जडान अन्तिम चरणमा पुगेपछि फाइभजीको परीक्षण गर्ने पूर्वयोजना नै थियो। देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७२० वटामा फोरजी सेवा विस्तार गरिसक्यौं। अब हामीले फाइभजी विस्तारको लागि आवश्यक तयारी गरिरहेका छौं।’

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन ४ गते नेपाल टेलिकमलाई फाइभजी परीक्षणको लागि अनुमति दिएको थियो। टेलिकमले पहिलो चरणमा चार स्थानमा फाइभजीको परीक्षण गर्ने कार्यतालिका बनाएको छ। परीक्षण गर्ने स्थान टुंगो लाग्न बाँकी छ। ‘टेलिकमले फोरजी प्रोजेक्ट सकिने बेलामा फाइभजीको टेस्टिङ गर्ने कार्ययोजना राखेको थियो,’ उनले भने, ‘फाइभजीको टेस्टिङ चार स्थानमा गर्ने योजना समावेश गरिएको थियो।’

प्रवक्ता जोशीले टेलिकमले फाइजी जडानका लागि आवश्यक पर्ने उपकरण र अन्य पूर्वाधारको विषयमा आपूर्तिकर्तासँग छलफल गरिरहेको बताए। ‘फोरजी चल्ने टेलिकमको भौतिक पूर्वाधारले फाइभी चल्न सक्दैन होला। त्यसैले फाइभजीको आवश्यक पूर्वाधार निर्माणको लागि आपूर्तिकर्तासँग छलफल गरिरहेका छौं,’ प्रवक्ता जोशीले भने, ‘फोरजी चल्ने मोबाइल सेटमा फाइभजी मोबाइल सेट नचल्ने भएकाले पनि ग्राहकले पनि फाइभजी अनुसार नै चल्ने मोबाइल खरिद गर्नुपर्ने हुन्छ ।’ टेलिकमले फाइभजी परीक्षणका लागि कस्ता उपकरण तथा प्रविधि आवश्यक पर्ने भन्नेमा आपूर्तिकर्तासँग छलफल भइरहेको उनको भनाइ छ।

टेलिकमले अहिले फोरजी सेवा ७७ जिल्लामा पुगिसकेको जनाएको छ। टेलिकमका अनुसार कम्तीमा ३३ वटा पालिकामा अझै पनि फोरजी सेवा विस्तार हुन सकेको छैन। नेपालका कतिपय पालिका भौतिक रूपमा विकट भएकाले पनि सबैमा पुग्न कठिनाइ भएको हो।

प्रवक्ता जोशीले टेलिकमले नेपालका विकट गाउँ–गाउँमा हेलिकप्टर, खप्चड र मान्छेले बोकेर उपकरण लगेर आफ्नो सेवा विस्तार गर्दै आइरहेको बताए। टेलिकमले आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असोजसम्म १ अर्ब ५१ करोड रूपैयाँ खुद मुनाफा गरेको थियो। त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोज मसान्तसम्ममा २ अर्ब २५ करोड रूपैयाँ खुद मुनाफा भएको थियो।

टेलिकमको अनुसार गत आवको ३ महिनाको तुलनामा चालु आवको तीन महिनामा ७४ करोड बढी खुद नाफा भएको थियो। नेपाल टेलिकम वायरलाइन सेवा, वायरलेस, नेपाल टेलिकम आइएसी इन्टरनेट सेवा प्रदायक कम्पनी हो। वायरलाइन अर्थात फाइबर टू होम ६२ जिल्लामा पुगिसकेको छ। त्यसमा वायरलेस र वायरलाइन टुजी, थ्रिजी दुवै छन्। अहिले टेलिकमका दुई करोडभन्दा धेरै ग्राहक छन्।

प्राधिकरणले अहिले वायरलेस र वायरलाइन दुवैबाट सेवा प्रवाह गरिरहेको छ। टेलिकमले आफ्नो सेवालाई एकपछि अर्काै विस्तार गर्दै आइरहेको छ। ‘फोरजी नेटवर्कलाई अझै गुणस्तरीय र भरपर्दाे बनाउनेतर्फ कोसिस गरिरहेका छौं,’ उनले भने, ‘हामी सेवा पुर्‍याउने मात्रै होइन, गुणस्तरीय सेवा प्रवाह गर्नेतर्फ केन्द्रित छौं।’ टेलिकमले ग्राहकको आवश्यकता अनुसार फरक–फरक खालका प्याकेज उपलब्ध गराइरहेको जनाएको छ।

प्रकाशित: २५ माघ २०७८ ००:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App