१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

विकास साझेदार भित्र्याउन गोरखा नगरपालिकामा प्राधिकरण गठन

नवौँ नगर सभा गोरखा नगरपालिका। तस्बिरः नागरिक

गोरखा नगरपालिकाले विकास प्राधिकरण गठनको अभ्यास सुरु गरेको छ। लगानीकर्तालाई नगरपालिकामा भित्र्याउने र विकासको गतिमा तीव्रता दिने उद्देश्यले विकास प्राधिकरण गठन गर्न लागिएको मेयर राजनराज पन्तले जानकारी दिए। सार्वजनिक निजी साझेदारी(पिपिपि) मोडलमा नगरपालिकाको विकास गर्ने उद्देश्यले प्राधिकरण गठन गर्न लागिएको उनले बताए।

शुक्रबार सम्पन्न नवौँ नगरसभाले यससम्बन्धी विधेयक पारित गरेको छ। सभाले गोरखा नगरपालिका विकास प्राधिकरणसम्बन्धी विधेयक २०७८ पारित गरेको हो। अब नगरपालिकाको योजनामा कोही साझेदार बन्न चाहेमा वा प्रस्ताव स्वीकृत गरेमा सहकार्य गर्न सक्ने बाटो खुलेको नगरप्रमुख राजनराज पन्तले बताए।  

‘हामीले नगरभित्रका योजनाको प्राथमिकीकरण गरेर साझेदार आह्वान गर्छौँ’, उनले भने, ‘यो मोडलले निजी क्षेत्र, संस्थाहरुलाई सहकार्य गर्न र नगरको विकासमा सहयोग पुग्ने अपेक्षा छ।’ नगरपालिकाले सो सम्बन्धी विधेयक पास गरेको छ।  

यस्तै नगर भित्रको कला, साहित्य, संस्कृतिको विकास, प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले गोरखा प्रज्ञा प्रतिष्ठान पनि गठन गर्ने भएको छ। नगरसभाले यससम्बन्धी विधेयक २०७८ पनि पारित गरेको छ। नगरपालिकाभित्र भाषा, साहित्य, दर्शन, समाजशास्त्र, संस्कृति, ललितकला, नाट्यकला, संगीत कलाको संरक्षण र विकास गर्न गोरखा प्रज्ञा प्रतिष्ठान स्थापना गरिने मेयर पन्तले बताए।  

नगरसभा मार्फत गोरखा नगरपालिकाको वन विधेयक २०७८, कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको विधेयक २०७८, गोरखा नगरपालिकाको सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, सहकारी ऐन २०७४ को दोस्रो संशोधन, गोरखा नगरपालिकाको आर्थिक ऐन र विनियोजन ऐनको पनि पहिलो संशोधन गर्दै पास गरेको छ।  

नगरपालिकामा कार्यरत कर्मचारीको सांगठनिक स्वरुप पनि अब फेरिने प्रस्ताव पारित भएको छ। वडा स्तरमा कर्मचारी थप गर्ने, प्राविधिक जनशक्ति बढाउनेसम्मको प्रस्ताव नगरसभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए।  

कोभिडले संचालन हुन नसकेका योजना र बजेट रकमान्तर

गोरखा नगरपालिकाले नवौँ नगरसभाबाट वडा र नगर स्तरीय केही योजनाको रकमान्तर गरेको छ। ‘कोभिडका कारण कार्यान्वयन गर्न नसकिएको र असार मसान्तसम्म कार्यान्वयन गर्न समस्या भएका योजनाको योजनान्तर गरिएको हो’, मेयर राजनराज पन्तले भने, ‘वडाबाटै काम गर्न नसक्ने र अर्को योजनामा बजेट विनियोजन गर्न भनेपछि सोही अनुसार निर्णय भएको हो।’  

उपप्रमुख बिनाकुमारी श्रेष्ठले एक सय ८० योजनामा पाँच करोड १७ लाख विनियोजन गरेको बताइन्। नगर सभामा उनले ३६ लाखदेखि पाँच हजारसम्मको योजनामा बजेट विनियोजन गरेको बताइन्। नगर सभा सदस्य सम्भु थापा र राधीका कट्टेलले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा छरपष्ट बजेट विनियोजन भएको भन्दै कार्यान्वयनमा समस्या हुने बताए। उनीहरुले चुनावमैत्री बजेटको झल्को दिएको बताए।  

नगरप्रमुख राजनराज पन्तले पाँच वर्षको अवधिमा कतिपय ठाउँमा पूरा बजेट विनियोजन गर्न नसक्दा स–साना काम बाँकी रहेकाले त्यसलाई पूरा गर्न धेरै ठाउँमा थोरै थोरै बजेट आवश्यक देखिएकाले विनियोजन गरेको बताए। ‘जनताको आवश्यकता र समस्या धेरै छ, हामी धेरै ठाउँमा पुगेका छौँ’, उनले भने, ‘धेरै बजेट हामीसँग छैन, तत्काल समस्या समाधान गर्न पनि अहिले विनियोजन गरेको बजेटबाट प्रभावकारी काम हुन्छ।’ स्थानीय सरकारमा कोही पक्ष र कोही प्रतिपक्ष नभएको बताउँदै उनले जनताका लागि गरिने काम सबैले गरेको हुने भन्दै कुनै राजनीतिक दल र व्यक्तिले गरेको नहुने भन्दै आशंका नगर्न र चुनाव केन्द्रित रुपमा नलिन अनुरोध गरे।  

कर्मचारीलाई सम्मान  

गोरखा नगरपालिकाले नवौँ नगर सभाको अवसर पारेर कर्मचारीलाई सम्मान गरेको छ। उत्कृष्ठ काम गर्ने कर्मचारीलाई नगदसहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए। नगद १० हजारसहित, प्रशंसा पत्र र दोशल्ला ओढाएर नगरप्रमुख राजनराज पन्त, उपप्रमुख बिनाकुमारी श्रेष्ठ र प्रशासकीय अधिकृत दिनेशराज पन्तले उत्कृष्ठ काम गर्नेहरुलाई सम्मान गरेका हुन्। छनौट समिति बनाएर नगरपालिकाले २० जना कर्मचारीलाई पुरस्कृत गरेको जनाएको छ।

गोरखा नगरपालिकाको लोगोका डिजाईनर पत्रकार मोहसिन अलि मियाँ सम्मानित भएका छन्। गोरखा नगरपालिकाको झल्को दिने गरी लोगो निर्माण गर्न सहयोग गरेको भन्दै मियाँलाई सम्मान गरिएको हो।

प्रकाशित: २२ माघ २०७८ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App