७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

खजुरा गाउँपालिका: इन्धनमा पाँच लाख बढी खर्च

खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षयता इन्धन र सवारी साधन मर्मतका लागि नौ लाखभन्दा बढी रकम खर्च गरेको छ। गाउँपालिकाले इन्धनमा १५ लाख, सवारी साधान मर्मतका लागि दश लाख रुपैयाँ विनियोजन गरेको थियो।

इन्धन पदाधिकारी पाँच लाख, इन्धन कार्यालय प्रयोजनका लागि आठ लाख र इन्धन अन्य प्रयोजनका नाममा दुई लाख गरी गाउँपालिकाले १५ लाख रुपैयाँ इन्धनमा विनियोजन गरेको छ। यसरी हेर्दा स्थानीय तहमा इन्धन खर्चका नाममा धेरै रकम खर्च हुने गरेको छ। 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका अनुसार साउनयता पाँच लाख ४३ हजार एक सय आठ रुपैयाँ इन्धनमा खर्च भएको छ। सवारी साधन मर्मतका लागि गाउँपालिकाले तीन लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ। यस वर्ष गाउँपालिकाले १० लाख रुपैयाँ सवारी साधन मर्मतका लागि रकम विनियोजन गरेको थियो। दुईवटा गाडी, दुई दर्जन मोटरसाइकल र स्कुटर मर्मत भएको गाउँपालिकाका सूचना अधिकारी दिलबहादुर पौडेलले जनाए।  

इन्धन खर्चमा गाउँपालिकाले अत्यधिक रकम विनियोजन गरेको स्थानीयको भनाइ छ। यस वर्ष कोभिड–१९ (कोरोना भाइरस) का कारण पनि सवारी साधन धेरै सञ्चालन हुन नपाए पनि अनावश्यक इन्धन खर्च भएको स्थानीयहरु बताउँछन्। 

यता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनारका अनुसार इन्धन खर्चमा मितव्ययीता अपनाइएको छ। ‘जथाभावी इन्धन खर्च गरेका छैनौं,’ उनले भने, ‘बजेट वार्षिक विनियोजनभन्दा दोस्रो चौमासिकको तेस्रो महिनासम्म कम खर्च भएको छ।’ बजेटअनुसार सरदर हिसाब गर्दा गाउँपालिकाले वर्षमा १२ हजार पाँच सय लिटर इन्धन खर्च गर्नेछ। एक सय २० रुपैयाँ सरदरले हिसाब गरिएको हो।

प्रकाशित: २० माघ २०७८ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App