१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

बाक्लो हुस्सुले हवाई उडान प्रभावित

पोखरा विमानस्थल अझै खुलेन

पोखरा विमानस्थल।

बिहानैदेखिको बाक्लो हुस्सुले पोखरा विमानस्थल अझै खुलेको छैन। भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान प्रभावित भएका छन्। विमानस्थल नखुल्दा विहीबारका कुनैपनि उडान भएका छैनन्। यहाँस्थित विमानस्थलबाट विहान सातबजे नै उडान संचालन हुन्छन्।

पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज र जोमसोमसम्म नियमित उडान हुने गर्छ । बाक्लो हुस्सुले उडान प्रभावित भएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए। उनका अनुसार पोखरा विमानस्थलको विहीबारको भिजिविलिटी करिब ३ हजार मिटर छ। यहाँबाट उडान र अवतरण हुन कम्तिमा ५ हजार मिटर भिजिविलिटी आवश्यक पर्छ।  

‘बाक्लो हुस्सुका कारण विहीबार विहानैदेखिको हवाई उडान प्रभावित भएको छ,’ सुवेदीले भने, ‘विमानस्थल नै खुल्न सकेको छैन। ’ पाँचहजार मिटर भिजिविलिटी चाहिने भएपनि तीनहजार मिटर हाराहारीमा रहेकोले उडान र अवतरण सम्भव नभएको उनले बताए। ‘हवाई सेवा सुचारु नभएपछि यात्रु अलपत्र परेका छन,’ उनले भने।  

सुवेदीका अनुसार विहीबार पोखराबाट जम्मा १९ वटा उडानको तालिका थिथो। सबैभन्दा बढी बुद्धका ११ वटा उडान थिए। बुद्धका सातवटा काठमाडौंका लागि, दुईवटा भैरहवा, नेपालगञ्ज र भरतपुर १–१ वटा उडान थिए। त्यस्तै यतीका चारवटा उडान काठमाडौंका लागि थिए। गुणका चारवटा उडान थिए। ती मध्ये कुनैपनि उडान हुन नसकेको सुवेदीले बताए।  

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि पोखराबाट हुने हवाई उडान पनि प्रभावित हुन थालेको थियो  संक्रमण बढ्नुअघि दिनको करिब ३० वटा उडान हुने गरेकोमा अहिले यात्रु अभावमा उडान घटेको सुवेदीले बताए। कोरोना संक्रमण बढेपछि उडानमा यात्रु संख्या कम हुँदै गएको उनले बताए। पोखरा–काठमाडौं रुटका उडान पछिल्लो समय घटेका छन। माघ लाग्नु अघिसम्म उडानसंख्या धेरै रहेकोमा अहिले घटेका छन्। कोरोना कमजोर भएको बेला पारेर पोखराका हवाई यात्रु निकै नै बढेका थिए। तर, संक्रमण बढ्दै जाँदा यात्रु घटेका छन्।  

विमानस्थलका अनुसार गत अक्टोवर, नोभेम्बर र डिसेम्बरमा अहिलेसम्मकै धेरै यात्रु हवाईजहाज चढेर पोखरा आएका थिए। २०२१ को अक्टोवरमा पोखराका आन्तरिक हवाई यात्रुको संख्या ६८ हजार ८ सय २६, नोभेम्बरको ६९ हजार ५ सय ५१ र डिसेम्बरको संख्या ७२ हजार २ सय ४२ थियो। यो संख्या अहिलेसम्मकै बढी थियो । कोरोना संक्रमणका कारण विदेशी पाहुना नआउँदाको अवस्थामा पनि पोखराको हवाई उडानमा पछिल्लो समय आन्तरिक यात्रु पर्याप्त बढेका थिए ।  

प्रकाशित: २० माघ २०७८ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App