१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘बेलायतसँग व्यापार सम्झौता प्राथमिकता’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन्।

बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए।

पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत्को सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए। ‘पूर्वाधार, श्रम सम्बन्ध, विद्युत् आपूर्ति आदिमा उल्लेख सुधार भइरहेको छ,’ उनले भने, ‘हामीले बेलायतमा यी बिषय प्रस्तुत गर्न सक्नुपर्छ।’

राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए। ‘बेलायत अब इयूबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौ,’ उनले भने, ‘यो मेरो प्राथमिकतामा रहेको विषय हो।’

राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र यी विषयमा काम गर्न सहज हुने बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले गैरआवासीय नेपालीलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताए। यसैबीच, राजदूत आचार्यसँगको भेटमा नेपाल उद्योग परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न र लगानी बढाउने वातावरण बनाउन आग्रह गरेको छ।

आचार्यसँगको छलफलमा परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको छ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे। उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए।

‘नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,’ उनले भने, ‘नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त सम्भावना छ।’

नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनका लागि आफूले काम गर्ने बताए। उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफी जस्ता वस्तुको अधिक सम्भावना रहेको र नेपाली वस्तुमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे।

बेलायतले नेपाल जस्ता देशमा आर्थिक÷सामाजिक विकासका लागि अनुदानका कार्यक्रम अघि बढाइरहेको भन्दै उनले पूर्वाधार विकासमा त्यो उपयुक्त हुने बताए।

‘दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन राजनीतिक तहमा नै संयन्त्र विकास गरी काम गर्ने सोच अघि बढाएका छौं,’ उनले भने, ‘त्यसमार्फत पनि दुई देशबीचको आर्थिक कुटनीति बलियो बनाउने र नेपालमा लगानी बढाउन तथा नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न सकिन्छ।’ परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको जलविद्युत, खनिज, पर्यटन, शिक्षा र स्वास्थ्य गरी पाँचवटा क्षेत्र बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र हुन सक्ने औंल्याए। नेपालमा उत्पादन हुने वस्तुलाई भारतमा भन्सार छुट सुविधासहित निर्यात गर्न सकिने भएकाले लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने उनको भनाइ छ।

प्रकाशित: १९ माघ २०७८ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App