४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्माण पूरा नहुँदै भत्कियो सडक

कमसल निर्माण सामग्री प्रयोग गरिएका कारण कोसी लोकमार्गअन्तर्गत ६ लेन सडक खण्ड बनि नसक्दै भत्किएको छ। लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने सडक खण्ड बनि नसक्दै भत्किएको हो।  

सडक खण्डको अधिकांश भाग धसिएर काम नलाग्ने भएको छ। सडक भासिएर काम नलाग्ने भएपछि कतिपय भागमा मर्मत र केही ठाउँमा टालटुल गर्ने काम थालिएको छ। भारतको सीमा नाका रानीदेखि विराटनगर महानगरपालिका क्षेत्रको उत्तरतर्फको सीमा ढाट (पहडगछ)सम्मको सडक भासिएर सवारी दुर्घटना हुने गरेको छ। रातिको समयमा भासिएको सडक नदेखिने हुँदा दुर्घटना बढी हुने गरेको हो।  

रानीदेखि नहरसम्मको केही भाग सडक निर्माण कम्पनीले मर्मत गर्न थालेको छ। ६ लेन सडक निर्माण हुनुभन्दा २ वर्ष पहिले एकीकृत जाँच चौकी (आइसिपी)देखि ६ लेन सडक जोड्ने पिच सडक भारतीय पक्षले निर्माण गरेको थियो। जुन सडक अहिलेसम्म केही भएको छैन भने लगत्तै निर्माण गरिएको ६ लेन सडक गुणस्तरहीन निर्माणका कारण भासिएको हो।    

सडक निर्माण ठेक्का पाएका कम्पनीहरु सडक क्षमताभन्दा बढी लोड मालवाहक सवारीका कारण भासिएको दाबी गरे पनि यर्थाथ फरक छ। आइसिपीदेखि ६ लेन सडक जोड्न सडक नभासिनु र सोही क्षमताको मालवाहक सवारी गुड्ने ६ लेन सडक भासिएर काम नै नलाग्ने हुनुले निर्माण कम्पनी र ६ लेन सडक परियोजनाका प्राविधिकहरुको कमजोरी रहेको पुष्टि हुन्छ।  

६ लेन सडक परियोजना इटहरीले सडक निर्माधीन कम्पनीलाई भुक्तानी रोक्का गर्ने चेतावनी दिएपछि भासिएको सडक खण्ड मर्मत गर्न थालेको छ। सीमा नाका रानीदेखि इटहरीसम्मको सडकलाई ५ खण्डमा परियोजनाले ठेक्का लगाएको छ। रानीदेखि इटहरीसम्म आशिष निर्माण कम्पनी, कञ्चनजंघा गीताञ्जली निर्माण कम्पनी, कान्छाराम निर्माण कम्पनी, भूमि निर्माण कम्पनीले सडकको मर्मत र निर्माणको ठेक्का पाएका हुन्।    

ती निर्माण कम्पनीले दबिएको टुटफुट तथा चर्किएको खण्ड खण्डको एक साथ निर्माण सुरु गरेको छ। ६ लेन सडक परियोजना इटहरीका इन्जिनियर उपेन्द्र दासले सडकको पारवहन क्षमताभन्दा २÷३ गुणा बढी सामान बोकेका गाडी गुडेका कारण सडक दबिएको दाबी गरे। ‘मालवाहक सावरी साधन एउटै लिकमा गुडेकाले पनि सडकमा समस्या आएको हो,’ इन्जिनियर दासले भने, ‘भत्किएको र दबिएको सडक पुनः मर्मत गर्न निर्माण कम्पनीलाई भनेका छौं। उनीहरुले मर्मतको काम थालेका छन्।’

रानीदेखि विराटनगरको उत्तरतर्फको मुख्य द्वार ढाटसम्म ठाउँ–ठाउँमा सडक दबिएको छ। यस्तो दबिएको सडकमा विशेष गरेर अँध्यारोमा धेरै सवारी दुर्घटना हुने गरेको छ। दबिएको सडकमा सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना हुने गरेको ट्राफिक प्रहरी बताउँछन्। ट्राफिक प्रहरीका अनुसार अँध्यारोमा बाटो राम्रोसँग नदेखिने गरेकाले सडकको बनावट थाहा पाउँदैनन् र दबिएको भागमा चक्का पर्दा अनियन्त्रित भई दुर्घटना हुने गरेको छ।

प्रकाशित: १८ माघ २०७८ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App