१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा यन्त्र वितरण

कृषि यन्त्र उपकरण हस्तान्तरण गर्दै समन्वय प्रमुख खड्ग परियारलगायत। तस्बिरः महेश्वर/नागरिक

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) कार्यान्वयन एकाई उदयपुरले ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण गरेको छ। आईतबार परियोजना कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा जिल्लाभरीका कृषक सहकारी र समूहमा आबद्ध किसानलाई यन्त्र उपकरण हस्तान्तरण गरिएको हो।

परियोजना एकाई प्रमुख रामसोगारथ साहका अनुसार जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहमा क्रियासिल र सूचिकृत कृषि सहकारी तथा समूहमा आबद्ध किसानका लागि यन्त्र उपकरण बितरण गरिएको हो। समूह र सहकारीमा आबद्ध भएर सामुहिक कृषि उद्यम गर्दै आयआर्जन वृद्धि अयिभानमा लागेका किसानलाई लक्षित गरी उपकरण वितरण गरिएको उनले बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा जिल्ला परियोजना समन्वय अनुगमन समितिका अध्यक्ष खड्ग परियार र परियोजना प्रमुख साहले यन्त्र उपकरण हस्तान्तरण गरे। साहका अनुसा चालु वर्ष बिभिन्न स्थानीयतहका ५५ वटा कृषि सहकारी तथा समूहलाई यन्त्र उपकरण बितरण गरिएको छ। बितरित उपकरणहरुमा धान काट्ने, मकै कोदो पिस्ने कुटानी पिसानी मिल (कम्बाईन मिल), थ्रेसर, चार्जिङ स्प्रेयर, फुड स्पे्रयर, मकै गोड्ने यन्त्र, खेत जोत्ने पावर ट्रिलर, मिनी ट्रिलरलगायत छन्।

कार्यालयका लेखापाल दीपेन्द्र अधिकारीका अनुसार चालु आर्थिकवर्ष संघीय सरकारले दिएको ३० लाख बजेटबाट ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण खरिद गरी बितरण गरिएको हो। यन्त्र उपकरण आवश्यक छ भनेर आवेदन दिएका सहकारी तथा समूहलाई जिल्ला परियोजना समन्वय अनुगमन समितिले छानविन गरी आवश्यक्ताका आाधारमा उपकरण बितरण गर्ने गरिएको लेखापाल अधिकारीले बताए।

एकाईका प्राविधिक उत्तम पोखरेलका अनुसार कार्यालयले पावर ट्रिलर १ थान, मिनि  ट्रिलर २५, कम्बाईन मिल २९, वीडर १ थान र भर्‍याङ ३ थान बितरण गरिएको छ। त्यस्तै फुड स्प्रेयर ६ थान, तौल मेसिन ५, क्रेट २ सय ६५ थान, थ्रेसर २, मकै गोड्ने मेसिन १ र चार्जिङ स्प्रेयर ५ थान बितरण गरिएको पोकरेलले बताए।

यन्त्र उपकरण लिन आएका साकेला कृषक समूह बेलका नगरपालिका २ का अध्यक्ष दिलराज राईले एकाई कार्यालयले ३ वर्षयता वर्षेनी कुनै न कुनै यन्त्र उपकरण दिदै आएपछि कृषि उद्यम फस्टाउँदै गरेको बताए। उनले साकेला समूहमा आबद्ध २२ घरधुरी किसानले ३० बिगाह क्षेत्रफल जमिनमा बगरखेती, मकै, धान, तोरी तथा तरकारी खेती गर्दै आएको बताए। राईका अनुसार अहिलेसम्म एकाईबाट पानी तान्ने मोटर, पम्पसेट, बोरिङ मेसिन, धान काट्ने यन्त्रलगायत उपकरण समूहले पाईसकेको छ। कृषकलाई यन्त्र उपकरण प्राप्त भएपछि कृषि कार्य सहज हुँदै गएको उनले बताए।

सामग्री हस्तान्तरण गर्दै समन्वय प्रमख परियारले नेपालको प्रमुख आम्दानीको स्रोत कृषिलाई बनाउन सकिने भन्दै त्यसका लागि आधुनिक तरिकाले कृषि उद्यममा लाग्न यन्त्र उपकरण दिइएको बताए। कृषिबाटै करोडपति बन्न सकिने र समृद्धि हात पर्ने भन्दै उनले तर, परम्परागत कृषि प्रणालीलाई अन्त्य गर्दै आधुनिक र यान्त्रिककरण गर्दै अघि बढ्न सरकारले अनुदानमा मल, बिउ र यन्त्र उपकरण उपलब्ध गराउने नीति लिएको बताए। अनुदानमा प्राप्त यन्त्र उपकरणको भरपुर उपयोग गरेर आयआर्जन बढाउन उनले कृषक समूह र सहकारीमा आबद्ध किसानहरुलाई आग्रह गरे।

प्रकाशित: १७ माघ २०७८ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App