४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेवारी स्वाद पस्कदै ज्वःजलपा नेवारी किचन

यहाँस्थित तेर्सापट्टीमा एउटा नेवारी टिपिकल घर छ। जसलाई परम्परागत रुपमा सजाइएको छ। घरको बाहिरी आवरण हेरेर नै जो कसैले त्यो नेवारी घर हो भनेर ठम्याउन सक्छ। घरको आवरण मात्र होईन, त्यसको बाहिर र भित्रको डिजाइन पनि नेवारी परम्परा अनुसार नै डिजाइन गरिएको छ। घरका भित्ताभरी नेवारी संस्कार र संस्कृति झल्किने परम्परागत तस्बिरहरु टाँगिएका छन्।

यहाँ पुग्दा जोकसैलाई नेवार गाउँको कुनै नेवार घरमा पुगेको झल्को लाग्छ। जसले संस्कार र संस्कृतिको अनुभूति त दिलाउँछ नै,  त्यहाँ राखिएका नेवारी परम्परागत डिजाईन र संस्कार र संस्कृति अनुसारको तस्बिरहरुले घरलाई जीवन्त बनाएको छ। जसले त्यहाँ पुगेका हरेक व्यक्तिलाई आनन्द र रिल्याक्स महशुष गराउँछ। यहाँको घर मात्र होईन, वातावरण र स्वाद पनि नेवारी छ।

पोखरामा बिरलै पाइने यो घर पोखरा महानगरपालिका–३ तेर्सापट्टीमा रहेको ज्वःजलपा नेवारी किचन हो। यसमा डिमर्चा ब्याण्डका भोकलिष्ट भास्करध्वज श्रेष्ठ र कीर्तिपुर मत्स्य गाउँका जितेन्द्र देसारको लगानी रहेको छ। करिब ३० लाख रुपैयाँको लगानी रहेको यो ज्वःजलपा नेवारी किचन लकडाउनकै प्रोडक्ट हो। कोरोनाका कारण २०७६ साल चैतमा गरिएको लकडाउन अघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आएपनि यसको औपचारिक उद्घाटन भने भएको छैन।

ज्वःजलपा नेवारी किचनले संस्कार र संस्कृतिको अनुभूति दिलाउँदै नेवारी स्वाद पस्किने गरेको छ। जहाँ नेपालकै उत्कृष्ट मानिने कीर्तिपुरको स्वाद लिन पाइने सञ्चालक मध्येका एक जितेन्द्र देसारले बताए। ‘हामी संस्कार र संस्कृति जीवन्त राख्न चाहन्छौं, त्यसैले नेवारी संस्कार र संस्कृति झल्किने गरी घरको डिजाइन र डेकोरेसन गरेका छौं, हामी नेवारी स्वाद पस्केर आम पोखरेलीको मन जित्न चाहन्छौं,’ उनले भने। नेवार समुदाय भोजका लागि प्रख्यात छ। यसलाई नै लक्षित गरेर ज्वःजलपामा नेवाः भ्वयःसमेत तयार गरिने सञ्चालक देसार बताउँछन्। यहाँ नेवारी परम्परागत भोजमा प्रयोग हुने वासादेखि अहिलेको युवा पुस्ताले रुचाउने हुक्कासमेत थरीथरी स्वादमा पाइन्छ।

लकडाउन अघिसम्म नेवारी स्वाद लिन आउनेको भीड लाग्ने ज्वःजलपामा अहिले भने ग्राहक घटेका छन्। ‘पहिलेको तुलनामा ब्यापार केहि घटेको मात्र हो, नेवारी संस्कार, संस्कृती र परम्परा मन पराउने हरेक पोखरेली यहाँ आउनेमा हामी ढुक्क छौं,’ अर्का सञ्चालक भास्करध्वज श्रेष्ठले भने। उनले थपे, ‘नेवारी संस्कार, संस्कृति र परम्परा बुझ्न यहाँका मान्छे कीर्तिपुर पुग्नुपर्छ, तर हामीले पोखरामै त्यो अनुभूति दिलाउने कोशिष गरिरहेका छौं।’

श्रेष्ठले नेवारी परिकारको स्वाद सस्तो मूल्यमा खुवाउने गरेको बताए। ‘काठमाडौं कीर्तिपुरको स्वाद यही दिइरहेका छौं, त्योपनि सस्तो मूल्यमा,’ उनले भने। उनले एक सय जनासम्मको भोज खुवाउनसमेत सकिने बताए। समूहमा आउनेलाई छुटसमेत दिइने उनले जानकारी दिए।

प्रकाशित: १६ माघ २०७८ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App