१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सानो गाउँबाट ५० लाखको सुन्तला बिक्री

अन्नपूर्ण गाउँपालिका–७,हिस्तानको दोसल्लेमा उत्पादित सुन्तला बजारमा लैजाने तयारीमा। तस्बिर: हरिकृष्ण/नागरिक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तानको दोसल्लेमा सुन्तला उत्पादन निरन्तर बढेको छ। बजार, सडकको सहज पहुँच र सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैंचामा नै पुग्न थालेपछि सिंगो गाउँ नै सुन्तला खेतीप्रति आर्कषित भएसँगै गतबर्षको तुलनामा ५० प्रतिशतले उत्पादनमा बृद्धि भएको छ।

गतवर्ष २५ लाखको सुन्तला बिक्री गरेका कृषकले यसबर्ष बगैचाबाटै ५० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्ने दोसल्ले व्यवसायिक कृषक सुन्तला समुहका अध्यक्ष प्रेमबहादुर पाईजा पुनले बताए। ‘नयाँ बोटले फल दिन थालेपछि लगातार उत्पादन बढेको छ,‘केहीवर्षमा एक करोडको सुन्तला बजारमा पठाउँछौ’ अध्यक्ष पाईजाले बताए। सुन्तला उत्पादनमा व्यावसायिक खेती गर्दै आएका किसानले यसबर्ष व्यक्तिगत ३० हजार देखि २ लाख ३० सम्म आम्दानी गर्ने गरेका छन्।  

गाउँपालिकाको अनुदान र कृषि ज्ञान केन्द्रले समेत प्राविधिक सहित विभिन्न सहयोग गरेकाले सहज भएको स्थानीय कृषकको भनाई छ। दोसल्लेमा खाली रहेका जमिनमा नयाँ बिरुबा लगाइएको छ। दोसल्लेमा करिब ५७ घरधुरीले सुन्तला खेती गरेका छन्। किसानले मल, किटनाशक विषादिको प्रयोग, बगैचा सुधार, सुन्तलामा लाग्ने विभिन्न रोगलाई समयमै नियन्त्रण गरेकाले यसबर्ष उत्पादन बढेको कृषक एवम् अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरले बताईन्। 

‘सिंगो गाउँ नै सुन्तला खेतीबाट सन्तुष्ट छ,‘प्रविधिको प्रयोगले समेत उत्पादनमा सघाएको छ’ उपाध्यक्ष मगरले भनिन्। यस वर्ष अनुकुल मौसम, केही मात्रामा क्षेत्रफल पनि वृद्धि भएको र रोग किराको प्रकोप कम भएकाले सुन्तला उत्पादन बढेकाले बोटमा लटरम्मै फलेका सुन्तलामा चाइनिज सिडरस फुड फ्लाइ ‘औंसा’ नामक कीराको प्रकोप नियन्त्रणमा धेरै ध्यान दिएको उपाध्यक्ष मगरको भनाई छ।  

दोसल्लेका सुन्तला रसिलो र पोटिला भएकाले बोट नै बुकिङ गरेर टिप्ने गरेको ब्यापारी हरि थापाले बताए। उनले दोसल्लेको सुन्तलाको पोखरामा राम्रो बजार रहेको बताए।  ‘बगैचाबाटै सुन्तला बजारमा लैजान सजिलो छ,‘कृषकले समेत बेचेको सुन्तलाको रेखदेख गरिदिनुहुन्छ’ उनले भने। 

यसबीच यसबर्ष म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको बताए। कृषकले बिक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर  १३ करोडभन्दा बढी मुल्उको सुन्तला उत्पादन भएको छ। हरेक गाउँमा गतबर्षको तुलनामा उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित: ५ माघ २०७८ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App