७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनः ६०० मेगावाट बिजुली आयात–निर्यात हुने

ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट नेपाल तथा भारत दु्वै मुलुकमा अबदेखि ६०० मेगावाट बिजुली आयात–निर्यात गर्न पाइने भएको छ। यसअघि यो प्रसारण लाइनबाट ३५० मेगावाट बिजुली मात्रै आयात–निर्यात गर्न सकिन्थ्यो।

नेपाल र भारतका सहसचिवस्तरीय ज्वाइन्ट टेक्निकल टिमको बैठकले भारतले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ६०० मेगावाट बिजुली दूवै मुलुकमा आदानप्रदान गर्न सकिने सहमति गरेका हुन।

बैैठकमा नेपालको तर्फबाट विद्युत् विकास विभागका महानिर्देशक तथा सहसचिव सन्दिप देव र भारतका सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीका चिफ इन्जिनियर रविन्द्र गुप्ताको नेतृत्वमा सोमबार भर्चुअल माध्यममबाट बैठक भएको थियो। दुवै मुलुकबीच भर्चुअल बैैठकमार्फत सहमति भए पनि सम्झौतापत्रमा हस्ताक्षर भने भइसकेको छैन। नेपालले पछिल्लो समय २२० केभीको खिम्ती ढल्केबर प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो।

त्यसैगरी, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पनि प्रसारण लाइनमा जोडिएको थियो। त्यसैगरी ढल्केबर–मुजफ्फरपुरमा पनि दुईवटा सबस्टेसन पनि थप गरिएको छ। विद्युत् विकास विभागका महानिर्देशक सन्दिप देवले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट नेपाल तथा भारत दुवै मुलुकमा अबदेखि ६०० मेगावाट बिजुली आदानप्रदान गर्न सकिने बताए।

‘क्षमता अभिवृद्धि भएसँगै अहिलेको तुलनामा दुवै मुलुकले खरिद तथा बिक्री गर्ने क्षमता बढेको छ,’ उनले भने, ‘गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली मात्रै निर्यात गर्ने अनुमति पाएको थियो। अब नेपालमा धेरै बिजुली भएको खण्डमा ६०० मेगावाट पनि निर्यात गर्ने वातावरण बनेको छ।’

महानिर्देशक देवले यो प्रसारण लाइनबाट कम्तीमा पनि ६ सय मेगावाट बिजुली निर्यात तथा आयात गर्ने ढोका खुलेको बताए। ‘यो प्रसारण लाइनबाट यसअघि ३५० मेगावाट मात्रै बिजुली आयात गर्न सकिन्थ्यो। तर हिउँद याममा धेरै बिजुली चाहिएको खण्डमा पनि यही प्रसारण लाइनबाट ल्याउन सकिने भएको छ,’ उनले भने।

प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्दै आइरहेको छ। दुई विद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ। हाल यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ।

तत्कालीन प्रधानमन्त्री ओलीले गत माघ १९ गते ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनको उद्घाटन गरेका थिए। १३ बिघा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसन रहेको छ। 

मुलुक भित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ। नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब २० करोड रूपैयाँ लगानीमा निर्माण भएको ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो।

४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीनवटा गरी ९४५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट बिजुली प्रसारण गर्न सक्छन्। यसैगरी, २२०/१३२ केभी सबस्टेसनमा रहेका तीनवटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभिए छ भने अर्को ३१५ एमभिए जडान भइरहेको छ। सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर–मुजफ्फरपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब एक हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिने छ।

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब २–२ सय मेगावाट विद्युत् ढल्केबर सबस्टेसनबाट हेटौंडा र इनरुवातर्फ पठाउन सकिने छ। हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ कभी प्रसारण लाइनमार्फत करिब तीन सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिनेछ।

प्रकाशित: ५ माघ २०७८ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App