१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उखु किसानको खातामै भुक्तानी

फाइल तस्बिर

चालु आर्थिक वर्षमा खरिद गरेको उखुको मूल्य किसानलाई भुक्तानी गर्न सुरु भएको छ। सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले यसै महिनामा किसानसँग किनेको उखुको मूल्य भुक्तानी दिन सुरु गरेको उद्योगले जनाएको छ।

 गत दुई हप्तामा उद्योगले ४ लाख ७० हजार क्वीन्टल उखु क्रसिङ गरिसकेको छ। पुस १५ मा सञ्चालनमा आएको उद्योगले निरन्तर क्रसिङ गरिरहेको छ। यस वर्ष खरिद गर्ने उखुको मूल्य भुक्तानी गर्दै जाने प्रतिवद्धता जनाएको उद्योगले किसानको खातामा पैसा पठाउने प्रक्रिया सुरु गरेको छ। उद्योगले चालु आर्थिक वर्षमा किनेको उखुको भुक्तानीको लागि करिब १५ करोड रूपैयाँ उखु किसानको खातामा पठाउने प्रक्रिया सुरु गरेको हो।

पहिलो चरणमा उद्योगले उखु किसानको खातामा पठाउन १५ करोड रूपैयाँ भुक्तानीको तालिका प्रकाशन गरेको उद्योगका प्रमुख उखु प्रबन्धक योगनारायण रजकले बताए। हरेक हप्ता भुक्तानीको तालिका प्रकाशन गर्दै जाने र सोहीअनुसार उखु किसानको खातामा रकम पठाउँदै जाने उनको भनाइ छ।

सरकारले चालु सिजनको लागि उखुको मूल्य भ्याटसहित प्रति क्वीन्टर ५९० रूपैयाँ तोकेको छ। उखु किसानले चिनी उद्योगबाट प्रतिक्वीन्टल ५२० रूपैयाँ किसानको खातामा भुक्तानी गरिरहेको छ। उद्योगले किसानको खातामा तोकिएको रकममा भ्याटबाहेकको रूपैयाँ भुक्तानी गरिरहेको रौतहटको समनपुरका अगुवा उखु किसान कामेश्वर सहनीले बताए।

अहिलेसम्म आफूले सर्लाहीको इन्दु शंकर चिनी उद्योगलाई करिब १५ सय क्वीन्टल उखु बेचिसकेको सहनीको भनाइ छ। उद्योगले उखुको मूल्य भुक्तानी प्रक्रिया सुरु गरेको र अहिलेसम्म खातामा करिब एक हजार क्वीन्टलको रकम आइसकेको उनले जनाए।

नगदे बालीको रूपमा नेपालमा मान्यता पाएको उखुलाई चिनी उद्योगहरूले किन्ने तर समयमै भुक्तानी नगर्ने गरेको कारण उखु किसान पीडित रहेकोमा सर्लाहीको इन्दु शंकर चिनी उद्योगले भुक्तानी दिन थालेपछि फेरि उखुलाई नगदे बालीको रूपमा किसानलाई विश्वास हुन थालेको उनीहरू बताउँछन्।

रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रीले पनि किसानलाई भुक्तानी दिन सुरु गरेको छ। उद्योगका सञ्चालक बैजु बाबराले उद्योगले हालसम्म एक लाख क्वीन्टल उखु क्रसिङ गरिसकेको जानकारी गराउँदै उद्योगले चालु आर्थिक वर्षमा उखु किन्न सुरु गरेदेखि एक हप्तासम्मको भुक्तानीको तालिका प्रकाशन गरिसकेको जनाए।

सर्लाही र रौतहटका उखु किसानले उखुको मूल्य भुक्तानी नपाउँदा तथा आफूले उत्पादन गरेर चिनी उद्योगलाई बेचेको उखुको मूल्यको लागि संघर्ष गर्नुपर्दा खेतीबाटै पलायन हुन थालेका थिए। विगतका वर्षभन्दा चालु आर्थिक वर्षका यहाँ उखुको उत्पादन कम हुने भएको छ।

चिनी उद्योगहरूले किसानलाई समयमा भुक्तानी नदिँदा उखु खेतीबाट पलायन भएका किसानमा फेरि आशाको संकेत देखिएको सर्लाहीका किसान सुन्दर यादवले बताए। चालु आर्थिक वर्षमा किसानले समयमा भुक्तानी पाए भने आगामी वर्षदेखि उखुको उत्पादन बढ्ने उनको भनाइ छ।

प्रकाशित: १ माघ २०७८ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App