१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

इन्दु शंकर चिनी उद्योगद्वारा उखु किसानको खातामै भुक्तानी

फाइलतस्बिर

चालु आर्थिक वर्षमा खरिद गरेको उखुको मूल्य किसानलाई भुक्तानी गर्न सुरु भएको छ। सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले यसै महिनामा किसानसंग किनेको उखुको मूल्य भुक्तानी दिन सुरु गरेको उद्योगले जनाएको छ। गत दुई हप्तामा उद्योगले ४ लाख ७० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ। गत १५ पुसमा सञ्चालनमा आएको उद्योगले निरन्तर क्रसिङ गरिरहेको छ।  

यस वर्ष खरिद गर्ने उखुको मूल्य भुक्तानी गर्दै जाने प्रतिबद्धता जनाएको उद्योगले किसानको खातामा पैसा पठाउने प्रक्रिया सुरु गरेको छ। उद्योगले चालु आर्थिक वर्षमा किनेको उखुको भुक्तानीको लागि करिब १५ करोड रुपैया उखु किसानको खातामा पठाउने प्रक्रिया सुरु गरेको हो।

पहिलो चरणमा उद्योगले उखु किसानको खातामा पठाउन १५ करोड रुपैयाँ भुक्तानीको तालिका प्रकाशन गरेको उद्योगका प्रमुख उखु प्रबन्धक योगनारायण रजकले बताएका छन्। हरेक हप्ता भुक्तानीको तालिका प्रकाशन गर्दै जाने र तालिकाअनुसार उखु किसानको खातामा रकम पठाउँदै जाने प्रबन्धक रजकको भनाइ छ।

सरकारले चालु सिजनको लागि उखुको मूल्य भ्याटसहित प्रति क्विन्टल ५९० रुपैया तोकेको छ। उखु किसानले चिनी उद्योगबाट प्रति  क्विन्टल ५२० रुपैया किसानको खातामा भुक्तानी गरिरहेको छ। उद्योगले किसानको खातामा तोकिएको रकममा भ्याटबाहेकको रुपैयाँ भुक्तानी गरिरहेको रौतहटको समनपुरका अगुवा उखु किसान कामेश्वर सहनीले बताएका छन्।

अहिलेसम्म आफूले सर्लाहीको इन्दु शंकर चिनी उद्योगलाई  करिब १५०० क्विन्टल उखु बेचिसकेको सहनीको भनाइ छ। उद्योगले उखुको मूल्य भुक्तानी प्रक्रिया सुरु गरिसकेको छ अहिलेसम्म खातामा करिब एक हजार क्विन्टलको रकम आइसकेको सहनीले जानकारी गराएका छन्। नगदे बालीको रुपमा नेपालमा मान्यता पाएको उखुलाई चिनी उद्योगहरुले किन्ने तर समयमा भुक्तानी नगर्ने गरेको कारण उखु किसानहरुले आन्दोलन गर्दै आएका थिए।

रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रीले पनि किसानलाई भुक्तानी दिन सुरु गरेको छ। उद्योगका संचालक बैजु बाबराले उद्योगले हालसम्म एक लाख क्विन्टल उखु क्रसिङ गरिसकेको जानकारी गराउँदै उद्योगले चालू आर्थिक वर्षमा उखु किन्न सुरु गर्दादेखि एक हप्तासम्मको भुक्तानीको तालिका प्रकाशन गरिसकेको जानकारी गराएका छन्।

सर्लाही र रौतहटका उखु किसानहरुले उखुको मूल्य भुक्तानी नपाउँदा तथा आफूले उत्पादन गरेर चिनी उद्योगलाई बेचेको उखुको मूल्यको लागि संघर्ष गर्नु पर्दा उखु खेतीबाट नै पलायन हुन थालेका थिए। विगतका वर्षहरुभन्दा चालू आर्थिक वर्षका सर्लाही र रौतहटमा उखुको उत्पादन कम हुने भएको छ।

चिनी उद्योगहरुले किसानलाई समयमा भुक्तानी नदिँदा उखु खेतीबाट पलायन भएका किसानमा फेरि आशाको संकेत देखिएको सर्लाहीका किसान सुन्दर यादवले बताएका छन्। चालु आर्थिक वर्षमा किसानले समयमा भुक्तानी पाए भने यसै वर्ष पनि उखुको खेती बढ्ने यादवको दाबी रहेको छ।

प्रकाशित: ३० पुस २०७८ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App