१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

फलफूलका बिरूवाबाट मनग्ये आम्दानी

फलफूलका बिरुवा बेचेर बैतडीमा किसान मनग्ये आम्दानी गर्न थालेका छन्। सुख्खा फलफूल विकास केन्द्र सतबाँज वरपरका किसान निजी नर्सरी स्थापना गरेर हिउँदे तथा बर्खे फलफूलका बिरुवा  बेचेर मनग्ये आम्दानी गर्न थालेका हुन्।

प्रत्येक वर्ष आफूले निजी नर्सरीबाट वार्षिक ६ लाख बढी कमाउने गरेको गुरूखोलाका अगुवा किसान देवदत्त भट्टले बताए। यहाँका नर्सरीमा उत्पादन भएका बिरुवा देशका विभिन्न जिल्लामा जाने गरेका छन्।

दशरथचन्द नगरपालिका–१ गुरुखोला र सुर्नयाँ गाउँपालिका–२ मा रहेका २४ भन्दा बढी फलफूलका नर्सरीबाट बिरुवा उत्पादन हुने गरेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बरसिंह भाटले बताए। सुख्खा फलफूल विकास केन्द्रले गत वर्ष ३२ लाख  रुपैयाँ बराबरको बिरुवा बिक्री भएकोमा यो वर्ष २७ देखि २८ लाख रुपैयाँको बिरुवा बिक्री गर्ने लक्ष्य राखेको छ।

सुख्खा फलफूल विकास केन्द्र र किसानका निजी नर्सरीबाट बर्सेनि लाखौं रुपैयाँको बिरुवा बिक्री हुने गरेको छ। निजी नर्सरी सञ्चालक किसानहरुलाई फलफूल विकास केन्द्रले तालिम र प्राविधिक सहयोग गरेपछि यहाँका किसान फलफूलका बिरुवा उत्पादनमा लागेका हुन्।

सतबाँझमा स्याउ, नासपती, ओखर, आरु, आरुबखडा, जैतुन, कागती लगायतका बिरुवा उत्पादन गर्ने गरिएको छ। जिल्लाका स्थानीय तहहरुले पनि किसानहरुलाई फलफूल खेतीतर्फ आकर्षण गराउन थालेका छन्।

किसानहरुलाई फलफूल खेतीतर्फ आकर्षण गराउनको लागि अनुदानमा बिरुवा वितरण गरिरहेको हो। स्थानीय तहहरुले पनि सुख्खा फलफूल विकास केन्द्रवाटै विरुवा किन्ने गरेको छन्। यहाँका नर्सरीमा उत्पादन भएका बिरुवा सुदूरपश्चिम लगायत कर्णाली प्रदेशका जिल्लामा पनि जाने गरेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख भाटले जानकारी दिए।

पपछिल्लो समयमा बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्र प्रशिक्षण हबको रुपमा विकासित हुँदै गएको छ। केन्द्रमा प्रयोगात्मक सीप सिक्नेको संख्या बढ्दै गएको सुख्खा फलफूल विकास केन्द्रले जनाएको छ।  कृषि जेटीए पढिरहेका विद्यार्थीहरु प्रयोगात्मक कक्षाका यहाँ पुग्ने गरेका छन्। प्रयोगात्मक कक्षामा सहभागी विद्यार्थीहरुले बोटविरुवा रोप्ने, काँटछाँट गर्नेदेखि लिएर कलमी गर्ने सम्मको सीप सिकिरहेका सुख्खा फलफूल विकास केन्द्रले जनाएको छ।

विसं २०१९ मा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ। सतबाँझमा पहिला देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेका छन्। जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो। केन्द्रको २९ हेक्टर जमिनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तरकारी खेती गरिँदै आएको छ।

प्रकाशित: २८ पुस २०७८ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App