९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

निजी क्षेत्रले पनि बर्खायाममा ५ सय मेगावाट बिजुली बेच्ने

नेपालका निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धक कम्पनीहरू मिलेर स्थापना गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेडले भारतको मनिकरण पावर प्रालिसँग विद्युत् व्यापार सम्झौता गरेको छ। नेपाल पावर एक्सचेन्जका म्यानेजिङ डाइरेक्टर आशिष गर्ग र मनिकरण पावरका म्यानेजिङ डाइरेक्टर नवोदित सिंहले सोमबार काठमाडौंमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ को अवसर पारेर सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

भारतको मनिकरणले बर्खामा नेपालमा उत्पादित पाँच सय मेगावाट बिजुली खरिद गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ। भारतीय कम्पनीले नेपाल पावर एक्सचेन्जमा १५ प्रतिशत स्वपुँजी लगानी गर्नेछ। भारतीय कम्पनीले नेपालको जलविद्युत् आयोजनामा दीर्घकालीन विद्युत् खरिदबिक्री सम्झौता गर्ने समेत उल्लेख गरिएको छ।

म्यानेजिङ डाइरेक्टर गर्गले दुवै पक्षबीच सम्झौता भएसँगै अब निजी क्षेत्रले भारतीय बजारमा बिजुली बेच्ने बाटो खुलेको बताए। ‘सरकारले भरपर्दाे आधार पेस गरेपछि मात्रै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने भन्दै आइरहेको थियो,’ उनले भने, ‘मनिकरण भारतमा विद्युत् व्यापार गर्ने तेस्रो ठूलो कम्पनीसँग साझेदारी गरेसँगै अब सरकारले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिने बाटो तयार पारेका छौं।’

इप्पानद्वारा प्रवद्र्धित नेपाल पावर कम्पनी दुई वर्षअघि नै स्थापना गरिएको हो। तर सरकारले निजी क्षेत्रबाट स्थापित कम्पनीलाई अहिलेसम्म विद्युत् व्यापारको अनुमति दिइसकेको छैन। यो कम्पनीको अधिकृत पुँजी दुई अर्ब रूपैयाँभन्दा धेरै छ। यो कम्पनीमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका सदस्यहरू साझेदार छन्।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले यो सम्झौतासँगै अब सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिए भारत लगायत मुलुकमा बिजुली बिक्री गर्न सकिने बताए। ‘निजी क्षेत्रले विद्युत् व्यापार गर्न गतिलो साझेदारसँग सम्झौता गरिसक्यो,’ उनले भने, ‘हाम्रो कम्पनीलाई अनुमति दिएर विद्युत् व्यापारको ढोका खोल्न सरकासँग अनुरोध गर्दछु।’ मनिकरण पावरका म्यानेजिङ डाइरेक्टर नवोदित सिंहले नेपालको निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् व्यापार गर्ने बताए। ‘विद्युत् व्यापारमा भारतकै तेस्रो ठूलो कम्पनीको रूपमा रहेका छौं,’ उनले भने, ‘नेपालसँग आवश्यक सहकार्य गरेर विद्युत् व्यापारको दायरा बढाउन चाहेका हौं।’

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले कार्यविधि बनाएर निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिने तयारीमा रहेको बताइन्। ‘मन्त्रालयले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन आवश्यक कार्यविधिको ड्राफ्ट तयार पारिरहेको छ,’ उनले भनिन्, ‘निजी क्षेत्रसँग ड्राफ्टको विषयमा छिट्टै छलफल गरेर टुंगो लगाउनेछौं।’

मन्त्री भुसालले भारत तथा बंगलादेशसँग समन्वय र सहकार्य गरेर अन्तरदेशीय विद्युत् व्यापार अघि बढाउने बताइन्। भारतीय ऊर्जा मन्त्रालयका पूर्वसचिव आरभी शाहीले नेपालले उत्पादन गरेको बिजुली बचत भएको खण्डमा मात्रै भारत निर्यात गर्न सक्ने बताए। ‘नेपालमा उत्पादन भएको बिजुली भर्खरै भारत निर्यात गर्न सुरु भएको छ,’ उनले भने, ‘दुवै मुलुकबीच आपसी समझदारी गरेर अन्तरदेशीय विद्युत् व्यापारलाई अझै सुदृढ गराउन आवश्यक छ।’

नेपाल पावर ट्रेड कम्पनी लिमिटेडका म्यानेजिङ डाइरेक्टर प्रबल अधिकारीले भारत सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका संशोधन गरेर छिमेकी मुलुकसँग सम्झौता गरी विद्युत् व्यापारको ढोका खोल्नुपर्ने बताए। ‘उक्त निर्देशिकाले गर्दा नेपालले सहजै विद्युत् व्यापार गर्न समस्या छ,’ उनले भने, ‘भारतीय पक्षले पनि छिमेकी मुलुकबाट बिजुली निर्यात गर्नको लागि सहजीकरण गर्नुपर्ने बेला भइसक्यो।’

नेपाल विद्युत् प्राधिकरणले गत कात्तिक १५ गतेदेखि भारतीय कम्पनी विद्युत् व्यापार निगम लिमिटेडसँग विद्युत् व्यापार सम्झौता गरेर ३९ मेगावाट बिजुली निर्यात गर्न थालेको छ।

प्रकाशित: २७ पुस २०७८ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App