१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखराका आन्तरिक हवाईयात्रुः वर्षमा पाँच लाख बढी

कोरोनाले आन्तरिक यात्रु रोकिएनन्: व्यवसायी

अहिलेसम्मकै धेरैः नागरिक उडड्यन प्राधिकरण

पोखरा विमानस्थलमा उडानको तयारीमा रहेका हवाई जहाज। तस्बिरः सन्तोष /नागरिक

कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र अत्तालिएको दुईवर्ष लागेको छ । यो अवधिमा पर्याप्त विदेशी पाहुना भित्रिन सकेनन्। बेलाबेला लकडाउन हुँदा आन्तरिक पाहुनाको हिडडुल पनि प्रभावित भयो। तर, त्यही अप्ठेराका बाबजुत पनि पोखरासम्म आउजाउ गर्ने हवाई यात्रुको संख्या भने अधिक बढेको छ।  

पोखरा विमानस्थलका अनुसार सन् २०२१ मा पोखराका हवाई यात्रुको संख्या ५ लाख २९ हजार ९ सय ४४ पुगेको छ। ती मध्ये ८ हजार ४९ जना मात्र विदेशी पाहुना छन। पोखराका हवाई यात्रुमध्ये ५ लाख २१ हजार ८ सय ९५ जना आन्तरिक यात्रु रहेको विमानस्थलको तथ्यांकले देखाएको छ। ती सबै यात्रु हवाईमार्ग मार्फत पोखरा र विभिन्न सहरसम्म आउजाउ गरेका थिए।

‘२०२१ मा अधिक संख्यामा आन्तरिक हवाई यात्रु बढेका छन। कोरोनाले सबैतिर त्रास बढाउँदाको अवस्थामा पनि आन्तरिक हवाई यात्रु ह्वात्तै थपिएका छन,’ पोखरा विमानस्थलका सुचना अधिकारी देवराज सुवेदी भन्छन, ‘संख्यात्मक हिसाबले २०२१ को आगमनको संख्या निकै नै बढी हो।’ विमानस्थलको तथ्यांक अनुसार यसअघि २०१९ मा पोखराका आन्तरिक हवाई यात्रु ५ लाख २७ हजार २ सय ७२ थिए। त्यो वर्ष सबैगरि पोखरामा ७ लाख २० हजार ७ सय १४ जना हवाई यात्रुको आउजाउ हुँदा विदेशीको संख्या १ लाख ९३ हजार ४ सय ४२ थियो।

‘कोरोनाले सबै क्षेत्र प्रभावित हुँदा आन्तरिक हवाई यात्रुले भने छोटो समयमा गति लिएको छ,’ सुवेदी भन्छन, ‘यति छिटो हवाई यात्राले गति लिन्छ भन्ने अपेक्षा थिएन। तर, छोटो अवधिमा हवाई यात्राले गति लिएको छ।’ 

सुवेदीको विश्लेषणमा २०२१ को आन्तरिक यात्रुको आउजाउको तथ्यांकलाई अहिलेसम्मकै बढी भन्न मिल्छ। किनकी २०२१ को मे र जुन महिनामा कोरोनाका कारण लकडाउन हुँदा दुईमहिनाको आउजाउ ठप्प जस्तै भएको थियो। त्यो बेला आगमन निकै नै घटेको थियो। २०२१ को मे महिनाका पोखराका आन्तरिक हवाई यात्रु जम्मा २२ सय ६४ थिए। त्यस्तै जुन महिनाको संख्या २ सय ३१ मात्र थियो। 

जबकी त्यही आगमन २०१९ को मे महिनाको ५१ हजार ६ सय ३४ र जुन महिनाको ४२ हजार १ सय ९५ थियो। कोरोना संक्रमण नहुँदो हो त २०२१ को मे र जुन महिनाको आगमन पनि ४० हजार हाराहारीमा हुँदा आगमन संख्या अहिलेसम्मकै बढी देखिन्थ्यो। तर, लकडाउनका कारणले दुईमहिनाको आगमन प्रभावित हुँदा पनि झन्डै २०१९ कै आकारलाई भेटेको सुवेदीले बताए।  

आन्तरिक यात्रुको आउजाउको तथ्यांक पछिल्लो तीनमहिना (अक्टोवर, नोभेम्बर र डिसेम्बर) ह्वात्तै बढेको थियो। २०१९ को पछिल्लो तीनमहिनाको आगमनलाई २०२१ को तीनमहिनाको आगमनले जितेको छ।

 २०१९ को अक्टोवरमा पोखराका आन्तरिक हवाई यात्रु मात्र ५५ हजार ७ सय ६१ थियो । २०१९ को नोभेम्बरको आगमन ५८ हजार ६ सय ३६ र डिसेम्बरको संख्या ४६ हजार ८५ थियो। तर, त्यो भन्दा पनि बढी संख्या २०२१ को त्यही समयको छ। २०२१ को अक्टोवरमा पोखराका आन्तरिक हवाई यात्रुको संख्या ६८ हजार ८ सय २६, नोभेम्बरको ६९ हजार ५ सय ५१ र डिसेम्बरको संख्या ७२ हजार २ सय ४२ थियो।  

‘पछिल्लो तीनमहिना पोखराको आगमन निकै नै बढ्यो। लकडाउन खुलेपछि कोरोना विरुद्ध खोप लगाएकोले पाहुना घुमफिरमा निस्कँदा हवाई यात्रु पर्याप्त भए,’ सुवेदी भन्छन, ‘यात्रु संख्या यति धेरै बढे की हवाई कम्पनिले सस्तोमा उडाउनै परेन, झन्डैझन्डै पुरै भाडा लिन पाएका थिए। बरु, अहिले यात्रु अभाव भएपछि केही भाडा सस्तो भएको छ।’

कोरोनाको खोप लगाएकोले पनि यात्रुमा घुमफिरमा मनोवल बढेको हुन सक्ने उनले बताए। कोरोना संक्रमणका कारण लामो समय घरभित्रै थुनिएका उनीहरु घरबाहिर निस्कन हतारिएको अवस्थामा सहज हुँदा पर्यटकीय क्षेत्रमा आउजाउ बढेको सुवेदी बताउँछन। ‘दिनमै २५ सय हाराहारीमा यात्रु पोखरा आउजाउ गरेका छन, यो संख्यालाई कमजोर मान्नु हुँदैन,’ उनले भने, ‘कोरोना संक्रमणको त्रासले पनि हवाई यात्रा रोज्न थाले। त्यसबाहेक स्थलमार्गमा समस्या हुँदा पनि हवाई यात्रु बढेका हुन।’

कोरोना संक्रमण रहिरहँदा सन् २०२० मा पोखराको हवाई यात्रुको संख्या २ लाख ५७ हजार २० थियो। ती मध्ये २५ हजार ५ सय ८५ जना विदेशी हुँदा आन्तरिक यात्रुको संख्या २ लाख ३१ हजार ४ सय ३५ थियो। २०१८ मा भने पोखराका हवाई यात्रुको संख्या ६ लाख ९ हजार ९ सय ७५ हुँदा आन्तरिकको संख्या मात्र ४ लाख ३० हजार १ सय ६५ रहेको सुवेदीले जानकारी दिए।

हवाई यात्रु मात्र नभई गन्तव्य पनि थपिएकोले हवाई यात्रु बढेको सुवेदीको भनाई छ। अहिले पोखराबाट काठमाडौं सहित मुस्ताङको जोमसोम, भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म नियमित उडान भईरहेका छन्। कोरोना संक्रमणकै अवधिमा नयाँ गन्तव्यसम्म हवाई सञ्जाल जोडिएका थिए। ती गन्तव्यसम्म अहिले उडान संख्या र हवाई यात्रु बढिरहेका छन्।  

पर्यटन व्यावसायी पनि पछिल्लो समय आन्तरिक पर्यटकले नै पर्यटन क्षेत्र धानिएको बताउँछन। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘स्थलमार्ग भन्दा सुरक्षित ठानिएकोले पनि हवाई यात्रामा यात्रु बढेका हुन। यो संख्या आगामि दिनमा अझै बढाउनुपर्नेछ।’ नजिकको गन्तव्यमा पोखरा पर्नु र सहज आउजाउ हुनुले पनि आन्तरिक पाहुना पोखरा तानिएको उनले बताए।  

हवाई कम्पनिका पदाधिकारी पनि यात्रु संख्या दिनहुँ बढिरहेको बताउँछन । बुद्ध एयरका पोखरास्थित स्टेशन प्रमुख गौतम बराल पनि आन्तरिक यात्रुले नै हवाई क्षेत्र धानेको बताउँछन। ‘आन्तरिक पाहुनाले नै अहिले हवाई यात्राको सिजन र अफसिजन भन्ने नै हराएको छ,’ बरालले भने, ‘पहिला पहिला डिसेम्बरमा हवाई यात्रु हुँदैनथे । नयाँवर्ष मनाउन बाहिर जाने चलन थियो। तर, अहिले डिसेम्बरमा आन्तरिक पर्यटक नै पोखरामा रमाउन आए, त्यसले गर्दा सिजन र अफसिजन भन्ने नै भएन।’ हवाई यात्रालाई आन्तरिक पाहुनाले राहत दिएको र हवाई कम्पनिले पनि हवाई यात्रुलाई प्राथमिकतामा दिँदा यात्रु बढिरहेको उनले बताए।  

प्रकाशित: २६ पुस २०७८ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App