coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नारायणहिटीमा डिजिटल बोर्डको पनि तयारी रहेको खुलासा

नारायणहिटी दरबार संग्रहालय परिसरमा नाफामूलक प्रयोजनको डान्स बार र रेस्टुरेन्ट निर्माण गरिरहेको बतास समूहले उक्त दरबारको अग्रभागमा ठूलो होर्डिङ बोर्ड (डिजिटल फ्लेक्सबोर्ड) राख्ने तयारी गरिरहेको सार्वजनिक भएको छ।

ऐतिहासिक सम्पदा मासिने गरी उक्त संग्रहालय परिसरमा निर्माण गरिएको संरचना भत्काउन थालिएसँगै डिजिटल फ्लेक्सबोर्ड राख्ने तयारी सार्वजनिक भएको हो।

उक्त बोर्ड राख्न बतास समूहले काठमाडौं महानगरपालिकाबाट अनुमति समेत पाइसकेको खुल्न आएको छ। ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरिरहेको बतास समूहले दरबारमार्गमा पुग्ने जो कोहीको नजर पर्ने गरी बोर्ड राख्ने तयारी गरिरहेको थियो।

राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर सार्वजनिक सम्पत्तिमा प्रभुत्व जमाइरहेको बतास समूहले प्रशासन र महानगरलाई प्रभावमा पार्दै वार्षिक साढे दुई लाख रूपैयाँ तिर्ने सर्तमा उक्त काम सुरु गरेको खुल्न आएको हो।

देशभरका धार्मिक र पर्यटकीय क्षेत्रका सरकारी जग्गा सस्तोमा लिजमा लिएर मुनाफा आर्जन गरिरहेको यस समूहले पशुपति क्षेत्रमा भारत सरकारले बनाइदिएको धर्मशालामा सञ्चालन गरिरहेको होटलबारे समेत छानबिन भइरहेको छ।

गोकर्ण रिसोर्ट, नेपाल ट्रस्टको जग्गा–भवन, सगरमाथा राष्ट्रिय निकुञ्जको जस्तै मूल्यवान जग्गा सस्तोमा दिन गरिएका सम्झौताबारे समेत पर्यटन मन्त्रालयले छानबिन सुरु गरेको छ। बतास समूहले पोखराको सेती नदी ४० वर्षसम्म उत्खनन गर्न लिजमा लिएको खुलेको छ। त्यस्तै पोखराको संग्रहालय, मानहुँकोट, पाटन दरबार स्वायरलगायत सरकारी र ऐतिहासिक महत्वका स्थानमा बतासको कब्जा रहेको खुलिसकेको छ।

नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले अस्थायी संरचना बनाएर एतिहासिक गुफाभित्र विदेशी शैली र वस्तुले सजावट गरिएको डान्सबार निर्माणको विषयले अहिले बतासको हालिमुहाली बाहिर ल्याइरहेको छ।  

सांस्कृतिक सम्पदासहितका महत्वपूर्ण क्षेत्रमा पकड बनाएको बतास समूहले नक्सापास समेत नगरी गुफाभित्रै डान्सबारसहितको व्यवसाय गर्न खोजेको थियो।

प्रकाशित: २६ पुस २०७८ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App