२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

मिरगञ्ज पुल भासियोः विराटनगर नाकाको आयात –निर्यात ठप्प

विराटनगर नाका जोड्ने भारतको जोगवनीस्थित मिरगञ्ज पुल अबरुद्ध भएपछि जोगवनी नाकाबाट हुने आयात –निर्यात दुई दिनदेखि ठप्प भएको छ।

स्ट्रिल्स स्ट्रक्चरको जिर्ण पुल भासिएपछि मालबाहक सवारीसाधन आवतजावतमा भारतीय पक्षले बिहीबारदेखि रोक लगाएको छ। पुलमा सबै किसिमका मालबाहक सवारीसाधन आवतजावतमा प्रतिबन्ध लगाइएका कारण बिहीबारदेखि विराटनगर नाकाबाट हुने आयात–निर्यात ठप्प भएको हो।

नयाँ पुल निर्माण भइनसकेको र पुरानो पुल भासिएर कामै नलाग्ने अवस्थामा पुगेपछि नेपालतर्फ आउँदै गरेका मालबाहक सवारीसाधन भारतमा अलपत्र परेका छन्। एक दिनमात्रै मालबाहक सवारी रोकिँदा नेपाली उद्योगी, व्यवसायीहरूलाई धेरै नोक्सान हुने भएकाले तत्काल वैकल्पिक बाटोबाट–आयात निर्यात सहज पारी दिन विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले नेपाल सरकारले कुटनीतिक पहल गरेर भाण्टाबारी नाकाबाट मालबाहक सवारीसाधन रि–रुट गरी आयात—निर्यात सहज बनाउने व्यवस्था मिलाउन आग्रह गरे। घिमिरेले नेपाल उद्योग परिसंघले भीमनगर–भाण्टावारी नाकाबाट रि–रुट गरेर आयात निर्यात सुचारु गराउन माग गर्दै विराटनगर भन्सार कार्यालयलाई पत्रसमेत बुझाएको जानकारी दिए।

उनले भने, ‘एक दिनमात्रै सवारीसाधन रोकिँदा उद्योगी व्यवसायीलाई ठूलो नोक्सान हुने भएकाले तत्कालै भीमनगर–भाण्टावारी नाकाबाट रि–रुटको व्यवस्था गरी रोकिएका सवारीसाधन नेपाल ल्याउने व्यवस्था मिलाउनुपर्छ।’ उनले पुरानो पुल १ सय वर्ष नाघिसकेका कारण त्यो पुल अब, काम नलाग्ने भएकाले जतिसक्दो छिटो निर्माणाधीन नयाँ पुल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई भारत सरकारसँग पहल गर्न माग गरे। उनले भने, ‘मिरगञ्ज पुलको विकल्प निर्माणाधिन नयाँ पुल नै भएकाले उक्त पुल जतिसक्दो छिटो सञ्चालनमा ल्याएर मिरगञ्ज पुलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्छ।’

ढुवानी व्यवसायी तथा नेपाल उद्योग परिसंघ प्रदेश १ का उपाध्यक्ष सुशील जोशीले एक दिन मालबाहक सवारीसाधन रोकिँदा उद्योगी व्यवसायीलाई २५ देखि ३० हजार रुपैयाँ नोक्सानी हुने भएकाले तत्कालका लागि भीमनगार–भाण्टाबारी नाकाबाट रि–रुटको व्यवस्था गर्न सरकारसँग माग गरे।

उनले पुरानो पुल भासिएको र नयाँ पुल निर्माण नसकिएकाले कहिले पुल सञ्चालनमा आउने भन्न सकिने अवस्था नरहेको बताए। जोशीले कतिदिनमा पुल सञ्चालनमा आउँछ र आयात–निर्यात  सुचारु हुन्छ भन्ने टुंगो नभएकाले तत्काल भीमनगर, भाण्टाबारी नाकाबाट रिरुटको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले भारतको कुर्साकाटा मार्गको पनि अवलोकन गरेको जानकारी दिए। तर, उक्त मार्गबाट ठूला कन्टेनर आउने संभावना नदेखिएकाले तत्काल भीमनगर—भाण्टावारी नाकाबाट रिरुट गरेर विराटनगर नाकाको आयात—निर्यात सुचारु गर्नु आवश्यक रहेको बताए।

उनले भारत सरकारले चाहेको खण्डमा एक महिनाभित्रै नयाँ पुल सञ्चालनमा ल्याउन सक्ने भएकाले निर्माणाधिन नयाँ पुल सञ्चालनमा ल्याउन नेपाल सरकारले पहल गर्नुपर्ने बताए। उनले नयाँ पुल निर्माण अन्तिम चरणमा पुगिसकेकाले भारतको रेल वे सेफ्टी डिपार्टबाट एनओसी लिए एक महिनाभित्रै नयाँ पुलबाटै मालबाहक सवारी ल्याउन सकिने संभावना रहेको बताए।

यता पुल भासिएर आयात निर्यात ठप्प हुँदा विराटनगर भन्सारको राजस्व संकलन पनि ठप्प भएको छ। आयात–निर्यात ठप्प हुँदा दैनिक साँढे १४ करोड रुपैयाँ राजस्व गुमेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत रमेशबहादुर शाहले विराटनगरका उद्योगी व्यवसायीले आयात–निर्यात सुचारु गर्न माग गर्दै भन्सार कार्यालयमा चिठी पठाएको जानकारी दिए।

उनले भन्सार कार्यालयले मिरगञ्ज पुलको बैकल्पिक मार्गबाट सवारी सञ्चालन वा विगतमा जस्तै भीमनगर, भाण्टावारी नाका रि–रुट गरेर आयात–निर्यात सहज बनाउने विषयमा आवश्यक पहल गर्ने जानकारी दिए। उनले भने, ‘रोकिएका सवारीसाधन जतिसक्दो चाँडो नेपाल ल्याउन र विराटनगर नाकाको आयात–निर्यात सुचारु गर्न भन्सार कार्यालयले आवश्यक पहल गर्नेछ।’

यसैबीच नेपाल उद्योग परिसंघ प्रदेश १, मोरङ व्यपार संघ, उद्योग संगठनलगायतका उद्योगी व्यवसायीका संस्थाहरूका प्रतिनिधिले शुक्रबार मिरगञ्ज पुलको निरिक्षण गरेका छन्। स्थलगत रुपमा हेर्दा मिरगञ्ज पुल मर्मत गरेर तत्कालै सञ्चालनमा आउने अवस्था नदेखिएको उनिहरूले बताए। नयाँ निर्माणाधीन पुलको निर्माण पनि नसकिएका कारण अल्पकालिन रुपमा भीमनगर–भाण्टावारी नाकाबाट रि–रुट गरेर विराटनगर नाकाको आयात—निर्यात सहज पार्नु उपयुक्त हुने उद्योगी व्यवसायीहरूले बताएका छन्।

प्रकाशित: २३ पुस २०७८ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App