१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

घोराही उपमहानगरको ‘महंगो’ भ्रमण: नहुने ‘भ्रमण खर्च’ १ करोड २९ हजार रुपैयाँ

घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै भ्रमण खर्च कुल १ करोड २९ हजार रुपैयाँ छुट्यायो। यति ठूलो रकममा ‘भ्रमण’ गर्ने निर्णय गरेको उपमहानगरपालिकाले न त भ्रमणको उद्देश्य नै उल्लेख गरेको छ, न त भ्रमण कहाँ? भनेर तोकेकाे छ। उपमहानगरले बजेट विनियोजन गरेको भ्रमणका ‘शिर्षक’ हरु हेर्दा त उपमहानगरको ‘नियत’ माथि प्रश्न गर्ने ठाउँ ‘क्लियर’ गरिदिएको छ। अँझ भनौ घोराही उपमहानगरको भ्रमण अति महंगो देखिन्छ।

यो उपमहानगरले भ्रमणका लागि चार शिर्षक उल्लेख गरेको छ। चार शिर्षकमा भ्रमण खर्च हालेको उपमहानगरले कुनै पनि शिर्षकको भ्रमणको उद्देश्य भने खुलाएको छैन।

पहिलो शिर्षक ‘भ्रमण खर्च’ उल्लेख गरेको उपमहानगरले यो शिर्षकको भ्रमण खर्च ७० लाख रुपैयाँ विनियोजन गरेको छ। उपमहानगरले आन्तरिक स्रोतबाट यो भ्रमण खर्च छुट्याएको हो। तीन चौमासिकमा यो रकम खर्च गर्ने गरि बजेट छुट्याएको उपमहानगरले पहिलो चौमासिकमा १४ लाख, दोस्रो र तेस्रो चौमासिकमा २८/२८ लाख रुपैयाँ खर्च हुने गरि बजेट तोकिएको छ। उपमहानगरले पहिलो चार महिनामा १४ लाख, त्यसपछिको अर्को चार महिनामा २८ लाख र अर्को चार महिनामा थप २८ लाख भ्रमण खर्चमा खर्च गर्ने गरि बजेट छुट्याएको छ।

भ्रमण खर्च वापतको ७० लाखले मात्रै उपमहानगरको भ्रमण खर्च थेगेको उसको बजेट ‘विनियोजन लीला’ ले देखाउँदैन। भ्रमण खर्च भनेर ७० लाख रुपैयाँ छुट्याएको उपमहानगरले विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च भनेर थप २५ लाख रुपैयाँ छुट्याएको छ। ‘ति विशिष्ट व्यक्ति को हुन्? अनि प्रतिनिधि मण्डल भनेको के हो?’, एक वडा अध्यक्षले भने, ‘यि विशिष्ट अनि प्रतिनिधि मण्डललाई कहाँ, कुन प्रयोजनका लागि भ्रमण गराउने हो? खुलाईएकै छैन भने यो बजेट माथिको आशंका के गर्ने?’ उपमहागनरले यो भ्रमण खर्च पनि आफ्नो आन्तरिक स्रोतबाट विनियोजन गरेको उल्लेख गरेको छ।

पहिलो शिर्षक भ्रमण खर्च, अनि दोस्रो शिर्षक विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण भनेर खर्च छ्ट्याएको उपमहानगरले अर्को शिर्षक फेरि ‘विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण’ भनेरै थप बजेट छुट्याएको छ। उसको यो अर्को शिर्षकको भ्रमण खर्च २९ हजार रुपैयाँ छुट्याएको छ। यो बजेट भने लुम्बिनी प्रदेश सरकारले अनुदान दिएको उपमहागरले उल्लेख गरेको छ।

घोराही उपमहानगरको भ्रमण यतिमै सकिएको छैन। बिभिन्न तीन शिर्षकमा रकम भ्रमण खर्च छुट्याएको उपमहानगरले ‘अन्य भ्रमण खर्च’ भनेर बजेट छ्ट्याउन पछि परेन। उसले अन्य भ्रमण खर्च भनेर थप ५ लाख रपैयाँ छुट्याएको छ। ‘माथि तीन फरक फरक शिर्षक राखेर बजेट छुट्याएपछि यो अन्य भ्रमण भनेको के हो?’, ति वडाध्यक्षले भने, ‘नगरसभा सदस्यहरुले यति प्रश्नको जवाफ उपमहानगरबाट खोजिरहेका छौँ।’

चार छुट्टाछुट्टै खर्च शिर्षक राखेर कुल १ करोड २९ हजार रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको घोराही उपमहानगरपालिकाले अहिले सम्म भ्रमणमा कति खर्च भयो भन्ने एकिन नभएको बताउँछ। न त उपमहानगरबाट अहिले सम्म भ्रमणनै भएको छ, तर रकम भने खर्च भैरहेकै छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार अहिले सम्म उपमहानगरबाट ‘समूहगत’ भ्रमण नभएको बताए। उनका अनुसार कर्मचारी तथा जनप्रतिनिधिहरु काम विशेषले बाहिरी जिल्ला गएकोलाई पनि उपमहानगरपालिकाले भ्रमण मान्दो रहेछ।

‘कर्मचारी तथा जनप्रतिनिधिहरु कामको शिलशिलामा बाहिर गएको अवस्थामा त्यो बजेट त्यसमा प्रयोग हुन्छ,’ केसीले भने, ‘तर काम भने कार्यालयकै प्रयोजन भएमात्रै उक्त रकम प्रयोग हुने हो।’ उनका अनुसार जनप्रतिनिधिहरु वा कर्मचारीहरु भ्रमणका लागि भनेर समूह बनाएरै कतै जाँदैनन्। भ्रमण खर्च भनेर छुट्याइएको ७० लाख रुपैयाँ कर्मचारीहरुको भ्रमणका लागि हो।

यसैगरि विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण भनेर छुट्याइएको २५ लाखभन्दा बढीको बजेट जनप्रतिनिधिहरुको भ्रमणका लागि हो। तर जनप्रतिनिधिहरु पनि अहिले सम्म सामूहिक भ्रमणमा ननिस्किएको केसी बताउँछन्। तर रकम भने खर्च भैरहेको छ। ‘जनप्रतिनिधिहरु काठमाडौँ, या अन्य कुनै जिल्लामा जानुहुन्छ,’ केसीले भने, ‘त्यो बेलाको खर्च यहि बजेटबाट हुन्छ।’

केसीका अनुसार भ्रमणका लागि भनेर छुट्याइएको १ करोड २९ हजार रुपैयाँ पूरै खर्च हुँदैन। ‘भ्रमण खर्चका लागि भनेर छुट्याइएको पूरै बजेट खर्च हुँदैन,’ केसीले भने, ‘बचेको रकम कार्यालय प्रयोजनमा लगाईन्छ।'

प्रकाशित: २२ पुस २०७८ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App