१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

विद्युत् आपूर्ति सुधार्न सबस्टेसन निर्माण एक वर्षभित्र सक्ने लक्ष्य

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न पहल सुरु गरेको छ।

काठमाडौं उपत्यकाभित्र विद्युत्को बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरू एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको हो।

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायत आयोजनाहरू सञ्चालित छन्।

प्राधिकरणले काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत् खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनाउन सुरु गरेको छ। सरकार, प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अगाडि बढाइएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाहरूको स्थलगत अनुगमन गरी निर्माण प्रगति, बेहोरिरहेका समस्या, एक वर्षभित्र सम्पन्न गर्न गर्नुपर्ने काम लगायत विषयमा जानकारी लिएको प्राधिकरणले जनाएको छ।

कार्यकारी निर्देशक घिसिङले काठमाडौंको मातातीर्थमा निर्माणाधीन २२०/१३२/३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगमन गरी निर्माणलाई तीव्रता दिन आग्रह गरे। प्राधिकरणका अनुसार घिसिङले अगामी वर्षको हिउँद सुरु हुनुअघि नै आयोजनाको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरू र परामर्शदातालाई आग्रह गरे।

‘निर्माणाधीन सबस्टेसनहरू अर्को वर्षको हिउँदअगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएन भने पूर्वाधार अभावमा विद्युत् माग अनुसार आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले यस्ता संवेदनशील आयोजनाको निर्माणमा सबै गम्भीर बनेर सम्पन्न गरौं,’ उनले भने।

प्रकाशित: २२ पुस २०७८ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App