१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

धरानमा फोहोर प्रशोधन गरेर ग्याँस र मल उत्पादन सुरु

रिबन काटेर धरानको फोहोर प्रशोधन केन्द्र उद्घाटन गर्दै प्रधानमन्त्री देउवा। तस्बिर: रोहित/नागरिक

सहरको फोहाेरलाई प्रशोधन गरेर ग्याँस र मल उत्पादन गर्ने उद्योग धरानमा सञ्चालन भएको छ।धरान ६ स्थित पानवारीमा भेञ्चर वेष्ट टु इनर्जी प्रालिले फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो। 

बाइस कट्ठा क्षेत्रफलमा रहेको केन्द्रको मंगलबार एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। केन्द्रबाट उत्पादन भएको ग्याँसबाट टेम्पो पनि सञ्चालनमा आएको छ। प्रधानमन्त्री देउवाले ग्याँसबाट चल्ने टेम्पोको अवलोकनसमेत गरे भने फोहोर प्रशोधन गरेर उत्पादन भएको बायो मलको पनि निरीक्षण गरेका थिए।  

फोहोरको दीर्घकालिन व्यवस्थापनको लागि उपमहानगरपालिका र प्रालिबीच २० बर्षे सम्झौता भएको थियो। सम्झौता अनुसार प्रालिले २० बर्षपछि प्रशोधन केन्द्रको सम्पुर्ण सम्पत्ति उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ। व्यवसायिकरुपमा ग्याँस उत्पादन सुरु गरेपछि प्रालिले आम्दानीको १ प्रतिशत उपमहानगरपालिकालाई बुझाउने सम्झौता छ। कोभिडको कारण केन्द्र सञ्चालनमा एक वर्ष ढिलाई भएको हो। केन्द्रमा हाल २४ करोड हाराहारी लगानी भएको प्रालिले जनाएको छ।  

वेष्ट टु इनर्जीका संस्थापक मध्ये एक विपुलराज पाण्डेका अनुसार धरानबाट ३० टन कुहिने अग्र्यानिक फोहोर आउने अनुमान थियो। तर, हाल १२ देखि १५ टन मात्र प्राप्त भएको उनले बताए। केन्द्रका आएको फोहोरलाई कुहिने, रिसाइकल हुने र ल्याण्डफिल्डमा फाल्नुपर्ने गरि छुट्याउने उनले बताए। त्यसमध्ये अर्गानिक फोहोर प्रशोधन गरेर ग्याँस र मल उत्पादन भइरहेको छ भने पुनःप्रयोग हुने फोहोर कवाडीलाई बिक्री गर्ने प्रालिका संस्थापक पाण्डेले बताए। उनले भने,‘केन्द्रमा आउने फोहोरबाट २० देखि २२ प्रतिशत मात्र ल्याण्डफिल्डमा जान्छ, र यसले फोहोर व्यवस्थापनमा धेरै सहज हुन्छ।’

 फोहोर प्रशोधन केन्द्रको स्विच अन गरेर मेशिन सञ्चालन गर्दे प्रधानमन्त्री देउवा।

प्रालिका अनुसार हाल दिनको १२ देखि १५ सय केजी ग्याँस उत्पादन भइरहेको छ। यो ग्याँस अहिले धरानका टेम्पोहरुलाई उपयोगी भएको र टेम्पोहरुले लगाउन शुरु गरेको पनि पाण्डेले बताए। ‘पेट्रोलबाट चल्ने टेम्पोहरु अब ग्याँसबाट चल्छ। पेट्रोलबाट १८ किलोमिटर चल्ने टेम्पोले ३२ किलोमिटर चल्छ। पेट्रोलभन्दा १० देखि १५ रुपैया सस्तो पनि हुन्छ,’पाण्डेले भने। केन्द्र सञ्चालन आएपछि ५५ जनाले रोजगारी पाएका छन् भने केन्द्र आफैले फोहोर संकलनको कार्य शुरु गरेपछि १३० भन्दा बढीले रोजगारी पाउने पाण्डेले बताए।  

नेपाल सरकारको वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको कार्यकारी निर्देशक डा.मधुसुधन अधिकारीले केन्द्र सञ्चालनमा विश्व बैकसँगको सहकार्यमा प्लान्ट र मेशिनरीमा लागतको ४० प्रतिशत अनुदान दिइएको बताए। धरानमा सञ्चालनमा आएको केन्द्र स्थानीय तहको पहिलो भएको र नयाँ प्रविधिको पहिलो भएको पनि उनले बताए। ‘यो अत्यन्तै आधुनिक प्रविधि हो। यसले ग्याँस बनाउछ, लिक्विड मल बनाउछ र पानी पनि प्रशोधन गर्छ,’डा.अधिकारीले भने,‘अहिले टेम्पो चलाउन ग्याँस प्रयोग हुदैछ, खाना पकाउन घर घरमा भन्दा पनि धेरै खपत हुने होटल रेष्टुरेष्ट र उद्योगमा पनि प्रयोग हुन्छ। पेट्रोल, डिजेल आयात गर्ने मुलुकलाई ग्याँस उत्पादन वरदान नै हो, यसले पर्यावरणलाई पनि संरक्षणमा मद्दत पुग्छ।’

प्रालिका अर्का संस्थापक जेनेश श्रेष्ठका अनुसार धरानका ३ सय वटा टेम्पोमा सिलिण्डर जडान गरेर ग्याँसबाट चल्ने बनाइनेछ। यसको लागि धरान ७ स्थित भोटेपुलमा ग्याँस रिफिल स्टेशन निर्माण भइसकेको छ। यो ग्याँसको प्रयोगले दैनिक करिब १५ सयदेखि २ हजार लिटर पेट्रोल आयात रोकिने श्रेष्ठले बताए। ‘यसले हालको बजार मुल्यमा करिब १० करोड रुपैयाको आयात कम हुनेछ,’उनले भने,‘यो केन्द्रबाट दैनिक १ हजार किलो जैविक ग्याँस, दैनिक ५ सय किलो जैविक मल र १० हजार लिटर तरल मल उत्पादन हुनेछ।’

धरानमा दैनिकरुपमा संकलन भएको सबै फोहोर हालसम्म जंगल, सेउती खोला किनारमा थुपार्ने गरिएको छ। त्यसरी फोहोर फाल्दा वातावरण र वन्यजन्तुलाई असर पुगेको भन्दै चर्को आलोचना पनि भइरहेको छ। इटहरी उपमहानगरले पनि चारकोसे जंगलबीचमा नै फोहोर फाल्ने गरेको छ। धरान उपमहानगरका वातावरण अधिकृत भेषराज घिमिरेले प्रशोधन केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनको समस्या दीर्घकालिनरुपमा समाधान हुने बताए। नकुहिने र रिसाइकिल पनि नहुने ज्यादै थोरै परिमाणको फोहोर मात्र डम्पिङको लागि जाने भएकोले समस्या नहुने उनले बताए।

प्रकाशित: २० पुस २०७८ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App