५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

झ्याप्प–झ्याप्प बिजुली जाने समस्या कायमै

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत शुक्रबार पत्रकार सम्मेलन गरेर राजधानी उपत्यकाको बिजुली जाने समस्या कम भएको दाबी गरे पनि समस्या अहिलेसम्म कायमै छ। घिसिङले गत शुक्रबार पत्रकार सम्मेलन गरेर उपत्यकामा बिजुली जाने समस्या धेरै हदसम्म कम भइसकेको दाबी गरेका थिए।  

उनले प्रतिबद्धता जनाएको तीन दिन बितिसक्यो। तर उपत्यकामा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या कम भएको छैन। एक सातादेखि बानेश्वर वितरण केन्द्र अन्तर्गतका कोटेश्वर महादेवस्थान, मध्यबानेश्वर, पेप्सीकोला, बालकुमारी तथा कालीमाटी क्षेत्रमा बेलुकाको पिक–आवरमा दिनहुँजसो बिजुली जाने समस्या कायम छ। तर प्राधिकरणले एक सातादेखि निरन्तर बिजुली जाने समस्या अन्त्य गर्न सकेको छैन।  

प्राधिकरण नियमित मर्मतसम्भार र ट्रान्सफर्मर फेर्ने तथा अपग्रेड गर्ने काम भइरहेको दाबी गर्न भने छाड्दैन। ती क्षेत्रमा बस्ने जनता भने अँध्यारोमै बस्न बाध्य छन्। प्राधिकरणको वितरण तथा ग्राहक निर्देशनालयका प्रमुख मनोज सिलवालले काठमाडौं उपत्यकामा ६०–७० वटा ट्रान्सफर्मरमध्ये बानेश्वर वितरण केन्द्र अन्तर्गत ३० वटाभन्दा धेरै ठाउँका ट्रान्सफर्मरमा समस्या आएको बताए। ‘१४–१५ गते उपत्यकामा ओभरलोडले धेरै नै समस्या आएको थियो। ओभरलोडकै कारण ६०–७० वटा ट्रान्सफर्मरमा समस्या आएको हो,’ उनले भने, ‘अधिकांश ठाउँको समस्या समाधान भइसकेको छ। केही ठाउँमा समस्या आएको होला, त्यहाँ पनि मर्मतसम्भार जारी छ।’  

प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराई अहिले पनि धेरै ठाउँमा ट्रान्सफर्मर फेर्ने काम भइरहेकाले बिजुली जाने समस्या देखिएको बताउँछन्। ‘ओभरलोडको कारणले अहिले झ्याप्प–झ्याप्प बिजुली जाने समस्या देखिएको हो,’ उनले भने, ‘पुरानो संरचनाले नधानेकै कारण समस्या आएको हो। बानेश्वर, कोटेश्वर, पेप्सीकोला, बालकुमारी एरियामा लोड सिफ्ट गरेकाले कारणले केही समस्या देखिएको होला।’  

प्रवक्ता भट्टराईले बालकुमारी क्षेत्रमा देखिएको समस्या समाधानको लागि थिमीबाट लोड सिफ्टको काम भइरहेको बताए। ‘प्राधिकरणले मर्मतसम्भार नै नगरेको भन्ने त होइन, ओभरलोडकै कारणले अहिलेको समस्या देखिएको हो,’ उनले भने, ‘आइतबार बालकुमारी एरियाको लोड व्यवस्थापनको काम भइरहेको छ।’  

उनले आइतबार बानेश्वरको थापागाउँ क्षेत्रको ट्रान्सफर्मर ओभरलोड भएकै कारणले फेर्दा केही समय बिजुली गएको हुन सक्ने बताए। ‘शनिबारसम्म थापागाउँ एरियामा ओभरलोडकै कारणले समस्या भएको हो,’ उनले भने, ‘अरू ठाउँका समस्या पनि समाधानको प्रयत्न गरिहेका छौं।’ निर्देशनालय प्रमुख सिलवालले काठमाडौं उपत्यकामा ६०–७० वटा ट्रान्सफर्मर अपग्रेड गरेकाले उपत्यकामा अब पानी आउँदा पनि समस्या नआउने दाबी गरे।

‘अहिलेसम्म कम्तीमा ६० देखि ७० वटा ट्रान्सफर्मर फेरेका छौं। फेरि पानी परेर सिस्टममा समस्या आयो भनेर जनताले फेरि हामीलाई मार्छन्,’ उनले भने, ‘यसपालिको लोड पूर्वअनुमानित थिएन। हामीले सोचेभन्दा बढी नै लोड भएर समस्या भएको हो।’  

उनका अनुसार गत वर्ष यही समयमा उपत्यकामा ३७० मेगावाट मात्रै माग थियो। यसपालि ४६८ मेगावाट पुगेको छ। उनका अनुसार काठमाडौं उपत्यकामा ह्वात्तै माग बढेकाले पनि अहिले समस्या आएको हो।  

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अझै पनि बिजुली जाने समस्या उस्तै भए पनि प्राधिकरणले पाँच दिनअघि र अहिलेको अवस्था फेरिएको दाबी गरेको छ। ‘पाँच दिनअघिको र अहिलेको अवस्थामा धेरै सुधार भएको छ नि!’ सिलवालले भने, ‘अबको केही दिनमा सबै ठाउँको समस्या अन्त्य गर्नेछौं।’

प्रकाशित: २० पुस २०७८ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App