४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

गत वर्ष डेढ लाख विदेशी

सन् २०२१ मा नेपालमा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ। नेपाल भित्रिएका ती विदेशी पाहुना हवाई र स्थलमार्गबाट भित्रिएका हुन्। तीमध्ये अधिकांश हवाईमार्गबाट भित्रिएका थिए।

संख्यात्मक रूपमा भने २०२१ को पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा कम हो। बोर्डका निर्देशक तथा प्रवक्ता मणिराज लामिछानेका अनुसार सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना विदेशी भित्रिएका थिए।

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२० को जनवरीमा नेपालमा ७९ हजार ७ सय २, फेब्रुअरीमा ९८ हजार १ सय ९० र मार्चमा ४२ हजार ७ सय ७६ जना विदेशी भित्रिएका थिए। २०२० को सुरुको तीन महिनाको मात्र विदेशी पाहुना आगमनको संख्या २ लाख २० हजार ६ सय ६८ थियो। सन् २०१९ को अन्तिममा चीनबाट कोरोना भाइरस संक्रमण सुरु भए पनि त्यसको मार नेपालको पर्यटन क्षेत्रमा करिब तीन महिनापछि मात्र पर्न थालेको थियो। २०२० को मार्च मध्यपछि नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असर पर्न थालेपछि आगमन प्रभावित भएको थियो। त्यसपछि लकडाउन हुँदा आगमन झन्डै शून्यमा झरेको थियो।

‘चीनमा कोरोना संक्रमण सुरु भए पनि २०२० को सुरुको अढाई महिना नेपालमा विदेशी आगमनमा खासै असर परेको थिएन। त्यसपछि बल्ल अप्ठेरो पर्न थालेको हो,’ लामिछानेले भने, ‘त्यसले गर्दा अघिल्लो वर्षको संख्या २०२१ को भन्दा बढी देखिएको हो।’ उनका अनुसार कोरोना संक्रमणले गर्दा लकडाउन सुरु भएपछिका साढे नौ महिना अवधिको आगमन ज्यादै न्यून थियो।

२०२० को मार्च मध्यदेखि डिसेम्बरसम्मको अवधिमा नेपालमा झन्डै ९ हजार ५ सय मात्र विदेशी भित्रिएका थिए। ‘तर ती साँच्चैका पर्यटक थिए वा थिएनन् भन्ने पनि छ। त्यसको तुलनामा २०२१ को आगमनको आकार निकै नै बढेको छ,’ लामिछानेले भने, ‘२०२१ मा त पूरै वर्षभर कोरोनाको असर परेको हो।’

सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए। संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटिओ)ले कोरोना संक्रमण सुरु भएपछि २०२० मा विश्वको पर्यटन ७० देखि ७५ प्रतिशत घट्ने अनुमान गरेको थियो। पर्यटनमा असर २०२१ मा पनि उत्तिकै पर्ने आकलन थियो। विश्वको पर्यटन तीन दशकअघिको अवस्थामा फर्किने युएनडब्लुटिओले बताएको थियो। नेपालमा भने त्योभन्दा पनि अझै बढी असर पारेको तथ्यांकले देखाएको छ। 

०१९ को तुलनामा २०२१ मा नेपालमा जम्मा १२.५ प्रतिशत मात्र आगमन भएको लामिछानेले बताए। ‘पर्यटक आगमन बल्ल सुधारको बाटोमा छ। पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिए पनि त्यसले अस्थायी प्रभाव पार्ने भनिएकोले आगमन त्यति प्रभावित नहुन सक्छ,’ लामिछानेले भने, ‘ओमिक्रोनको थप प्रभाव नपर्ने हो भने २०२२ को आगमन अझै बढ्ने अपेक्षा गर्न सकिन्छ।’  

पर्यटन व्यवसायी पनि पर्यटनमा सुधार देख्न थालेका छन्। पछिल्लो समय फाट्टफुट्ट विदेशीको आगमन हुन थालेपछि पर्यटन क्षेत्र केही आशावादी बनेको छ। पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष गोपिबहादुर भट्टराई भन्छन्, ‘अब केही सुधार हुने देखिएको छ।’

प्रकाशित: २० पुस २०७८ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App