२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक र बाह्य पर्यटकहरुको घुइँचो

अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन शनिबार भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरु। तस्बिरः नागरिक

अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारमा पर्यटकहरुको भीड लागेको छ। नवौं फुड फेस्टिवल चलिरहेको कारण पनि पर्यटकहरुलाई भेडेटारले आकर्षित गरेको हो। भेडेटारका होटल तथा लजहरुमा शुक्रबारदेखि नै पर्यटकहरुको आगमन बढेको थियो।

नयाँ वर्षको अघिल्लो दिन शुक्रबारदेखि नै होटल तथा लजहरु प्याक भएको होटल एशोसिएशसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए। उनका अनुसार नयाँ वर्षको पहिलो दिन शनिबार भेडेटारमा थामिनसक्नु पर्यटकहरुको घुइँचो लागेको छ। आन्तरिकसँगै भारतीय पर्यटकहरु पनि उल्लेख्य संख्यामा आएको उनले बताए। अध्यक्ष रुम्दालीले भने,‘आज शनिबार मात्र १० हजार जति पर्यटकहरु भेडेटारमा आए, भारतीय पर्यटकहरु पनि राम्रो संख्यामा आएका छन्।’

भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको छ। फेस्टिवलमा आउने पर्यटकहरुलाई होटल तथा लजहरुले १० प्रतिशत छुट दिएका छन् भने जिपलाइनमा १५ प्रतिशत र प्याराग्लाइडिङमा ३० प्रतिशत छुट दिएका छन्। अघिल्लो २ वर्ष कोरोना संक्रमणले फेस्टिवल गर्न नपाएका भेडेटारका पर्यटन व्यवसायीहरु यसपालि भने पर्यटकहरुको आगमनले उत्साहित छन्। होटल मेजेस्टिका सञ्चालक आशिष राई भन्छन्,‘यसपालि पर्यटकहरुको आगमन राम्रो नै भयो, यसले उत्साह थपेको छ।’

भेडेटारमा नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको गाडीले ट्राफिक जामसमेत भएको थियो। साँझ तिर मात्र यातायात आवागमनमा सहजता भएको भेडेटारका ट्राफिक इञ्चार्ज राजन श्रेष्ठले जानकारी दिए। भेडेटारमा व्यवस्थित पार्किङको अभावले गर्दा पनि समस्या भएको हो। व्यवसायीहरुले धेरै अघिदेखि व्यवस्थित पार्किङको माग गर्दै आएपनि पूरा भएको छैन।

सुनसरी र धनकुटाको सिमानामा अवस्थित भेडेटार प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। भेडेटारका पर्यटन व्यवसायीहरुले अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको बसाई लम्ब्याउन वर्षेनि फेस्टिवल अयाेजना गर्दै आएका छन्। बिशेष गरि भारतीय पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना भएको हो।

तीन दिने फेस्टिवलमा २० देखि ३० हजार पर्यटकहरु भेडेटार घुम्न आउने र १ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ। फेस्टिवलमा भेडेटार क्षेत्रमा उत्पादन भएको अर्गानिक खानेकुरा, कृषि, घरेलु उत्पादनको प्रवर्द्धन तथा स्टलहरु छन्। प्रत्येक दिन साँझ सांगीतिक कार्यक्रम पनि हुनेछ। भेडेटार घुम्न आउने पर्यटकहरुको लागि भेडेटार क्षेत्र र आसपासमा चार्ल्स भ्यु टावर, पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्यु टाँवर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुखलगायत पर्यटकीय गन्तव्यहरु पर्यटकको रोजाईका गन्तव्यहरु हुनेछन्।

प्रकाशित: १७ पुस २०७८ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App