२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सर्लाहीको नेपाल–भारत नाकामा तस्करकै रजगज

नेपाली उखु किसान वर्षौंदेखि भुक्तानी नपाएर खेतीबाट पलायन हुने अवस्था सिर्जना भएको छ। उखु खेतीबाट पलायन गराउने चिनी उद्योगीहरुले भारतबाट उखु तस्करी गराइरहेको पाइएको छ। सर्लाही प्रशासनको मिलोमतोमा भारतबाट दैनिक हजारौँ क्वीन्टल उखु नेपालतर्फ तस्करी भइरहेको देखिएको छ।

अवैध रुपमा भारतबाट उखु भित्र्याउनको लागि चिनी उद्योगीहरुले सीमा क्षेत्रमा नै दुई दर्जन जति उखु तौल गर्ने मेसिन काँटाको स्थापना गरेका छन्। भारतबाट अवैध रुपमा उखु तस्करी गराउन चिनी उद्योगहरुले सर्लाहीको बलरा तथा फेनहाराको दशगजा क्षेत्रमा करिब दुई दर्जन काँटा संचालनमा ल्याएका छन्।

साँझ छ बजेपछि भारतीय एसएसबिले डिउटी परिवर्तन गर्ने हुनाले अँध्यारोको फाइदा उठाएर भारतबाट उखुका ट्याक्टरहरु दशगजासम्म आउने गरेको र उखुसहितको टेलर त्यही छाडेर ट्याक्टरको इन्जिन लिएर भारततिर फर्केर जाने गरेको र त्यसपछि नेपाली ट्याक्टरको इन्जिनले दशगजाबाट भारतीय उखुको टेलर दशगजा क्षेत्रमा नै संचालित काँटामा तौलका लागि ल्याइने गरिएको पाइएको छ।  

सीमामा खट्ने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगले भारतबाट दैनिक हजारौँ क्वीन्टल उखु नेपालतर्फ तस्करी भइरहेको छ। चिनी उद्योगीसित मिलेर सर्लाही प्रशासनले खुलेआम तस्करी गराइरहेको पाइएको छ।

भारतबाट आएको उखु सर्लाहीको इन्दुशंकर सुगर मिल्स हरिवन, एभरेस्ट चिनी मिल्स गौशाला तथा रौतहटको पोखरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल मिल्समा पुग्ने गरेको स्थानीयको दाबी छ। सबैको मिलीभगतमा भारतबाट सोझै तस्करी भएर उखु नेपाली चिनी उद्योगमा पुगिरहेको स्थानीयहरु बताउँछन्।

काँटा संचालन गर्नुअघि नापतौल विभागबाट जाँचपास गरी सिल लगाएर उखु लैजानुपर्ने कानुनी प्रावधान रहेको भए पनि सर्लाही प्रशासनको मिलोमतोमा चिनी उद्योगहरुले बिचौलियामार्फत सोझै भारतीय उखु भित्र्याइरहेको आरोप लगाएका छन्। सर्लाहीको लक्ष्मीपुरमा राजेश ठाकुर, सुदामा अम्बु चौधरी, सिरकटा नाकामा ओकिह अहमद, सन्तोष सिंह, लक्ष्मीनाराण सिंह लगायतका बिचौलियाको माध्यमले भारतीय उखु अवैध रुपमा नेपाल भित्र्याएर चिनी उद्योगसम्म पुगिरहेको बलराका दिनेश सिंहले आरोप लगाएका छन्।

बलराका राजु सिंहले आफूहरुको खेतमा उखु सुकिरहेको तर चिनी उद्योगहरुले भारतबाट तस्करी गराएर अवैध रुपमा भित्र्याएको उखु खरिद गरी नेपाली उखु किसानलाई मार्ने काम गरिरहेको आरोप लगाएका छन्। चिनी उद्योगको व्यवहारले नेपाली उखु किसान दुखी भएको सिंहको भनाइ छ।

भारतीय उखु प्रतिक्वीन्टल चार सय रुपैयामा बिचौलियाहरुले खरिद गर्ने गरेको बुझिएको छ। भारतीय एसएसबिको उपस्थिति नभएको समयमा भारतबाट नेपालतिर उखु आउने गरेको र सीमामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई प्रति ट्याक्टर पाँच सय रुपैयाको दरले रकम दिएपछि नेपाली सुरक्षाकर्मीले सजिलै काँटासम्म ट्याक्टर आउन दिने गरेको गुनासो स्थानीयबासीको छ। स्थानीय राजेश सिंहले भारतबाट टायरगाडामा उखु ल्याउँदा नेपाली सुरक्षाकर्मीलाई प्रति टायरगाडा एक सय रुपैया बुझाउनु परिरहेको बुझिएको बताएका छन्।  

सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगका प्रमुख उखु प्रबन्धक योगनारायण रजकले आफ्नो उद्योगले दशगजा क्षेत्रमा उखु किन्ने काँटा नराखेको र भारतबाट उखु नकिनेको दाबी गरेका छन्।  

केही समय पहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुवै प्रहरी संगठनका महानिरीक्षक सर्लाही आएर राम्रोसँग काम गर्न निर्देशन दिएको भए पनि सर्लाहीको सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करी गराउनमा व्यस्त रहेको पाइएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भारतबाट भइरहेको उखु तस्करीको विषयमा अनभिज्ञता प्रकट गर्दै आफू भर्खरै आएकाले जानकारीमा नआएको बताएका छन्। भारतबाट उखु तस्करी कानुन विपरीत कार्य भएकोले यसलाई तत्काल रोक्नका लागि सुरक्षा निकायलाई निर्देशन दिने प्रजिअ गौतमले नागरिक न्युजलाई बताएका छन्।

प्रकाशित: १६ पुस २०७८ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App