१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

खै बिजुली?

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउन आग्रह गरिरहेका बेला सबैभन्दा बढी विद्युत् खपत हुने उपत्यकामा आपूर्ति भने खल्बलिएको छ। एक सातायता उपत्यकाका अधिकांश ठाउँमा नियमित आपूर्ति नहुँदा उपभोक्ताले ‘खै बिजुली?’ भन्न थालेका छन्।

पूर्वसूचनाबिनै झ्याप्प–झ्याप्प बिजुली जाने समस्या ह्वात्तै बढेपछि उपभोक्ताले यस्तो प्रश्न गर्न थालेका हुन्। दुई–तीन दिनयता उपत्यकामा छिन–छिनमा बिजुली जाने समस्या देखिएको हो। बिजुली जाने र आउने निश्चित नभएसँगै जाडोमा उपत्यकाबासी अँध्यारोमै बस्न बाध्य छन्। यसले नियमित रूपमा भरपर्दाे तथा गुणस्तरीय बिजुली आपूर्ति गर्न प्रयत्नशील रहेको प्राधिकरणको दाबी फिका हुँदै गएका छ।

दुई दिनयता काठमाडौंसहित मुलुकभर पानी परिरहेको छ। पानी परेको बेला बिजुली माग घटे पनि आपूर्तिमा समस्या हुँदा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या बढेको हो।

अहिले कतै कतै त दिनमा १०–१२ पटकसम्म बिजुली जाने समस्या छ। प्राधिकरणले भने समस्या समाधान गर्न सकिरहेको छैन। बानेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने बानेश्वर, कोटेश्वर महादेवस्थान क्षेत्रमा विगत तीन दिनदेखि विहान–बेलुका लगातार लोडसेडिङ भइरहेको छ। यतिबेला राजधानीका अधिकांश क्षेत्रका उपभोक्ताको समस्या उस्तै छ– जति बेला पनि बिनासूचना बत्ती जाने।

पेप्सीकोला टाउन प्लानिङको एक भागमा बुधबार साँझ ६ बजेदेखि २४ घन्टासम्म बिजुली नआएको स्थानीय टेकराज ज्ञवालीले जानकार दिए। उनले यसबारेमा प्राधिकरणमा पुगेर बुझ्दा ट्रान्सफर्मर तयार भइरहेको जानकारी पाएको बताए।

काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित महादेव स्थानका शालिक शर्माले दिनदिनै बिजुली काटिँदा आजित भएको बताए। ‘अहिले कोटेश्वर क्षेत्रमा साँझमा अघोषित लोडसेडिङ जस्तै भइरहेको छ। बुधबार साँझदेखि गएको बिजुली बिहीबार बिहानमात्रै आयो। बिहीबार दिउँसो पनि बिजुली जाने–आउने समस्या कायमै छ,’ उनले भने, ‘बिजुली कुन बेला आउँछ र कुन बेला जान्छ निश्चित छैन। लोडसेडिङ गर्ने नै हो भने निश्चित समय तोकेर गरे भइहाल्यो नि!’

शर्मा मात्रै होइन, अधिकांश राजधानीबासी पटक–पटक विद्युत् अवरुद्ध हुने समस्याबाट आजित छन्। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई ओभरलोडको कारणले झ्याप्प–झ्याप्प बिजुली जाने समस्या भइरहेको बताउँछन्। ‘कतै ट्रान्सफर्मरहरू ओभरलोडेड भएका छन्,कतै एमसिजी गएका छन्। कतै कन्डक्टर ड्यामेज भएर पनि झ्याप्प–झ्याप्प बिजुली जाने समस्या भइरहेको हो,’ उनले भने, ‘विगतको तुलनामा काठमाडौं उपत्यकामा ७०–८० मेगावाट माग बढेकाले पनि बिजुली अवरुद्ध हुने समस्या भएको हो।’

प्राधिकरणका अनुसार पहिला उपत्यकामा पिक आवरमा ३८० देखि ४०० मेगावाट माग हुने गथ्र्याे। अहिले चार सय ५० मेगावाटभन्दा धेरै माग छ। प्रवक्ता भट्टराईले पुरानो बिजुलीका संरचनामा फिडर, ट्रान्सफर्मर र एमसिबी सर्टसर्किट हुँदा समस्या आएको बताउँछन्। प्राधिकरणका अनुसार पछिल्लो समय इन्टरनेट सेवा प्रदायक कम्पनीका तारमा सर्टसर्किट भएर पनि समस्या थपिँदै आइरहेको छ।

प्रवक्ता भट्टराई अहिले दैनिक ५–७ वटा ट्रान्सफर्मर ओभरलोडले पड्किने गरेको दाबी गर्छन्। ‘समस्या आएपछि मर्मतसम्भार गर्न कति समय लाग्छ भन्ने ठेगान हुँदैन,’ उनले भने। प्राधिकरणका अनुसार वर्षा हुनुअघिसम्म बिजुली माग दैनिक १७ सय मेगावाट रहेको थियो।

वर्षाका कारण बिजुलीको माग घटेर साढे १५ सय मेगावाट भएको छ। अहिले भारतबाट दैनिक सरदर ६ हजार मेगावाट आवर बिजुली आयात भइरहेको छ।

प्राधिकरणका अनुसार अहिले पिक आवरमा करिब १६ सय ९९ मेगावाट माग छ। प्राधिकरणको तथ्यांक अनुसार प्राधिकरण मातहतका आयोजनाबाट दैनिक ८९०१ मेगावाट आवर, प्राधिकरणको सहायक कम्पनीबाट ४५ सय १४ मेगावाट आवर, निजी क्षेत्रको प्रवद्र्धक कम्पनीबाट ९४ सय ५ मेगावाट आवर र भारतबाट आयात ७१ सय ९ मेगावाट आवर आपूर्ति छ। अहिले ३५ मेगावाट आवर बिजुली अवरुद्ध भइरहेको छ। कुल इनर्जी डिमान्ड २९ हजार ८ सय ६५ मेगावाट आवर छ।

प्रकाशित: १६ पुस २०७८ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App