१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सहकारीको १२ करोड अपचलन काण्डः चाटर्ड एकाउन्टेन्ट तानिए, १५ वटा बैंक तथा बित्तीय संस्थासँग विवरण माग

तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारीको १२ करोड रकम अपचलन तथा हिनामिना मुद्धामा चाटर्ड एकाउन्टेन्टसमेत तानिएका छन्। बचतकर्ताकाहरुको रकम हिनामिनापछि अदालतमा सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाबिरुद्ध संगठितरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिना ठगी गरेको तथा संगठित अपराध मुद्दा एक वर्षदेखि चलिरहेको छ।

अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले लेखा परीक्षण प्रतिवेदन तयार गर्ने बीपी सिंह एन्ड एसोसिएट्सलाई हाजिर हुन निर्देशन दिएको श्रेस्तेदार सुमन पाण्डेयले बताए। जिल्लाको तौलिहवास्थित २ लेखापरीक्षकले सहकारीको लेखा परीक्षण प्रतिवेदन तयार पारेपछि बिपि सिंहले सही गर्ने गरेको सहकारी श्रोतले जनाएको छ।

चार्टर एकाउन्टेन्टलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित हुन आदेश भएको श्रेस्तेदार पाण्डेयले बताए। बैंक तथा बित्तीय संस्थामा रकम अपचलन भएको यो जिल्लाकै सबैभन्दा ठूलो काण्ड हो।

यस्तै सहकारीले कारोबार गर्दै आएका १५ वटा बैंकमा रहेका खाता नम्बर र वासलातको विवरण समेत पठाउन आदेश दिएको छ। बैंक अफ काठमाडौँ लिमिटेड बुटवल, राष्ट्रिय बाणिज्य बैक, कृषि विकास बैक, कल डिपोजिट, नेपाल ईन्टरनेशनल बैक अफ भैरहवा, एभरेष्ट फाईनान्स भैरहवा, एभरेष्ट बैंक लि. भैरहवा, लक्ष्मी बैंक भैरहवा सिद्धार्थ बैंक लि. बुटवलमा रहेको खाताको बिवरण माग गरिएको छ।

यस्तै एभरेस्ट फाईनान्स लि., रेमिटेन्स तौलिहवा, मेघा बैंक, एभरेस्ट फाईनान्स लि. तौहिलवा, एभरेस्ट बैंक तौलिहवा, तिनाउ मिशन डिभलोपमेन्ट बैंक तथा आईएमईका अप्रेशन सेवामा भएका खाता नम्बरहरुको बिवरण अदालतले माग गरेको हो।

सहकारीमा रकम अपचलन भएको आरोपमा ४ जना कर्मचारीहरु राजेश कुमार कान्द्, श्रवण कुमार तेली, अविनाश पाण्डेय र राकेश ठाकुर पुर्पक्षका लागि कारागारमा थुुनामा छन्।

यस्तै ५३ जनामध्ये एक जना आरोपी राम केवल मिश्राको मृत्यु भइसकेको छ। ३ जना विदेशमा रहेको आरोपीको मुद्धा मुल्तबीमा राखिएको छ। अढाई वर्षअघि रकम अपचलनको काण्ड बाहिर आए पनि प्रहरीले अनुसन्धानपछि २०७७ पुस १२ गतेमात्र मुद्धा दर्ता गरेको थियो।

सो हिनामिनामा २०६६ साल यताका कर्मचारी र कार्य समितिका पदाधिकारी, कर्मचारीहरु मुछिएका छन्। अदालतले अधिकांशलाई धरौटी राखेर मुद्धाको फैसला नभए सम्मका लागि रिहा गरेको छ। सहकारीमा ११ करोड ९९ लाख ५३ हजार ८२६ रुपैयाँ अपचलन भएको प्रहरी प्रतिबेदनमा छ।  

प्रकाशित: १५ पुस २०७८ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App