१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

क्यान इन्फोटेक माघ १८ देखि

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघले क्यान इन्फोटेकको २७औं संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन तथा त्यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति अन्तर्क्रिया गर्ने उद्देश्यले बर्सेनि आयोजना हुँदै आएको मेलाका लागि अन्तिम तयारी भइरहेको महासंघले जनाएको छ।

यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरूपमा आयोजना गरिने महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धी कम्पनीको सहभागिता रहनेछ।

प्रदर्शनीलाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला उपकरण अवलोकन तथा खरिद गर्न पाउने महासंघका महासचिव नारायण थापाले बताए। प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगबारे जानकारी लिने विशेष थलो पनि हुने आयोजकको दाबी छ।

क्यान इन्फोटेक २०२२ मा ब्रान्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाई तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न कक्ष रहनेछन्।

इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सोलार पावर सिस्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, सिसिटिभी र हार्डडिस्क, आइओटी राख्ने भएका छन्।

त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन्।

क्यान इन्फोटेकको २६औं संस्करण करिब साढे तीन लाखले अवलोकन गरेकामा यो संस्करणमा समेत सोही संख्यामा अवलोकनकर्ता आउने अपेक्षा आयोजकको छ। क्यान इन्फोटेक २०२२ का लागि सोमबारदेखि स्टल बुकिङ खुला हुने जनाइएको छ।

प्रकाशित: १२ पुस २०७८ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App