२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फलाम खानीको सम्भाव्यता अध्ययन सुरु

बैतडीको दक्षिणीपूर्वी पुर्चौडी नगरपालिकाको मल्लादेही र कोटिलामा फलाम खानीको सम्भाव्यता अध्ययन सुरु भएको छ। खानी तथा भूगर्भ विभागले फलाम खानीको अध्ययन सुरु गरेको हो। केही वर्ष अघिसम्म स्थानीयले खानीबाट फलाम निकाल्ने गरेका थिए।

स्थानीय स्रोतसाधन प्रयोग गरी फलाम निकालिएको पाँच सयभन्दा बढी खाल्डा रहेका छन्। ८ देखि १० मिटर गहिराइमा रहेका खाडल फलाम निकाल्न छोडेपछि फलाम खानी ओझेलमा रहेको थियो।

पुर्चौडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा रहेको फलाम खानीको टोलीले भूगर्भविद्को टोलीले सम्भाव्यता अध्ययन सुरु गरिसकेको खानी तथा भुगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताए।

दुई तरीकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने उनले बताए। इलेक्ट्रीकल रेसिस्टीभीटी र म्याग्नेटिक सर्भेबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने कँडेलले बताए। उनले भने, ‘हामीले पहिला फलाम निकालेको ठाउँमा फलाम छ कि छैन् भनेर जमिनमुनि करेन्ट प्रवाह गरेर पत्ता लगाउँछौं। यस्तै म्याग्नेटिक सर्भे पनि गर्छौं।’

टोलीले एक महिनासम्म फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने बताएको छ। खानी तथा भूगर्भ विभाग लैनचौर काठमाण्डौंबाट पुगेको टोलीमा कँडेलसहित जियोलोजिष्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली पनि रहेका छन्।

परम्परागत रुपमा सञ्चालनमा रहेका खानीहरु लामो समयदेखि बन्द रहेका थिए। फलाम खानीको सम्भाव्यता अध्ययन कार्य सुरु भएसँगै स्थानीयहरुले रोजगारी पाउने आशा गरिएको छ। फलाम खानी उत्खननको काम अगाडि बढे यहाँका स्थानीयले लाभ पाउने वडा नं. ७ का वडाध्यक्ष रामबहादुर ऐरले बताए।

जिल्लाका अन्य ठाँउमा पनि विभिन्न खनिज पदार्थको खानी रहेका छन्। अध्ययन नहँुदा ती खानी ओझेलमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए। कुवाकोट, भटना, महारुद्र, सलेनालगायत क्षेत्रमा फलाम खानी, चौलानी र जमाडी नदी किनारमा सुन, कटौजपानी र मल्लदेहीमा गन्धक पाइने गरेको स्थानीय बताउँछन्। तर सम्भाव्यता अध्ययन हुन सकेको छैन।

प्रकाशित: ११ पुस २०७८ १०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App