२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

२३औं पोखरा सडक महोत्सव पुस १५ देखि १७ सम्म

२३औं पोखरा सडक महोत्सवबारे जानकारी दिन शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन। तस्बिरः नागरिक

अंग्रेजी नयाँ वर्षको स्वागत र पुरानो वर्ष बिदाइको अवसर पारेर सञ्चालन हुँदै आएको पोखरा सडक महोत्सवको निम्तो दिन पोखराका पर्यटन व्यवसायी काठमाडौं आइपुगेका छन्।  

रेस्टुरेन्ट एन्ड बार एसोसिससन (रेबान) को मुख्य आयोजनामा पुस १५ देखि १७ गतेसम्म २३औं संस्करणको सडक महोत्सव हुन लागेको हो। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रेबानले महोत्सवको तयारी पूरा भएको जनाएको छ।

महोत्सवका संयोजक नरेश भट्टराईका अनुसार आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो। खाना, संगीत र संस्कृतिको बेजोड संगम रहने महोत्सव लेकसाइडको ३ किलोमिटर खुला सडकमा आयोजना हुनेछ। महोत्सवले पोखरामा पर्यटकीय आकर्षण बढाउने र समग्र पोखरा क्षेत्रको विकासमा समेत योगदान पुग्ने उनको विश्वास छ।

‘सडकमै खाउँ, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ यस वर्षको सडक महोत्सवको तयारी पुरा भएको छ,’ उनले भने, ‘स्थानीय कला र संस्कृति संरक्षणसँगै कोभिडले सुस्त पारेको पर्यटनलाई आन्तरिक पर्यटन प्रवद्र्धनलाई अझै उचाइमा पुर्‍याउन बल पुग्नेछ। पछिल्लो नौ महिनादेखि थलिएको पर्यटनलाई चलायमान बनाउन महोत्सव कोशेढुंगा साबित हुने उनको भनाइ छ। अन्य समयमा पोखरा घुम्न जाने पाहुनाभन्दा यो अवधिमा पुग्नेले ‘पोखरा त साँच्चिकैको पोखरा नै रै’छ’ भन्ने यथार्थ बुझ्न पाउनेसमेत उनको दाबी छ।

सडक महोत्सवका अवसरमा पोखराका पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलक्षित छुट प्याकेज घोषणा गरेका छन्।

रेबान (काठमाडौं) का अध्यक्ष अरनिको राजभण्डारीले महोत्सवमार्फत लाइफ टाइम एचिभमेन्टको अवधारणालाई थप बल पुग्नेमा जोड दिए। काठमाडौंको इन्द्रजात्रा, लाखेनाच, बज्रयोगिनी जात्रा जस्तै पोखराको सानको रूपमा स्थापित भइसकेको यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई पोखरा पुर्‍याउन सहयोग गर्दै आएको उनले बताए।

महोत्सवले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने बताउँदै पाहुना स्वागत गर्न पर्यटन व्यवसायी तयार रहेको सन्देशसमेत यो महोत्सवले दिएको उनको भनाइ छ। ‘काठमाडौंमा पर्यटन पुनरुत्थानको लागि यस्ता ठूला आयोजना गर्न नसके पनि नेपाली नयाँ वर्षलाई आधार बनाएर राजधानीको दरबारमार्गमा समेत पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रमको तयारी भइरहको छ,’ उनले भने, ‘पोखरा महोत्सवले ढलेको पर्यटन व्यवसाय र सुस्ताएका देशभरका पर्यटन व्यवसायीलाई झक्झक्याउन सहयोग पुग्नेछ।’

त्यस्तै, रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालका अनुसार यस वर्षको महोत्सव दैनिक एक लाखभन्दा बढीले अवलोकन गर्ने विश्वास गरिएको छ। महोत्सवकै लागि पोखरामा झन्डै ३० हजार र पोखरा आसपासका क्षेत्रमा १० हजार बेड तयार रहेका उनले बताए। कोठाको शुल्क महँगो लिएको भन्ने विगतको गुनासोलाई सम्बोधन गर्न निरीक्षण समितिको समेत व्यवस्था गरिएको उनको भनाइ छ।

स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गर्न लागिएकाले सडकका विभिन्न ठाउँमा डिस्प्ले बोर्ड राखेर महामारीबारे सचेतना दिने, ठाउँ–ठाउँमा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको उनको भनाइ छ। ‘सयजना भन्दा बढी स्वयंसेवक सडकमा खटिएर आगन्तुकलाई सहजीकरणमा सहयोग गर्नेछन्,’ उनले भने। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा घुम्न जाने पर्यटकले अन्य समयको तुलनामा निकै मनोञ्जन लिने तथा विविध सुविधा उपभोग गर्न पाउने उनले बताए।  

‘महोत्सवमा सहभागी पाहुनालाई उत्कृष्ट सेवा दिन महोत्सव अवधिका लागि पर्यटन व्यवसायीले विविध प्याकेज सार्वजनिक गरिरहेका छन्,’ अध्यक्ष बरालले भने, ‘होटलहरूले आफ्नो सेवामा ३० दखि ३५ प्रतिशतसम्म छुटका योजना सार्वजनिक गरेका छन भने प्याराग्लाइडिङ लगायत एडभेन्चर्ससँग सम्बन्धित व्यवसायीले महोत्सवलाई नै आधार बनाएर ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन्।’ हाल एकजनाले प्याराग्लाइडिङ गर्दा ६ हजार शुल्क लाग्ने गरेको छ।

त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपि भट्टराईले ‘सडकमै खाउँ, सडकमै रमाउँ’ नाराका साथ महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारको प्रदर्शनी, विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनीले सबै आगन्तुकको मन जित्ने विश्वास व्यक्त गरे। यस्ता महोत्सवले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनुका साथै पोखरालाई पर्यटकको ब्रान्ड सिटीको रूपमा विकास गर्न सहयोग पुग्ने उनको भनाइ छ। गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍यालीले थप रौनकता प्रदान गर्ने उनको भनाइ छ।

महोत्सवमा दोहोरी प्रतियोगिता, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, ह्विल चियर रेस, संस्थागत भलिबल प्रतियोगिता, टग अफ वार लगायत गतिविधि समावेश गरिएको छ। गत वर्ष कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सतर्कतासहित भव्य महोत्सव आयोजना गरिएको थियो। अहिले अधिकांशले खोप लगाएकाले र कोरोनाको त्राससमेत कम हुँदै गएकाले २३औं महोत्सव अझ सफल हुने विश्वास गरिएको छ। महोत्सवबाट पोखरा सुरक्षित र पर्यटकको सत्कारका लागि खुला रहेको सन्देश प्रवाह हुनेछ।

दुई दशकभन्दा बढी समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुर्‍याउँदै आएको महोत्सवले विभिन्न राजनीतिक अस्थिरता, २०७२ को भूकम्प, नाकाबन्दीजस्ता समस्याका बाबजुद मनोरञ्जनात्मक खेलकुद, हस्तकला, कृषि उपज प्रदर्शनी साथै पोखराका रमणीयस्थलको वृत्तचित्रसमेत प्रदर्शनी गर्दै आएको छ। महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको संयोजकत्वमा सचिव भीष्मराज पौडल र सहकोषाध्यक्ष रोशनजंग कार्की सहसंयोजक रहने गरी विभिन्न उपसमिति गठन गरिएको छ।

यसपटकको महोत्सवमा अफिसियल मिडियाको रूपमा नेपाल रिपब्लिक मिडिया (नागरिक) रहेको छ। त्यस्तै, मुख्य प्रायोजकमा टुबर्ग वियर र रुस्लान भोड्का, सहायक प्रायोजकमा कोकाकोला नेपाल रहेको छ। महोत्सवलाई रियल जुसको सहयोग, हेलिकप्टर पार्टनरमा कैलाश हेलिकप्टर, फुड डेलिभरी पार्टनरमा फुडमाडौं, अफिसियल बैंकमा सिद्धार्थ र एनएमबि बैंक, अफिसियल पेन्टमा बर्जर पेन्ट र इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन रहेका छन्।

प्रकाशित: ११ पुस २०७८ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App