४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

भेरी–बबई आयोजनाः तेस्रो चरण अन्तर्गत हाइड्रोमेकानिकलको काम सुरु

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो प्याकेज अन्तर्गत हाइड्रोमेकानिकलको काम सुरु भएको छ। हाइड्रोमेकानिकलका लागि चिनियाँ निर्माण कम्पनी ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङसँग सम्झौता भएको छ।

पहिलो चरण अन्तर्गत टनेल निर्माण सम्पन्न गरेको आयोजनाले दोस्रो चरण अन्र्तगत सिभिल स्टक्चरका कामहरू गरिरहेको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पवन अधिकारीले तेस्रो चरणका कामहरू केही दिनभित्रै सुरु हुने जनाए।

‘हाइड्रोमेकानिकलका कामहरू गर्नका लागि चिनियाँ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९ सय १६ रूपैयाँमा सम्झौता भएको छ,’अधिकारीले भने, ‘कार्यादेश पनि दिइसकेकाले केही दिनभित्रै काम सुरु हुने अपेक्षा लिएका छौं।’ हाइड्रोमेकानिकल अन्तर्गत बाँधस्थल चिप्लेमा गेट, विद्युत् उत्पादन हुने स्थान बबईमा पेनस्टक पाइप र भल्वहरू जडान हुनेछन्।

सिडिई अधिकारीका अनुसार बाँधस्थलमा १५.५ मिटर चौडाई र १३ मिटर उचाइका ६ वटा गेट निर्माण हुनेछन् भने इन्टेकतर्फ पनि ६ वटा प्लटिङ गेट निर्माण गरिने छ।

यस्तै विद्युत् उत्पादन हुने बबईको हात्तीखालमा टनेलको प्रवेशद्वारदेखि विद्युत्गृहसम्म ९ सय मिटर लामो पेनस्टक पाइप र भल्व जडान गरिने छ। ‘तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरेर यसको सम्झौता गरिएको छ,’ उनले भने, ‘समयमै काम सम्पन्न हुनेमा हामी विश्वस्त छौं।’ आयोजनाले इलेक्ट्रोमेकानिकलको पनि ठेक्का प्रक्रिया सुरु हुँदै छ। ‘आयोजना कार्यालयकातर्फबाट सबै प्रक्रिया पूरा गरेर सिँचाइ विभागमा फाइल पठाएका छौं,’उनले भने,‘केही दिनभित्रै विभागले प्रक्रिया पुर्‍याएर ठेक्का आह्वान गर्छ।’ इलेक्ट्रोमेकानिकल अन्र्तगत टर्वाइन र जेनेरेटर जडानलगायतका कामहरू हुने छन्। आयोजनाले हालसम्म ४९.५ प्रतिशत भौतिक प्रगति गरेको जनाएको छ। ३६ अर्ब ८० करोड ७७ लाख रूपैयाँ लागत अनुमान गरिएको यो आयोजनाले ३८.३१ प्रतिशत वित्तिय प्रगति गरेको छ।

४९.५ प्रतिशत काम सम्पन्न

आयोजनाले कात्तिक मसान्तसम्म समग्र भौतिक प्रगति ४९.५ प्रतिशत काम सम्पन्न भएको छ। भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ २०६१ सालदेखि सुरु भएको आयोजना अन्र्तगत अहिले दोस्रो र तेस्रो प्याकेजको काम भइरहेको छ।

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिविएम) मार्फत १२.२ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको आयोजनाले दोस्रो प्याकेज अन्तर्गत बाँध (ड्याम) र विद्युतगृह (पावरहाउस) निर्माणको गरिरहेको छ। तेस्रो प्याकेज अन्तर्गत हाइड्रोमेकानिकलको काम पुस १५ दित्रै सुरु हुँदैछ।

दोस्रो प्योकज अन्र्तगत विद्युतगृह र बाँध निर्माणका लागि सिँचाइ विभागले २०७६ साउन १३ गते रमण–ग्वाङ्डोन जेभीसँग ६ अर्ब १६ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। यो अवधिमा निर्माण कम्पनीले ३५ प्रतिशत वित्तिय प्रगति गरेको छ।

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भेरी नदीको चिप्लेमा बाँध निर्माण, बाँधस्थलमा सेटलिङ बेसिन र विद्युतगृह निर्माणका लागि जग खन्ने काम भइरहेको बताए।

नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिनमार्फत बबईको हात्तीखालदेखि भेरीको चिप्लेसम्म १२.२ किलोमिटर सुरुङ चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक) ले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघिनै सम्पन्न गरेको थियो।

२०७४ कात्तिक २० गते विद्युतगृह निर्माणस्थल हात्तीखालबाट प्रवेश गरेको टिविएमले २०७६ चैत १५ गतेभित्र सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। निर्धारित समयभन्दा करिब एक वर्षअघिनै टिविएम चिप्लेस्थित भेरी नदी किनारमा निस्केको थियो। २०८० सालसम्ममा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोनाका कारण आयोजना सम्पन्न हुन केही समय लाग्नेछ।

प्रकाशित: ५ पुस २०७८ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App