४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रदेश २ मा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच नेपालमा निर्माण क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासनी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्र्क चोङ सुकले सो सझदारीपत्रमा हस्ताक्षर गरे।

प्रदेश नं २ को महोत्तरीमा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत कोरिया सरकारले ८.६ मिलियन अमेरिकी डलर (करिब एक अर्ब तीन करोड नेपाली रुपैयाँ) अनुदान दिनेछ।

उक्त परियोजनापश्चात नेपाल र विश्वबजारमा माग हुने निर्माण क्षेत्रका दक्ष जनशक्तिको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग मिल्नेछ। बढ्दो बेरोजगारी समस्या मुलुकको चुनौतीका रुपमा देखा परेको वर्तमान परिस्थितिमा पोलिटेक्निक इन्स्टिच्युटको स्थापनाले सीपयुक्त जनशक्तिको आवश्यकता परिपूर्ति हुने अर्थ मन्त्रालयले जनाएको छ।

हस्ताक्षर समारोहमा अर्थ सचिव मरासनीले मुलुकमा व्याप्त दक्षजनशक्ति अभावको समस्यालाई न्यूनीकरण गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे। सीपयुक्त जनशक्तिको उत्पादनबाट स्वरोजगारको वातावरण बन्ने छ।

त्यस्तै वैदेशिक रोजगारीमा जानेले आकर्षक सेवा सुविधा पाउने र मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ। प्रदेश नं २ बाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अधिक रहेको अवस्थामा सो प्रदेशमा पोलिटेक्निक इन्स्टिच्युट स्थापनाले सीप सिकेर विदेश जान सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे। समारोहमा नेपालका लागि कोरियाका राजदूत पार्कले नेपालको विकासमा कोरिया सरकारले विभिन्न सहयोग गर्दै आएको बताएका थिए। रासस

प्रकाशित: २९ मंसिर २०७८ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App