१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कहाँ पुग्ला सेयर बजार?

अघिल्लो दिन झन्डै ८९ बिन्दुले घटेको सेयर परिसूचक सोमबार पुनः ७९ बिन्दुभन्दा बढीले घटेपछि सेयर बजारको गिरावट कुन हदमा पुग्ला भन्ने प्रश्न उब्जेको छ। जबकि सेयर लगानीकर्ता यो बेला नेप्सेमा गिरावट आउनुपर्ने कुनै कारण नभएको बताइरहेका छन्।

सेयर बजारका लगानीकर्ताका लागि यो समय बाली भित्र्याउने बेला जस्तै हो। यो बेला अधिकांश कम्पनीले गत आवको कमाइबाट बोनस घोषणा गर्छन् भने त्यस्तो बोनस लगानीकर्ताले पाउँछन्। अधिकांश सूचीकृत कम्पनीको बुक क्लोज पनि भइसकेको छैन।

भदौ ३ पछि करिब चार महिनाको अवधिमा नेप्से झन्डै नौ सय बिन्दुभन्दा बढीले घटिसकेको छ। भदौ ३ गते कीर्तिमानी बिन्दु छोएको परिसूचक नेप्से सोमबार बजार बन्द हुँदा २२८२ मा कायम भएको छ। यो भनेको चार महिनाभन्दा कम अवधिमा ९२१ बिन्दुको गिरावट हो।  

नेपाल राष्ट्र बैंकले चालु आवका लागि सार्वजनिक गरेको मौद्रिक नीतिपछि पुँजी बजार ओरालो लाग्ने क्रम सुरु भएको हो। सेयर लगानीकर्ता भने यतिखेर सरकारी निकायको व्यवहारबाहेक अन्य कारणले पुँजी बजार ओरालो लाग्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।

‘सूचीकृत सबै कम्पनीले राम्रो प्रतिफल घोषणा गरेका छन्। छिमेकीलगायत थुप्रै मुलुकमा सेयर बजार बढेको छ,’ नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘त्यसैले अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण छैन।’ उनले सरकारी निकायको रवैयामा भने सुधार हुनुपर्ने माग गरे। 

पुँजी बजार सेन्सेटिभ हुने उल्लेख गर्दै उनले सरकारमा बस्नेहरूले जथाभावी बोल्दा केही समस्या देखिएको दाबी गरे। कतिपयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्माको सेयरप्रति सकारात्मक धारणा नहुँदा नेप्सेमा गिरावट आएको तर्क गर्छन्।

तर विज्ञहरू बजारमा कुनै व्यक्तिले बोलेको भरमा मात्रै पहिरो जानुको अर्थ नेपाली सेयर बजार अझै पनि परिपक्व छैन भन्ने सन्देशको रूपमा बुझ्नुपर्ने बताउँछन्। ‘सेयर बजार सञ्चालनको आफ्नै प्रक्रिया हुन्छ,’ती विज्ञले भने, ‘कोही नेताले सेयर बजार राम्रो वा नराम्रो भन्दैमा त्यसको बजारमा कुनै अर्थ हुँदैन।’

कतिपय लगानीकर्ता राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एउटा वित्तीय संस्थाबाट चार करोड र सबै वित्तीय संस्थाबाट बढीमा १२ करोड रूपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाइने व्यवस्था गरेपछि समस्या आएको बताउँछन्।

चालु आवको मौद्रिक नीतिपछि सेयर लगानीकर्ताले करिब १० खर्ब रूपैयाँ गुमाइसकेको उनको भनाइ छ। ‘जनसंख्याको करिब १५ प्रतिशत सहभागी सेयर बजारमा दिनहुँ गिरावट आउँदा लगानीकर्ता घर न घाटका हुने अवस्था आएको छ,’ उनले भने,‘त्यसैले यसबारे नियामक निकायले सोच्न जरूरी छ।’

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै साना लगानीकर्ताले पनि कर्जा पाउन सकून् तथा बैंकको लगानी उत्पादनमूलक क्षेत्रमा जाओस् भनेर सेयर कर्जामा कडाइ गर्न खोजेको थियो। त्यसअघि लगानीकर्ताले जतिसुकै सेयर कर्जा लिनसक्ने व्यवस्था थियो। मौद्रिक नीतिमा लगानीकर्ताले एउटा वित्तीय संस्थाबाट चार करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट १२ करोड रूपैयाँसम्म सेयर कर्जा लिन पाउने नियम बनाएको थियो।

विगतमा एक व्यक्तिले कर्जा लिन पाउने व्यवस्थालाई समेत परिवर्तन गरी परिवारमा एकजनाले मात्र यस्तो कर्जा लिन पाउने व्यवस्था गरिएको छ। विगतमा तोकिएभन्दा बढी कर्जा लिएको भए एक वर्षभित्र त्यसलाई मिलाउनु पर्ने समेत नीति बनेपछि लगानीकर्तालाई समस्या परेको बताइन्छ। हालसम्म बैंक तथा वित्तीय संस्थाले करिब ९५ अर्ब रूपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्।

ठूलो रकम सेयरमा लगानी भएको भन्दै नियामक निकायले कडाइ गर्न खोजेको हो। राष्ट्र बैंकका अधिकारी सेयर कर्जामा लगानी बढ्दा त्यसको असर उत्पादनमूलक क्षेत्रले पर्याप्त लगानी नपाउने आँकलन गर्छन्। साताको पहिलो कारोबारमा नेप्से परिसूचक ओरालो लाग्नुका साथै सेयर कारोबार रकम पनि खुम्चिएको छ।

‘राष्ट्र बैंकले साउन २९ मा चालु आवको मौद्रिक नीति सार्वजनिक गरेको थियो। भदौ ३ मा पुँजी बजारले ३२०० को कीर्तिमानी बिन्दु छोएको थियो। सोमबार ७९.२३ बिन्दुले घटेपछि नेप्से २२८२ कायम भएको छ।

राष्ट्र बैंकका अधिकारीहरू भने पुँजी बजारको उतारचढावसँग केन्द्रीय बैंकलाई जोड्नुको कुनै अर्थ नहुने बताउँछन्। पछिल्लो समयमा सेयरप्रति आकर्षित हुने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ। एक वर्षको अवधिमा सेयर कारोबारका लागि हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या करिब दोब्बरले बढेर ४२ लाख नाघेको छ।

त्यस्तै ३२ लाखले मेरो सेयर लिएका छन्। नौ लाखले हरेक दिनजसो अनलाइनमार्फत सेयर कारोबार गर्ने गर्छन्। गत वर्ष सेयर बजारबाट सरकारले १४ अर्ब २३ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। कुल ४४ खर्ब रूपैयाँ हाराहारीमा पुगेको पुँजी बजार यतिखेर करिब ३४ खर्ब रूपैयाँभन्दा तल झरेको छ।

प्रकाशित: २८ मंसिर २०७८ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App