१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एकै दिन ८९ अंकले घट्यो नेप्से

सेयर बजारका लागि यतिखेरको समय बाली भित्र्याउने बेला जस्तै हो। किनकि अधिकांश कम्पनीहरूले गत आर्थिक वर्षको कमाइबाट बोनस घोषणा गर्ने र त्यस्तो बोनस लगानीकर्ताले यही बेला प्राप्त गर्छन्।

तर अहिले यही बेला सेयर बजार ओरालो लागिरहेको छ। सेयर बजारमा निरन्तर पहिरो जाने क्रम नरोकिएपछि साताको पहिलो कारोबार आइतबार सेयर बजार परिसूचक नेप्से ८८.७० बिन्दुले घट्न पुगेको छ। उच्च गिरावटपछि नेप्से दुई हजार तीन सय ६१.२७ बिन्दुमा झरेको छ। १० महिनाअघिको बराबर हो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिपछि पुँजीबजार ओरालो लाग्ने क्रम सुरु भएको हो। सेयर लगानीकर्ताहरू भने यतिखेर सरकारी निकायको व्यवहारबाहेक पुँजीबजार ओरालो लाग्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।

‘सूचीकृत सबै कम्पनीले राम्रो प्रतिफलको घोषणा गरेका छन्। छिमेकी लगायतका थुप्रै मुलुकमा सेयर बजार बढेको छ,’ नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘त्यसैले अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण छैन।’ उनले सरकारी निकायको रवैयामा भने सुधार हुनुपर्ने माग गरे। 

पुँजीबजार निकै गम्भीरतापूर्वक (सेन्सेटिभ) चलेको उल्लेख गर्दै उनले सरकारमा बस्नेहरूले जथाभावी बोल्दा केही समस्या देखिएको दाबी गरे। कतिपय लगानीकर्ता राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एउटा वित्तीय संस्थाबाट चार करोड र सबै वित्तीय संस्थाबाट बढीमा १२ करोड रूपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाइने व्यवस्था गरेपछि समस्या आएको बताउँछन्। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि सेयर लगानीकर्ताले करिब १० खर्ब रूपैयाँ गुमाइसकेको उनको भनाइ छ। ‘जनसंख्याको करिब १५ प्रतिशत सहभागी सेयर बजारमा दिनहुँ गिरावट आउँदा लगानीकर्ता घर न घाटका हुने अवस्था आएको छ,’उनले भने, ‘त्यसैले यसबारे नियामक निकायले सोच्न जरूरी छ।’

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै साना लगानीकर्ताले पनि कर्जा पाउन सकून् तथा बैंकको लगानी उत्पादनमूलक क्षेत्रमा जाओस् भनेर सेयर कर्जामा कडाइ गर्न खोजेको थियो। त्यसअघि लगानीकर्ताले जतिसुकै सेयर कर्जा लिन सक्ने व्यवस्था थियो। मौद्रिक नीतिमा लगानीकर्ताले एउटा वित्तीय संस्थाबाट चार करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट १२ करोड रूपैयाँसम्म सेयर कर्जा लिन पाउने नियम बनाएको थियो।

विगतमा एक व्यक्तिले कर्जा लिन पाउने व्यवस्थालाई समेत परिवर्तन गरी परिवारमा एकजनाले मात्र यस्तो कर्जा लिन पाउने व्यवस्था गरिएको छ। विगतमा तोकिएभन्दा बढी कर्जा लिएको भए एक वर्षभित्र त्यसलाई मिलाउनुपर्ने समेत नीति बनेपछि लगानीकर्तालाई समस्या परेको बताइन्छ। हालसम्म बैंक तथा वित्तीय संस्थाले करिब ९५ अर्ब रूपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्।

ठूलो रकम सेयरमा लगानी भएको भन्दै नियामक निकायले कडाइ गर्न खोजेको हो। राष्ट्र बैंकका अधिकारीहरू सेयर कर्जामा लगानी बढ्दा त्यसको असर उत्पादनमूलक क्षेत्रले पर्याप्त लगानी नपाउने आकलन गर्छन्। साताको पहिलो कारोबारमा नेप्से परिसूचक ओरालो लाग्नुको साथै सेयर कारोबार रकम पनि खुम्चिएको छ।

दिनभर दुई सय २८ कम्पनीका ७४ लाख ६० हजार आठ सय ७४ कित्ता सेयर किनबेच भए। कारोबार रकम तीन अर्ब ३८ करोड २५ लाख नौ हजार पाँच सय २० रूपैयाँ छ। यस दिन व्यापार र विकास बैंकका लगानीकर्ताले धेरै गुमाए। व्यापार उपसमूहको सूचक ७ प्रतिशतले र विकास बैंकको ६ प्रतिशतभन्दा धेरैले घटेको छ।

कारोबारका आधारमा मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रह्यो। त्यसको ३१ करोड २८ लाख ८३ हजार एक सय ९१ रूपैयाँ बराबरको कारोबार भयो। यस्तै नेसनल हाइड्रोपावरको १३ करोड ६३ लाख ७९ हजार, नबिल बैंकको ११ करोड ५९ लाख,महालक्ष्मी विकास बैंकको आठ करोड २६ लाख र अपि पावर कम्पनीको सात करोड चार लाख ८३ हजार रूपैयाँ बराबरको कारोबार भयो।

राष्ट्र बैंकले साउन २९ मा चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो। भदौ ३ मा पुँजी बजारको सूचक नेप्सेले कीर्तिमानी ३२०३ बिन्दु नाघेको थियो। उक्त कीर्तिमानयता पुँजी बजार घट्दो क्रममा छ। त्यस्तै भदौ ३ मै साढे २० अर्ब रूपैयाँको सर्वाधिक सेयर किनबेच भएको थियो।

जुन रकम घटेर निकै थोरैमा झरिसकेको छ। राष्ट्र बैंकका अधिकारीहरू भने पुँजी बजारको उकालो र ओरालोसँग केन्द्रीय बैंकलाई जोड्नुको कुनै अर्थ नहुने बताउँछन्।

पछिल्लो समयमा सेयरप्रति आकर्षित हुने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ। एक वर्षको अवधिमा सेयर कारोबारका लागि हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या करिब दोब्बरले बढेर ४२ लाख नाघेका छन्।

त्यस्तै, ३२ लाखले मेरो सेयर लिएका छन्। नौ लाखले हरेक दिनजसो अनलाइनमार्फत सेयर कारोबार गर्ने गर्छन्। गत वर्ष सेयर बजारबाट सरकारले १४ अर्ब २३ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। कूल ४४ खर्ब रूपैयाँ हाराहारीमा पुगेको पुँजी बजार यतिखेर करिब ३४ खर्ब रूपैयाँमा झरिसकेको लगानीकर्ताको भनाइ छ।

प्रकाशित: २७ मंसिर २०७८ ००:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App