८ वैशाख २०८१ शनिबार
अर्थ

महाधिवेशन प्रभावः काठमाडौंका होटल तथा गेस्टहाउस भरिभराउ

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण लामो समयदेखि धराशायी बनेका संघीय राजधानी काठमाडौंका होटलहरू यतिबेला पाहुनाले भरिएका छन्।

कांग्रेस महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका नेता तथा कार्यकर्ताले राजधानीका होटल तथा गेस्टहाउस भरिभराउ भएका हुन्। पछिल्लो समय पर्यटकको आवागमन बढेसँगै जारी राजनीतिक दलका महाधिवेशनले पर्यटन क्षेत्रसमेत चलायमान भएको छ।

अध्यागमन विभागको तथ्यांकले विदेशी पाहुना बढेको देखाइरहँदा यता राजनीतिक पार्टीका महाधिवेशनमा सहभागी हुन आएका पाहुँनालेसमेत होटलक्षेत्र चलायमान भएको देखिन्छ।

हालै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाटै होटल बुकिङ बढेको व्यवसायीको भनाइ छ। राप्रपाको महाविधेनका लागि पार्टीले राजधानींका झन्डै ४५ सय बेड बुक गरेको थियो।

त्यसो त अहिले काठमाडौंका ठुला होटलमा दैनिक ठूला सभा, गोष्ठी, सेमिनार,सम्मेलन, वार्षिक सधारण सभालगायत कार्यक्रम हुने क्रम बढेको छ।

अहिले राजधानीका पार्टी प्यालेसदेखि होटलका साना तथा ठूला हल एक साताअघि नै बुक हुन थालेका छन्। विवाहको महिना भएकाले अहिले राजधानीमा रोजेकै पार्टी प्यालेस वा होटलमा बुकिङ पाउनसमेत मुस्किल देखिएको छ।

दसैंयता होटल क्षेत्र विस्तारै चलायमान हुन थालेपछि श्रमिकको समेत माग बढेको छ। होटल बुकिङको अकुपेसी हेर्दा यो क्षेत्र पुरानै अवस्थामा फर्केको हो कि भन्ने अवस्थासमेत देखिएको छ।

अहिले राजधानीका सुन्धारा, ठमेल,गौशाला,कोटेश्वर, नयाँ बसपार्क, पुरानो बसपार्क, बागबजारलगायत धेरै होटल तथा गेस्टहाउस भरिभराउ देखिन्छन्। राजनीतिक दलहरूले आफ्ना प्रतिनिधिका लागि सयौं बेड बुकिङ गर्दा व्यवसायी हौसिएका छन्।

पछिल्लो समय होटल मात्र नभएर हवाई सेवामा समेत चाप देखिएको छ। अहिले राजधानीकेन्द्रित उडान महँगिएका छन् भने सहजै टिकट पाउन मुस्किल छ। राजधानी आउन धनगढीबाट समेत टिकट पाउन मुस्किल रहेको प्रतिनिधिहरू बताउँछन्। अहिले धनगढी–काठमाडौंको हवाई भाडा १२ हजार सात सयसम्म रहेको छ।

होटल व्यवसायीहरू देशभरका होटल चलायमान भएको बताउँछन्। चितवन, पोखरालगायत पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बढेको व्यवसायीको निष्कर्ष छ। केही समयअघि सौराहामा सम्पन्न नेकपा एमालेको महाधिवेशनले त्यहाँका होटलमा बास पाउनसमेत मुस्किल थियो।

चितवनमा भएको उक्त कार्यक्रमले पर्यटन क्षेत्रमा राम्रो विज्ञापन भएको समेत व्यवसायीको तर्क छ। व्यवसायीका अनुसार सौराहाका होटलमा मंसिर ९ देखि १३ गतेसम्म होटलमा बास पाउन मुस्किल थियो। हाल त्यस्तै अवस्था राजधानीमा देखिएको छ।

जारी कांग्रेस महाधिवेशनका लागि झन्डै ४५ सय बेड बुक गरिएको छ। पार्टीले देशभरबाट राजधानी आएका महाधिवेशन प्रतिनिधिका लागि होटल बुकिङ गरेको हो। आफ्नै खर्चमा राजधानी आएका र होटलमा बस्नेहरूको संख्यासमेत निकै रहेको छ। स्रोतका अनुसार सबैभन्दा धेरै ठमेलका होटल बुक भएका छन्। ठमेलमा मात्रै २५ सय बेड बुकिङ भएको जनाइएको छ।

महाधिवेशन प्रतिनिधि बसेको होटलबाट महाधिवेशन स्थलसम्म ओहोर–दोहोर गराउन एक सय ५० भन्दा बढी गाडी परिचालित छन्। ती गाडीमा पर्यटकीय सवारीले समेत काम पाएका छन्। आन्तरिक पर्यटकको भरथेग उत्साहसँगै विदेशी पाहुनाको संख्यासमेत बढ्दै गएपछि पर्यटन व्यवसायीले उद्योग चलायमान हुन थालेको महसुस गर्न थालेका छन्।

विश्व पर्यटन बजार पूर्ण रूपमा पुरानै लयमा फर्किन अझै केही वर्ष लाग्ने प्रक्षेपण गरे पनि नेपालले पर्यटन क्षेत्रमा आएको चलायमानले सकारात्मक सन्देश दिन खोजेको छ। ट्राभल,पदयात्रा,होटल,पर्वतारोहण, र्‍याफ्टिङ, पथप्रदर्शकलगायत व्यवसायीसमेत व्यवसाय पुनर्जीवित भएकोमा खुसी देखिएका छन्।

प्रकाशित: २५ मंसिर २०७८ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App