१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

हिमालको काखैमा हाई अल्टिच्युड खेलमैदान निर्माण हुँदै

आँखै अगाडी धौलागिरी, अन्नपूर्णसहित दर्जन हिमश्रृंखला देखिन्छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको पर्यटकीय स्थल टोड्केमा हाइअल्टीच्युड खेलमैदान बन्ने भएको छ।

जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा धमाधम पूर्वाधार विस्तार भइरहेको छ। हिमाल हेर्दै खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माणको कार्य सुरू भएको छ।

टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९१४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

पर्खालसहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाइने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। ‘नजिकै धौलागिरी हिमाल देखिन्छ, खेलमैदान नेपालमै नमूना बनाउन सम्भव छ’ सुबेदीले भने। टोड्केको मालिका मन्दिर आसपासमा बन्ने खेलमैदान नजिकै गुराँसको घनाजंगल समेत रहेकाले सिजनमा राताम्मे गुराँस, चाँदीजस्तै टल्किने हिमाल हेर्दै खेलकुद गतिविधिको अवलोकनसमेत गर्न सकिने बताइएको छ। खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८८० रुपैयाँ लागत अनुमान गरिए पनि कूल ५ करोडभन्दा बढी लागतमा थप संरचनासमेत बनाइने जनाइएको छ।

नेपालमा हाइ अल्टीच्युडका खेलमैदानको संख्या कम भएकाले पनि टोड्केमा खेलकुदको माध्यमबाट पर्यटक समेत भित्राउन सकिने टोड्के हिल रिसोर्टका सञ्चालक भिम शेरचनले बताए। ‘यहाँको सम्भावनालाई बेच्न सकेमा पर्यटक थामिनसक्ने आउँछन्, अहिले पूर्वाधार विस्तार भएकाले चहलपहल धेरै छ’ उनले भने।

हाल पर्यटकीय स्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएको छ। रघुगङ्गा गाउँपालिकाले पदमार्ग, उद्यान, सडक निर्माण गरिरहेको छ। गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको अध्यक्ष भबबहादुर भण्डारीले बताए।

उनका अनुसार वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित  ५८ लाख दुई हजार ७३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईवटा प्रतिक्षालय र दृष्यावलोकन गर्ने स्थलसहितको उद्यान निर्माणको अन्तिम चरणमा रहेको छ। झिँ–टोड्के सडक निर्माणका लागि ठेक्का सम्झौता भएको छ। सडक र पदमार्ग निर्माण भएसँगै पर्यटकलाई आवतजावतमा सहज हुनेछ। टोड्के प्रकृतिको अनुपम उपहार, स्वर्गद्धारीको शाखा आश्रम समेत रहेकाले देशका विभिन्न जिल्लाबाट समय समयमा आएर ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेका छन्। टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धता  समेत जनाइसकेका छन्।

प्रकाशित: २४ मंसिर २०७८ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App