९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पूर्वका उद्योगीलाई विद्युतको खपत बढाउन अर्थमन्त्रीको आग्रह

मोरङ व्यापार संघको वार्षिक साधारणसभामा सहभागीहरू। तस्बिरः चुमन/नागरिक

अर्थमन्त्री जनार्दन शर्माले विद्युत खपत बढाउन पूर्वका उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। मोरङ व्यापार संघको ६५ औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले आर्थिक समृद्धिका लागि विद्युतको खपत देश भित्रै गर्नुपर्ने बताए।

उनले यतिबेलै १० हजार मेघावाट विद्युत देश भित्रै खपत हुनुपर्नेमा २ हजार मेघावाट उत्पादन नहुँदै विद्युत खेरजाने अवस्था आएको बताए। देशभित्रै ठूला उद्योग सञ्चालन गरेर विद्युत खपत गर्न उद्योगी व्यवसायीलाई उनको आग्रह छ। अर्थमन्त्री शर्माले सुनसरी-मोरङमा अर्को औद्योगिक करिडोर स्थापनाका लागि योजना ल्याउन उद्योगी व्यवसायीलाई सुझाव दिए। ‘पुरानो करिडोर देखाएर अब हुँदैन यहाँ नयाँ औद्योगिक करिडोर आवश्यक छ’, शर्माले भने,‘पूर्वाधार बनाउन सरकार तयार छ। तपाइँहरू उद्योग सञ्चालन गर्न तयार हुनुहोस्।’

शर्माले सुनसरीको अमडुवा स्थित ६ सय विघा जग्गामा औद्योगिक क्षेत्र बनाउन बारम्बार निजी क्षेत्रले माग गरिरहेको भन्दै स्पष्ट योजनासहित आउन पूर्वका उद्योगीहरूलाई उनले आग्रह गरे। ‘चाहियो भनेर मात्रै हुँदैन’, उनले भने,‘कतिवटा उद्योग राख्नुहुन्छ, सरकारले के–के पूर्वाधार बनाउनुपर्‍यो स्पष्ट खाकासहित आउनुहोस्। सरकारले तत्कालै आवश्यक विजुली, नीति नियम र जग्गासमेत भाडामा उपलब्ध गराउँछ।’

उनले देशको विकासका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य आवश्यक रहेको भन्दै सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नु पर्नेमा जोड दिए। उनले भने, ‘सहकार्यका लागि निजी क्षेत्र तयार भए सरकार पनि तयार छ।’ कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य पूरा हुने बताए। उनले यो वर्ष पूँजीगत खर्चमा इतिहास रच्ने दाबी गरे।

उनले भने, ‘यो वर्ष सरकारले पूँजीगत खर्चमा इतिहास रच्छ।’ विश्व बैंकको ऋण सहयोगमा १ हजार ६१ मेघावाटको अपरअरुण अघि बढिसकेको मरासीनीले जानकारी दिए। उनले केही वर्ष भित्रैमा अपर अरुणको भौतिक निर्माण सुरू हुने बताए। कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले पर्याप्त स्रोत, जनशक्ति र बजारको संभावना रहे पनि स्रोत साधनको उचित उपयोग हुन नसकेको बताए। उनले दीर्घकालीन नीतिको अभाव, खुल्ला बोर्डरलगायतका विभिन्न अवरोधले अर्थतन्त्र कछुवाको चालमा हिँडिरहेको धारणा राखे।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, उद्योगी व्यवसायीहरूले सरकारले दीर्घकालीन नीति ल्याए नेपालको अर्थतन्त्रमा केही वर्ष भित्रैमा उल्लेख्य सुधार हुने धारणा राखे। कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

प्रकाशित: १७ मंसिर २०७८ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App