२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हुलाकी राजमार्गको काम सुस्त, ठेकेदार कम्पनीलाई ताकेता

तराई-मधेसका जिल्ला जोड्ने पहुँचमार्गको रुपमा विस्तार भइरहेको हुलाकी राजमार्ग अन्तर्गत झापाको रतुवादेखि मोरङ विराटनगरसम्म सडक निर्माण सुस्त गतिमा छ। ठेकेदार कम्पनीले ठेक्का लिएको ४४ किलोमिटर सडकमध्ये ३६ किलोमिटर निर्माण सुस्त छ।

सवा तीन अर्ब कुल लगानीमा निर्माण हुने लागेको सडक चारवटा ठेकेदार कम्पनीले निर्माणको जिम्मा पाएका छन्। जसमा रतुवा खोलादेखि साढे १६ किलोमिटर सडक पिएस गजुरमुखी जेभिले पाएको छ। त्यसपछि आठ किलोमिटर सडक कालिका मैनाचुली वेदाङ्सी र अरु १२ किलोमिटर सडक फेरि पिएस गजुरमुखी जेभिले ठेक्काको जिम्मा पाएको छ। यस्तै, विराटनगर कसेलिया खोलासम्मको बाँकी आठ किलोमिटर सडक श्रेष्ठ कन्ट्रक्सनले ठेक्का पाएको छ।

यी चारवटा ठेकेदार कम्पनीमध्ये कालिका मैनाचुलीले पाएको ठेक्काको ६० प्रतिशत हाराहारी काम सकेपनि अरु कम्पनीले ठेक्का लिएको कामको प्रगति न्यून रहेको हुलाकी राजमार्ग विस्तार आयोजना प्रदेश नं. १ इटहरीका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवाडले बताए। ‘ठेकेदारको बाह्य र सामाजिक कारण केही पनि देखिँदैन,’ उनले भने, ‘ठेकेदार कम्पनीकै व्यवस्थापनको कमीले गर्दा सडक निर्माणको काम अघि बढ्न सकेको छैन।’ उनका अनुसार यो सडक २०७९ कात्तिक २३ गतेभित्र पूरा हुनेपर्ने समय तोकिएको छ। अहिलेसम्म भएको कामको प्रगति हेर्दा तोकिएको समयमा नाम नसकिने निश्चित छ।

सुस्त गतिमा काम गर्ने ठेकेदार कम्पनीलाई पटक पटक ताकेता गरि सकिएको छ। ‘अब चाँडै नै काम अघि बढाउने ठेकेदार कम्पनीले वचन दिएका छन्, अब हेरौ,’ सूचना अधिकारी खतिवडाले नागरिकसँग भने, ‘ठेकेदार कम्पनीले कोरोनाको वहाना बनाउँछन्। तर, हामीले बुझ्ना उनीहरुसँग जनशक्तिकै कमी छ।’ झापा, मोरङ र सुनसरीसँगै प्रदेश नं. २ को सप्तरी जिल्लालाई समेटेर काम गर्दै आएको हुलाकी राजमार्ग आयोजना प्रदेश नं. १ मा कुल तीन सय ३५ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ। जसमा अहिलेसम्म सय किलोमिटर कालोपत्रे गरेको जनाएको छ।

राष्ट्रिय गौरवको हुलाकी राजमार्गको तराई-मधेसको मेरुदण्ड मानिएको सडक बिस्तारकै क्रममा सप्तरीमा १९ वटा पुल पनि सुचारु हुन सकेको छैन। हुलाकी राजमार्ग विस्तार आयोजनका सूचना अधिकारी खतिवडाले पुल निर्माणको काम अन्तिम चरणमा पुगेता पनि सर्वसाधारणले राजमार्गको सदुपयोग गर्न पाएको छैनन्।

यस्तै, झापाको कन्काई नदी पुल पनि निर्माणमा ढिलाई भएको छ। ७२४ मिटर लम्बाई रहेको पुल निर्माणको काम ढिलाई भएर ठेकेदार कम्पनीलाई ताकेता गरिएपछि सुचारु हुने भएको छ। पप्पु महादेव जेभिले ३४ करोडमा ठेक्का पाएको पुल निर्माणका लागि मन्त्रिपरिषदको निर्णय अनुसार चैत मसान्तसम्म म्याद थपिएको छ। तर, थपिएको म्यादभित्र काम पुरा हुने छनक नभएको हुलाकी राजमार्ग विस्तार आयोजनाले जनायो।

तराईका चार जिल्लामा अहिले २६ वटा पुल निर्माणको काम चलिरहेको छ। जसमध्ये धेरैजसो चालु आर्थिक वर्षमा सकिनु पर्ने हो। हुलाकी राजमार्ग विस्तार आयोजनाले अब सुनसरी र मोरङमा मात्र ठूला र साना गरि १८ वटा पुल बनाउन प्रस्ताव गरेको छ।

प्रकाशित: १७ मंसिर २०७८ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App