२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ। नेपाल(कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो।

बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्ताव अनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ। साथै कतार भिषा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ। नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिक केन्द्र स्थापना गर्न पनि सहमति जनाएको छ।

घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि उक्त बिषयमा निर्णय गर्न दुई पक्षीय संयुक्त समिति गंठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनको क्रममा समेट्ने सहमति भएको छ।

यसअघि, कतारको उच्चस्तरीय टोलीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहित मन्त्रालयको टोलीसँग श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल गरेको थियो। घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि मन्त्री श्रेष्ठले विभिन्न सरोकारवलाहरुसँग छलफल गरी निर्णयमा पुग्ने बताएका थिए।  

यसअघि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु श्रमिक लैजाने देशले ७ वटा सर्त पूरा गरे मात्रै अनुमति दिन सरकारलाई निर्देशन दिएको थियो। कतारको उच्चस्तरीय टोलीले नेपालको शर्त पुरा गर्न तयार रहेको प्रतिकृया दिएको छ।  साथै श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायतका बिषयमा छलफल भएको थियो।

नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ। श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारले सन् २००५ मा श्रम सम्झौता गरेका थिए।

प्रकाशित: १७ मंसिर २०७८ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App