९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा विमानस्थल मध्यान्हपछि खुल्यो

हुस्सुले मंगलबार ढाकिएको पोखरा। तस्बिरः उमेश पुन/नागरिक

बाक्लो हुस्सुले बिहानदेखि रोकिएको पोखराको हवाई उडान बल्ल सुरु भएको छ। पोखरा विमानस्थल मध्यान्ह १२ बजेपछिमात्र खुलेको हो।  

बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित भएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। उनका अनुसार १२ बजेपछि मात्र विमानस्थल खुलेपछि त्यसअघिका उडान प्रभावित भएका हुन। सुवेदीका अनुसार यती एयरका पोखरा–काठमाडौं रुटका २ वटा उडान रद्द भएका छन्। यतीले ५ वटा उडान राखेकोमा २ वटा रद्द भएको उनले बताए।  

त्यस्तै पोखरा–जोमसोम उडान पनि प्रभावित भएको छ। तारा एयरले पोखरा–जोमसोम चारवटा उडान राखेकोमा एउटा मात्र उडान भएको थियो। बाँकी तीनवटा उडान रद्द भएको सुवेदीले बताए। विमानस्थल खुल्न ढिला हुँदा पोखराबाट हुनै सबै गन्तव्यका उडान ‘डिले’ भएका छन्। पोखराबाट जोमसोम, भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरा र काठमाडौंका लागि उडान हुँदै आएका छन्। बिहानीपख हुने भैरहवा, भरतपुरका उडानमा पनि ढिलाई भएको छ।  

पोखराको आकाशमा हुने हवाई उडानका लागि कम्तिमा पाँचकिलोमिटर दूरीसम्म देखिनुपर्छ। बाक्लो हुस्सुका कारण पोखरा आसपासका सबैजसो डाँडा ढाकिएका छन्। भिजिविलीटि कम हुँदा उडान प्रभावित भएको हवाई कम्पनिले बताएका छन्।  

प्रकाशित: ७ मंसिर २०७८ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App