२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

फिल्म पर्यटनः ‘उँचाई’ ले उकास्यो पर्यटनको उचाइ

बलिउड फिल्म ‘उँचाई’को छायांकनले पर्यटन क्षेत्रमा लाभ

मनाङमा फिल्म ‘उँचाई’ को छायांकनका लागि मनाङ पुगेको भारतीय कलाकारको टिम । तस्बिर सौजन्यः लेखनाथ गौतम

कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिएको झन्डै दुईवर्ष हुन थाल्यो। यो अवधिमा मुलुकभरका पर्यटकीय क्षेत्र सुस्ताउन पुगे। विश्वप्रख्यात अन्नपूर्ण पदयात्रा फेरो पर्ने हिमाली जिल्ला मनाङ पनि यो मारबाट अछुतो रहेन। तर, यही अप्ठेरोबीच पनि मनाङले पर्यटन क्षेत्रमा एउटा अवसर हात पा¥यो, त्यही अवसरले गर्दा त्यहाँको पर्यटनले क्षेत्र छोटो अवधिका लागि भएपनि ब्यूँतिने अवसर जुटायो।  

पर्यटन क्षेत्र ब्यूँतिएसँगै लामो समय आम्दानीविहीन अवस्थामा रहेका मनाङका पर्यटन व्यवसायीले छोटो समयमा राम्रो आम्दानी हात पार्न सके। त्यो अवसर थियो–बलिउड फिल्म ‘उँचाई’ को छायांकन हुनु। एउटा फिल्म छायांकन भएकै कारणले मनाङको पर्यटन क्षेत्रले ठुलो रकम आम्दानी गर्न सक्यो। फिल्मको यो टिम झन्डै एकमहिना नेपालमा रहँदा मनाङ बाहेक राजधानी काठमाडौं र अन्य क्षेत्रको पर्यटनले पनि कमाउन पायो। हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा मात्र यो टिम १० दिन बसेको थियो।  

मनाङका अगुवा पर्यटन व्यावसायी विनोद गुरुङका अनुसार दशदिनसम्म बस्दा यो टिमले मनाङमा मात्र झन्डै एककरोड रुपैयाँ खर्च गरेको छ। त्यसमध्ये ६० लाख रुपैयाँ त होटलमा खान र बस्नका लागि मात्र खर्चेको छ। ‘होटलमा बास, खाना र स्थानीय व्यवस्थापमा मात्र टिमले एककरोड रुपैयाँ खर्चेको छ। ६० लाख रुपैयाँ त बसोबास र खानपिनमा मात्र खर्च भएको छ,’ उनले भने, ‘फिल्मको टिमले खर्चेको त्यो रकम स्थानीय होटल व्यवसायीले आम्दानीको रुपमा हात पारेका हुन्।’

गुरुङका अनुसार फिल्म छायांकनको लागि भारतीय कलाकार, प्राविधिक सहित नेपाली सहयोगी थिए। सुरुमा सातवटा होटल बुकिङ गरेको टिमले पछि अपुग भएपछि दुईवटा थपेका थिए। कलाकार र प्राविधिक मनाङका नौवटा होटलमा बसेका थिए। ती मध्ये १ सय ४१ जना भारतीय नागरिक थिए। १ सय ६० जना नेपाली सहयोगी थिए। ‘३ सय १ जना पाहुनालाई १० दिन यहाँका होटलमा राख्यौ। उनीहरुबाट स्थानीय व्यवसायीले राम्रो आम्दानी लिन पाए,’उनले भने, ‘कोरोना संक्रमणले थला परेको पर्यटन क्षेत्र बलिउड फिल्मको छायांकनका कारण उकासिन पायो। एउटै फिल्म छायांकन गर्दा त मनाङका होटल व्यवसायीले लाखौं रुपैयाँ आम्दानी गर्न पाए भने सबैतिरको रकम हेर्दा करोडौं रुपैयाँ नेपालमा खर्च भएको छ।’  

उनका अनुसार होटल बाहेक फिल्म टिमले स्थानीय सुरक्षामा खटाएका व्यक्तिका लागि पनि रकम खर्चेका थिए। झन्डै दर्जन गाडी १० दिनसम्म प्रयोेग गरेका थिए। त्यस्तै स्थानीय समुह, कलाकारको पनि खर्च गर्दा एककरोड रुपैयाँ मनाङमा मात्र खर्च भएको गुरुङको भनाई छ। ‘कोरोनाको मारमा परेको बेला हामी व्यवसायीले कमाउन पायौं, त्यसबाहेक फिल्म रिलिज भएपछि मनाङको प्रवद्र्धन हुनु आफ्नो ठाउँमा छ,’ उनले भने, ‘सिंगो मनाङ र नेपालको पर्यटनको नै प्रवद्र्धन भएको हामीले बुझेका छौ। कलाकारबाट भएको प्रवद्र्धनको त हिसाबकिताबै हुँदैन।’

यो फिल्म राजधानीका विभिन्न ठाउँमा समेत छायांकन भएको थियो। त्यसबाहेक लुक्ला र नाम्चेमा पनि छायांकन भएको थियो। छायांकन गरिएको मनाङको माथिल्लो मनाङ क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा पर्छ। संरक्षित क्षेत्रमा जाँदा विदेशी नागरिकले प्रवेश शुल्क तिरेर अनुमति लिनुपर्छ। एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार सार्क मुलुकका सदस्य राष्ट्रका नागरिक संरक्षित क्षेत्रमा जाँदा प्रतिव्यक्ति एकहजार रुपैयाँ तिर्नुपर्छ। १ सय ४१ जनका लागि प्रवेश शुल्क मात्र १ लाख ४१ हजार रुपैयाँ टिमले तिरेको थियो।

त्यस्तै मनाङमा हेलिकप्टर अवतरण गर्दा प्रत्येक पटकको ३ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ। मनाङमा फिल्म छायांकनका लागि गएको टिमका लागि प्रयोग गरिएको हेलिकप्टर ६७ पटक अवतरण गरेको थियो। प्रत्येक पटकको ३ हजार रुपैयाँका दरले २ लाख १ हजार रुपैयाँ तिरेको थियो। ६२ हजार ५ सय रुपैयाँ ड्रोन र फिल्म छायांकनको शुल्क मात्र टिमले बुझाएको थियो। त्यस्तै फिल्म छायांकनको अनुमतिका लागि स्थानीय तहलाई पनि यो समुहले शुल्क तिरेको थियो।  

‘कोरोनाको मारमा परेर सकस अवस्थामा पुगेको पर्यटनमा राहत दिनेगरि एउटा फिल्मको छायांकन भयो। यसले स्थानीय देखि राष्ट्रियस्तरको अर्थतन्त्रमा समेत योगदान दिएको छ,’ गौतमले भने, ‘ती कलाकारका कारण पनि पर्यटन प्रवद्र्धन भएको छ। आगामि दिनमा यसले मनाङको उँचाई झनै बढाउनेछ।’ उनले फिल्म प्रदर्शनमा आएपछि मनाङको बारेमा झनै बढी प्रचारप्रसार हुने बताए। ‘पछिल्लो समय मनाङमा भारतीय पर्यटक पनि बढ्न थालेका छन्। मुस्ताङमा मुक्तिनाथ दर्शन गर्न जाने भारतीय हुन्थे। तर, मनाङमा पनि अहिले भारतीय बढ्दैछन,’ उनले भने, ‘यस्तै गतिविधिले प्रवद्र्धनमा सघाउने हो।’

यही टिमले जहाज चार्टर गरेर काठमाडौंदेखि कलाकार र प्राविधिकलाई ओसारेको थियो। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार कलाकार र प्राविधिक लिएर ११ पटक तारा एयरको ट्विनअटर जहाज मनाङको हुम्दे पुगेको थियो। त्यस्तै लुक्लासम्मको आउजाउका लागि पनि तारा एयरले जहाज व्यवस्थापन गरेको थियो। तारा एयरले मात्र कलाकार ल्याउने लैजाने गर्दा झन्डै एककरोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसबाहेक हेलिकप्टरको उडान पनि सयौंको संख्यामा थियो। हेलिकप्टरमा पनि करोडौं खर्च भएको छ।

‘वर्षाैदेखि मनाङको हुम्देमा उडान भएको थिएन। तर, एउटा फिल्मका कारण मनाङले हवाई उडान पायो। त्यसबाहेक ती कलाकारमार्फत हुने प्रवद्र्धनले अझै महत्व राखेको छ,’ बर्तौला भन्छन, ‘कलाकारले सामाजिक सञ्जालमार्फत प्रवद्र्धन गरेका छन्। उनीहरुलाई व्यवस्थापन गरेबापत नेपाली व्यवसायीले करोडौं रुपैयाँ कमाएका थिए। त्यस्तै गाडी, गाइड, पोर्टर, स्थानीय होटललाई तिरेको रकम पनि करौडौं भएको छ।  

‘एउटा फिल्म छायांकन गर्दा त यति धेरैतिर लाभ पुगेको छ भने अरु यस्तै फिल्म भिœयाउन सक्ने हो भने त्यसको फाइदा फिल्म क्षेत्रमा मात्र नभई पर्यटनमा पनि हुनेछ,’ उनले भने, ‘कोरोना संक्रमणले थला परेको पर्यटन क्षेत्रमा एउटा फिल्म छायांकन गर्दा भएको कमाईले समग्र पर्यटन क्षेत्रलाई उकासेको छ। साना–ठुला सबैखाले व्यवसायीले यो टिमबाट लाभ लिन पाएका छन्।’  

प्रकाशित: ६ मंसिर २०७८ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App