१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

खलंगामा अर्गानिक मिनी मार्केट

जुम्ला खलंगाको चन्दननाथ मन्दिरको छेउमै अर्गानिक मिनी मार्केट खुलेको छ। स्थानीय उत्पादनको संरक्षण,प्रवद्र्धन र बजारीकरणको लागि अर्गानिक मिनी मार्केट खुलेको छ। यहाँको चन्दननाथ बहुद्धेशीय सहकारी संस्था लिमिटेड जुम्लाले मिनी मार्केट खोलेर यहाँ उत्पादित वस्तुको बजारीकरण गर्न थालेको हो।

मिनी मार्केटमा स्याउ,स्याउबाट बनेका विभिन्न परिकार,सिमी, आलु, मकै, कोदो, फापर, मार्सीधान,मार्सीधानको चामल, ओखर ,टिमुर, चिनो ,कागुनो, घ्यु,,मह, राडीपाखी लगायतका बस्तु विक्रिका लागि राखिएको छ। सहकारीका व्यवस्थापक क्रृषिराम पाण्डे रैथाने वस्तुको महत्वका बारेमा प्रचारप्रसार गर्दै यहाँका किसानले उत्पादन गरेको अर्गानिक बस्तु बजार सम्म लैजान मिनी मार्केट खोलेको बताउँछन्। यहाँ तीन प्रकारको सिमी राखिएको छ। कालो सिमी प्रतिकेजी एक सय ८० रुपैयाँमा बिक्रि भइरहेको छ। १सय ६० र मिस्कट सिमी १ सय ६० रुपैयाँ बिक्रि भइरहेको छ। कालो सिमीको मुल्य मार्सीचामल भन्दा २० रुपैयाँ बढी छ। मार्सी चामल १सय ६० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको व्यवस्थापनक पाण्डे बताउँछन्।

यो वर्षमा झण्डै ५० लाख रुपैयाँ बराबरको मार्सी चामल र सिमी खरिद गर्ने तयारी सहकारीले गरेको छ। ३० हजार दाना ओखर खरिद भइसकेको छ। अहिले मिनी मार्केमा प्रतिदिन एक लाख रुपैयाँ बराबरको व्यापार हुने गरेको पाण्डे बताउँछन्। उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरेको छ। सोही अनुसार अर्गानिक बस्तुको संकलन भइरहेको छ।’ मिनी मार्केटको मागलाई संवोधन गर्न सहकारीले अहिले नगद बचतको ठाउँमा जीन्सी सामान उठाउने गरेको छ। सबैसंग सधैँ नगद हुन्छ भन्ने छैन, ‘उनले भने,‘नगद नहुने सदस्यले सिमी,चामल,फापर पनि दिन सक्ने गरि सहज बनाएका छौँ।’

सहकारीले अर्गानिक बस्तु उत्पादन गर्ने किसानका लागि २० हजार रुपैयाँ बराबरको क्रृण दिने गरेको छ। तर यो २० हजार रुपैयाँको सहकारीले ब्याज लिदैन। उनीहरुले यो रकम स्थानीय उत्पादनमा मात्र खर्च गर्न पाउँछन। उनीहरुले उत्पादन गरेको वस्तु सहकारीले नै बजार सम्म लैजान्छ। अहिले सहकारीमा १८ हजार सदस्य छन्। जसमध्ये १२ हजार सदस्यको अर्गानिक वस्तु मिनी मार्केटमा ल्याउने गरिएको छ। सहकारीले मिनी मार्केट खोलेपछि किसानको अर्गानिक बस्तु थन्किएको छैन। आगामी दिनमा कृषि व्यवसायमा लाग्नको लागि किसानलाई प्रेरित बनाएको छ। स्थानीय भेडाबाख्राबाट बनेका राडी,पाखी लिउ,सुइटर, कोटको कपडा, खरायोको उनबाट बनेका टोपी समेत राखिएको छ।

कर्णालीको धार्मिक पर्यटन गन्तब्य चन्दननाथ र भैरवनाथ मन्दिर मिनी मार्केट अगाडी भएकोले आन्तरिक तथा बाह्य पर्यटकको नजर सिधैँ मिनी मार्केट तिर जाने गरेको हो। काठमाण्डौँ, बुटवल, भैरहवा, पोखरा, सुर्खेत, नेपालगंज लगायतका आन्तरिक पर्यटकले कोशेली स्वरुप यहाँको अर्गानिक वस्तु लैजाने गरेका छन्। मिनी मार्केटमा सिमी, चामल, फापर, चिनो कागुनो, कोदो, जौं, भट्टमास, गहत, गुराउँस, कलालगायतका रैथाने खाद्यबाली बिक्रीका लागि राखिएको छ। त्यस्तै, जडिबुटीमा चियापत्ती, टिमुर, जिम्बो, फलफुलमा ओखर, स्याउ र रैथाने पहिरनहरुमा खरायो र ऊनको टोपी बिक्री वितरण हुने गरेको छ।

मिनी मार्केटमा कार्तिक लागेसँगै मार्सी चामल र सिमीको खरिद बिक्रीले बजार लिन थालेको छ। सुपथ पसलका व्यापारीहरुका साथै भित्री मधेश तथा तराई झर्नेहरुले मार्सी चामल र सिमी किसानबाट किन्ने क्रम बढेको छ। मुगुको राराताल हेर्ने पर्यटकहरु जुम्ला भएर जाँदै गर्दा मार्सी चामल र सिमी लिने गरेका छन। अन्तर जिल्लाबाट आउने पर्यटकहरुमा सबैभन्दा बुटवल, चितवनका पर्यटकहरुले मार्सी चामल र सिमी लिँदै आएका छन्,व्यवस्थापक पाण्डेले भने, ‘अहिले त जिल्लाभित्रबाट बाहिर जाने हरेकले कोसेली एवं नासोको किनेर लिने गर्दछन्। यसो गर्नाले यहाँको अर्गानिक वस्तुको प्रचारप्रसारमा टेवा पुगेको छ।’

‘मार्सी चामल र सिमीको माग बढ्दो भएकोले पूर्ति गर्न धौ–धौ हुने गरेको छ। यसपालिको प्राकृतिक विपत्तिले मार्सी चामल र सिमीलगायतका बालीमा क्षति पुर्याएको कारण उत्पादन निकै घट्दो अवस्थामा गएको छ। यसले गर्दा पनि माग अनुसारको पूर्ति गर्न समस्या भईरहेको छ,’ व्यवस्थापनक पाण्डले थपे। चन्दननाथ बहुद्धेशीय सहकारीले जुम्लाका सिँजामा विद्यालय खोलेको छ। पातारासी गाउँपालिकमा सुपथमुल्यको पसल र मेडिकल खोलेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेता अर्गानिक पसल खोलेर सेवा दिदै आएको छ।  

प्रकाशित: २२ कार्तिक २०७८ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App