१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

बिजुली भारतलाई बेच्न बाटो खुल्यो

नेपाल सरकारको लामो कसरतपछि भारतीय बजारमा बिजुली बिक्री गर्न बाटो खुलेको छ। यसअघि भारतले नेपालमा बढी भएको बिजुली ऐंचोपैंचोका रूपमा मात्रै लिने गथ्र्यो। अब भने नेपालमा उत्पादन भएको बिजुली भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बिक्री गर्न अनुमति मिलेको छ।

भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् व्यापार गर्न अनुमति दिएको हो।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ। प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको बेला आइआइएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको छ।

निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा मंगलबार जारी समाचार बुलेटिनमा पहिलो चरणमा २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मा बिक्री गर्न अनुमति मिलेको छ।

प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीयप्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गरेको छ। यसअघि यो लाइनबाट विद्युत् आयातमात्र भइरहेको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् खरिदबिक्रीका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको दाबी गरेकी छन्। ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट विद्युत् बिक्रीका लागि अनुमति पाएका छौं। यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि कोसेढुंगा हो’, उनले भनिन्, ‘हामीले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत् गृहबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौं।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा इँटा थपिएको बताए।‘नेपालको विद्युत् भारतीय बजारमा निर्यात सुरु भएसँगै नेपालमा जलविद्युत् विकासको ठूलो ढोका खुलेको छ,’उनले भने। 

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्ने छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ।

विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुनेछ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत् निर्यात हुनेछ।

प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) ले गर्नेछ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ। भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रतियुनिट विद्युत्को मूल्य २८ भारतीय रूपैयाँसम्म पुगेको थियो।

प्रकाशित: १७ कार्तिक २०७८ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App