१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्थानीय व्यवसायीको लगानीमा खुल्यो 'वेस्टर्न मार्ट'

नेपालगन्जमा मंगलबारबाट औपचारिक सञ्चालनमा आएको वेष्टर्न मार्ट। तस्बिरः अर्जुन/नागरिक

स्थानीय व्यवसायीको लगानीमा नेपालगन्जमा सुविधा सम्पन्न ‘वेस्टर्न मार्ट’ खुलेको छ। उक्त मार्ट लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक भएको दाबी गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ सुर्खेत रोडमा अवस्थित मार्टको मंगलबार औपचारिक रुपमा उद्घाटन गरियो।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर एवम् प्रमुख अतिथी डा. धवलसम्शेर राणाले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्। मार्टले स्थानीय उपभोक्तालाई गुणस्तरीय र सर्वसुलभ मूल्यमा सामान्य उपलब्ध गराउने उनले विश्वास ब्यक्त गरे।

उक्त मार्टमा खाद्यान्न, घरायसी सामान, तरकारी, फलफूल, भाँडाकुडा, टेलिभिजन, मोबाईल फोन, बिभिन्न विद्युतीय सामान लगायत अन्य अत्यावश्यक तथा दैनिक उपभोग्य बस्तुसहितका सामान सुपथ मूल्यमा उपलब्ध गराइएको वेस्टर्न मार्ट प्रा.लि.का अध्यक्ष प्रकाश लामिछानेले जानकारी दिए।

मार्टमा सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध हुने र ग्राहकले एकै ठाउँमा सबै सामानहरु पाउने उनले बताए। जसले गर्दा दैनिक उपभोग्य बस्तु खरिद गर्न बिभिन्न ठाउँ जाने समय र मोलमोलाई गर्ने झण्झट समेत हट्ने उनको विश्वास छ।

मार्टमा खरिद गर्दा बिभिन्न किसिमका छुट योजनाका साथमा बिभिन्न भाग्यशाली बिजेता चयन गरेर सुपर बम्पर उपहारमा हिरो कम्पनीको स्कुटर लगायत थप ५ लाख रुपैयाँ बराबरको बिभिन्न बिजेतालाई गोला प्रथाबाट उपहार दिइने व्यवस्था समेत मिलाइएको लामिछानेले बताए। उनले भने, ‘जसलाई हाल चलनमा रहेको सेल्फि प्वाइन्टका रुपमा पनि लिन सकिने छ, त्यसैले यहाँ आउने ग्राहकहरुले किनमेलका साथ अन्य फुर्सदको समय पनि व्यतित गर्न सक्ने हाम्रो विश्वास छ।’

बिषम परिस्थितीमा समेत स्थानीय स्तरमा निजी क्षेत्रको प्रयासबाट यस प्रकारको ठूलो लगानी गरेर व्यापार व्यवसाय सञ्चालनमा आउनाले यसले समग्र नेपालगन्जको व्यापार, व्यवसायलाई नविनता प्रदान गर्नुका साथै स्थानीय तहमा रोजगारीको सृजना गर्दै आर्थिक गतिविधि थप अभिवृद्धि गर्ने विश्वास लिइएको वेस्टर्न विजनेश ग्रुपका अध्यक्ष सञ्जय थापाले बताएका छन्।

थापाका अनुसार उक्त मार्टमा हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ। वेस्टर्न विजनेश ग्रुपमा उद्योगी, व्यवसायी, वकिल, प्राध्यापक, सहकारीकर्मी, इन्जिनियर, डाक्टर, बैंकर्स लगायत विभिन्न व्यक्ति आवद्ध छन्।

प्रकाशित: १६ कार्तिक २०७८ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App