१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विज्ञलाई राजदूत बनाए आर्थिक कूटनीति सफल हुने: उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बन्धित देशबारे राम्रो ज्ञान भएका व्यक्तिलाई राजदूत बनाएर पठाए विकसित र सम्पन्न मित्रराष्ट्रसँगको आर्थिक कूटनीति प्रभावकारी हुने बताएका छन्।

झण्डै डेढ दशक कतारमा बिताएका रमजान अलि मियाले लेखेको ‘मैले देखेको कतार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा सोमबार उपराष्ट्रपति पुनले यस्तो टिप्पणी गरेका हुन्। मियाले लेखेको उक्त पुस्तक पढिसकेपछि आफू उनी जस्तै व्यक्तिलाई राजदूत बनाएर पठाउन सके कतार जस्ता सम्पन्न मुलुकबाट पर्याप्त लगानी र आर्थिक सहयोग ल्याउन सकिने निष्कर्षमा पुगेको उपराष्ट्रपति पुनको भनाइ छ।

‘उहाँ जस्ता विज्ञ व्यक्ति राजदूत भए तिमीसँग पैसा छ, हाम्रो देशमा लगानी गर्ने ठाउँ प्रशस्त छ, त्यहाँ गएर लगानी गर भनेर प्रस्टसँग भन्न सक्छन्,’ उपराष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, ‘यो पुस्तक पढेपछि दुई देशबीचको सम्बन्ध अझ सुमधुर र हुन्छ अनि नेपालले बढी लाभ लिन सक्छ भन्ने भाव पैदा भयो।’

पुस्तक पढ्ने क्रममा भावनामा बग्दै गर्दा आफूलाई राजदूतमा मियाजस्तै व्यक्ति चाहिन्छ भन्ने लागेको पनि उनले सुनाए। ‘त्यसो गर्न सके त्यस्ता सम्पन्न मुलुकबाट लगानी ल्याउन सकिन्छ,’ उनले भने। पुस्तकमा छोटो अवधिमा चमत्कारिक प्रगति गरेको कतारबारे नेपालीले जान्नु र बुझ्नुपर्ने कुरा धेरै भेट्टाएको पुनको भनाइ छ। 

अरबी भाषा तथा कतारी श्रम कानुनका ज्ञाता मिया अरब संस्कृतिसँग पनि परिचित व्यक्ति हुन्। तीन दर्जन पुस्तक प्रकाशित गरिसकेका मियाले यसअघि कतारी श्रम तथा आवासीय कानुन नेपाली भाषामा अनुवाद गरेर प्रकाशित गरिसकेका छन्। उनले अरबी भाषा सिकाउने पुस्तक पनि लेखेका छन्। खाडी मुलुकमा काम गर्न जाने श्रमिकका लागि उपयोगी अन्य पुस्तक पनि उनले लेखेका छन्।

कतारको मानव अधिकार कमिटीमा नेपाली समुदायको प्रतिनिधि रहेका मियाले सीमित स्रोतका बाबजृुद कतारले छोटो अवधिमा गरेको प्रगतिबाट प्रभावित भएर पुस्तक लेखेको बताए। ‘प्राकृतिक स्रोतको हिसाबले कतारमा बालुवा र पेट्रोल बाहेक केही छैन तैपनि संसारकै सबैभन्दा सम्पन्न मुलुक बन्न सक्यो,’ मियाले भने, ‘हामीसँग यति धेरै स्रोत र साधन छन् तर पनि केही गर्न सकेका छैनौं। कतारमा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्ने कुरा धेरै छन्, जसलाई पुस्तकमा समेटेको छु।’ 

कतारीले परिश्रमी र इमानदार नेपाली चिनेर आफ्नो मुलुकको प्रगतिमा उपयोग गर्न सकेको तर नेपालले आफैंलाई चिन्न नसक्दा आर्थिक रूपमा पछि परेको तथ्य पुस्तकले उजागर गर्ने मियाको भनाइ छ। अरबी भाषा तथा संस्कृतिको जानकारको हैसियतले कतारमा कार्यरत नेपालीमाथि आइलागेका समस्या समाधानको लागि पहल गर्ने क्रममा आफूले धेरै सिक्ने र बुझ्ने मौका पाएकाले पुस्तक तयार भएको उनको भनाइ छ।

कतारको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान गरेको भन्दै लेखक मियाले ती नेपालीले स्वदेशको निर्माणमा अझ ठूलो भूमिका खेल्न सक्ने बताए। राज्यको तर्फबाट उचित पहल हुन सके कतारबाट अथाह लगानी ल्याउन सकिने सम्भावना आफूले देखेको मियाको भनाइ छ। ‘कतारीहरू नेपालीप्रति धेरै सकारात्मक छन्, उस्तै माया गर्छन्,’ उनले भने, ‘उनीहरू नेपालमा लगानी गर्न लालायित छन्, हामीले बिर्को खोल्न सक्नुपर्छ।’

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले उक्त पुस्तकले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मदत गर्ने बताए।

नेकपा एकीकृत समाजवादीका मुस्लिम इन्चार्ज ताज मोहम्मद मियाले उक्त पुस्तकलाई कतारी र अंग्रेजी भाषामा पनि प्रकाशित गर्न सुझाए। ‘कतारी भाषामा पुस्तक प्रकाशित गर्न सके कतारका लागि नेपालले गरेको योगदान उनीहरूले नेपालीको आँखाबाट बुझ्न सक्छन् र सम्बन्ध अझ प्रगाढ हुन्छ।’

कार्यक्रममा ओमानका लागि पूर्व नेपाली राजदूत शर्मिला पराजुली, संविधानसभा सदस्य मोहम्मद जाकिर हुसेन, मुस्लिम विज्ञ मौलाना नजरुल हसन लगायतले शुभकामना दिएका थिए। पुस्तकको प्रकाशन घोस्ट राइटिङ नेपालले गरेको हो। 

प्रकाशित: १६ कार्तिक २०७८ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App