२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन वर्षमा पनि बनेन खानेपानी योजना

तीन वर्षसम्म पनि बैतडीको पुर्चौडी नगरपालिका–१ को खानेपानी योजना पूरा हुन सकेको छैन। नगरपालिकाको केन्द्र हाटमा खानेपानीको व्यवस्थापन गर्नका सञ्चालित हाट वृहत खानेपानी योजना उपभोक्ता समितिको लापरबाहीले पूरा हुन नसकेको हो।

खानेपानी योजना सम्पन्न गर्नका लागि गठन भएको उपभोक्ता समितिको लापरबाहीका कारण खानेपानी योजना अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले जनाएको छ। २०७८ सालमा सम्पन्न गर्ने लक्ष्यसहित सो योजनामा बजेट विनियोजन भएको भएपनि अहिलेसम्म काम नै सुरु हुन सकेको छैन।

नगरपालिकाको केन्द्र हाट बजारलाई मध्यनजर गरेर वृहत खानेपानी योजना कार्यान्वयन गर्न खोजिएको थियो। वडा नं. ७ कोटिलाबाट हाटमा खानेपानी योजना ल्याउने भने पनि समितिले काम अघि नबढाउँदा योजना अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताए। विनियोजित बजेट बर्सेनि फ्रिज भएर जाने गरेको छ।

सुरुको वर्ष मेनलाइनमा पाइप विछ्याउने कामबाहेक अन्य योजनाको काम अघि बढ्न सकेको छैन। उज्जवलसिंह साउँद अध्यक्ष रहेको समितिको लापरबाहीका कारण काम अगाडि नबढेको भन्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले अर्को समिति गठन गर्न पत्राचार गरिसकेको जनाएको छ। तर अहिले सम्म कुनै प्रक्रिया अघि बढेको छैन।

पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरको इच्छा अनुसार साउँदलाई समितिको अध्यक्ष बनाइएको र सो समितिले काम गर्न नसकेको पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए। योजनाका लागि सुरुको वर्ष २० लाख रुपैयाँ विनियोजन भएको थियो। त्यसपछि लगातार त्यो योजनामा बजेट विनियोजन हुन्छ। खानेपानी योजनाको काम नहुँदा हरेक वर्षको बजेट फ्रिज जाने गरेको छ। सो योजनामा गत आर्थिक वर्षमा ५५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा सबै रकम फ्रिज गएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख बोगटीले बताए।  

प्रत्येक वर्ष बजेट फ्रिज हुन थालेपछि सो योजनामा चालु आर्थिक वर्षमा १० लाख मात्रै बजेट विनियोजन भएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको टोलीसँग योजनाको काम अघि बढाउने आश्वासन दिएका नगरप्रमुखले योजनाका विषयमा अहिले सम्म कुनै काम अघि बढाउन सकेका छैनन्। १ सय ५८ घरधुरीमा खानेपानी योजना पुर्‍याउने लक्ष्यका साथ सुरु भएको खानेपानी योजना तीन वर्षसम्म अलपत्र अवस्थामा रहेपछि स्थानीवासी खोलाको दूषित पानी पिउँन बाध्य छन्।

प्रकाशित: १४ कार्तिक २०७८ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App