१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

देशमै पहिलो पटक नेपालगन्जमा ‘वेष्टर्न टुरिजम मार्ट’ गर्ने तयारी

वेष्टर्न टुरिजम मार्टबारे नेपालगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलन। तस्बिरः अर्जुन/नागरिक

‘वेष्टर्न टुरिजम मार्ट नेपाल–२०२१’ नेपालगन्जमा गरिने भएको छ। पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस(नाट्टा), हान लगायत विभिन्न पर्यटनसँग आवद्ध संघसंस्थाको संयोजनमा आगामी डिसेम्भर १४–१६(मंसिर २८ देखि पुष १ गते)सम्म गर्न लागिएको हो।

नेपालगन्जमा शनिबार पत्रकार सम्मेलन गरेर आयोजकले तयारीबारे जानकारी गराएको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुँदै आइरहेको टुरिजम/ट्राभल मार्ट नेपालमै पहिलो पटक नेपालगन्जमा हुन लागेको आयोजकले जनाएको छ। २०७२ को भूकम्पपछि पर्यटन क्षेत्रमा सुधार हुँदै आइरहेको अवस्थामा पुनः कोभिडले नकारात्मक प्रभाव पारेको र पर्यटनको संख्या शून्य भएकाले टुरिजम मार्ट घोषणा गरिएको आयोजकको भनाइ छ।

मुलुकमा कुल पर्यटन आगमनमा वृद्धि गर्ने, कोभिडपछिको पर्यटनको पुनर्उत्थानको लागि ठोस पहल कदम, पर्यटन क्षेत्रमा कार्यरत सम्पूर्ण निकायलाई परिचालन गर्ने, पर्यटनका गतिविधिलाई देशका विभिन्न स्थानसम्म पुर्‍याउने वेष्टर्न टुरिजम मार्टको उद्देश्य छ।

यस्तै पर्यटन व्यवसायीका लागि नयाँ पर्यटन व्यवसायको अवसर प्रदान गर्ने, लुकेर रहेका पर्यटकीय गन्तब्यको प्रवर्द्धन गर्ने, मार्टमार्फत नेपाल, भारत लगायत दक्षिण एशियाका पर्यटन व्यवसायीहरुसंग परिचय, व्यापार आदान–प्रदान गर्ने, पर्यटन मार्टले नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्ने पनि अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको तराईमा गर्ने गरी ७ वटा पर्यटन मार्ट गर्न बोर्डले निर्णय गरेकोमा त्यसमध्ये पहिलो मार्ट नेपालगन्जमा गर्न लागिएको जानकारी दिए।

‘यसको विशेष फोकस भनेको भारतका पर्यटक नै हुन्, नेपालको तराईमा जे–जति पनि पूर्वाधार बनाइएको छ, जे जति होटल खुलेका छन्, यो सबै कुनै राज्यले कुनै अनुदान दिएर खुलेका होइनन्,’ उनले भने, ‘सीमा पारीका पर्यटकको सम्भावनालाई देखेर नै पर्यटकीय पूर्वाधारको विकास भएको हो।’

नेपालको भविष्य बोर्डर ‘टुरिजम’ मै रहेको डा. रेग्मीले बताए। नेपाल र भारतका सबै नाकाबाट भारतीय पर्यटकलाई ल्याउन सकियो भने नेपाललाई पर्याप्त नै हुने उनको भनाइ छ।

नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईले ‘वेष्टर्न टुरिजम मार्ट’ सफल पार्न प्रचार–प्रसार महत्वपूर्ण पाटो भएको बताए। यसका लागि सबै प्रकारका सञ्चार माध्यमको विशेष भूमिका रहेको धारणा राखे। ‘यो नेपाल सरकार, पर्यटन मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकार र तपाई हामी सबै पर्यटन व्यवसायीको कार्यक्रम हो, वेष्टर्न टुरिजम मार्टलाई प्रचार–प्रसार जति सक्यो बढी प्रचार–प्रसार भएपछि मात्र यो कार्यक्रम सफल हुन्छ,’ गुरागाइले भने। टुरिजम मार्टले नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने उनको विश्वास छ।

नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जमा वेष्टर्न टुरिजम मार्टमार्फत देश–विदेशका पर्यटनकर्मी, विदेशका टुरिजम बोर्डलाई नेपाल ल्याएर नेपालगन्ज र नेपलागन्ज वरपर चिनाउन सकेमा यहाँको पर्यटन क्षेत्र मात्र नभई हरेक क्षेत्रलाई चलायमान गराउने बताए।

‘नेपालगन्जवासीको समर्थन  र सहयोग रह्यो भने नेपालकै उत्कृष्ट टुरिजम मार्ट बनाउने क्षमता हामी नेपालगन्जका पर्यटनकर्मी साथीहरुको छ,’ उनले भने। सो क्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेश सांसद कृष्णा केसी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणा लगायतले वेष्टर्न टुरिजम मार्ट सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित: ६ कार्तिक २०७८ १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App