६ वैशाख २०८१ बिहीबार
अर्थ

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापना भएको करिब ६ वर्षमा सफलतापूर्वक सम्पन्न गरेको छ। बाँकी कार्यको जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको छ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका अनुभव तथा सिकाइले विपद्बाट सुरक्षित नेपाल बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार तयार भएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र  पुन :स्थापनामा नेपालले प्राप्त गरेको यसै अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिए।

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ। सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुन :स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत गर्ने कार्यक्रम रहेको छ।

प्राधिकरणका कार्यकारी समिति सदस्य तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले सम्मेलनमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई निमन्त्रणा गरिसकिएको जानकारी दिए।

अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित बनाएको वेबसाइटसमेत शुक्रबारै सार्वजनिक गरिएको छ। प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन सचिवालयका सदस्य मनोहर घिमिरेले नयाँ बेवसाइटमा सम्मेलनसम्बन्धी भएका महत्वपूर्ण गतिविधि र जानकारी समावेश गरिएको बताए।

प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकहरूलाई अनलाइनमार्फत रजिस्ट्रेसन गर्न अनुरोध गरेको छ।

प्राधिकरण सचिव सुशीलचन्द्र तिवारीले २०७२ पुस १० गते स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाका महत्वपूर्ण काम सम्पन्न गरी सरकारको निर्णयअनुसार बाँकी कार्य सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको जानकारी दिए।

विनाशकारी भूकम्प गएको दुई महिनापछि २०७२ असार १० गते काठमाडौंमा नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा ४ खर्ब १० अर्ब रूपैयाँको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको थियो।

राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रूपैयाँ थियो। त्यसमध्ये ३ खर्ब १३ अर्ब रूपैयाँ बराबरको सम्झौता भएको छ, जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो।

प्रकाशित: ६ कार्तिक २०७८ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App